राजनीति र चलचित्र

- विश्वमणि सुवेदी -
-लेखक विश्वमणि सुवेदी

 

संविधानसभाको दोस्रो निर्वाचनको मिति नजिकिँदै जाँदा त्यसले मनोरञ्जन फाँटमा पैदा गर्नुपर्ने यथेष्ट तरंग हालसम्म पाइएको छैन । नागरिक जीवनका विविध आयाससँग जोडिएका पेशाकर्मी स्वभावैले जनतामाझ फरक छविका साथ स्थापित हुन्छन् । दलीय राजनीतिले आक्रान्त हाम्रोजस्तो मुलुकमा त्यस्ता पेशाकर्मी ‘सेलिब्रिटी’ का रुपमा स्थापित पनि छन् । तर, दुःखको कुरा छ कि, अहिलेको चुनावी सरगर्मीमा उनीहरुको क्रियाशीलता शून्यप्रायः छ । विशेषतः नेपाली चलचित्रका कलाकारको चुनावी उपस्थिति अन्य क्षेत्रको तुलनामा उति ‘दमदार’ देखिँदैन । राजनीतिक चेतनाको अभाव र कलाकार भएपछि राज्यका प्रति आफ्नो दात्यित्वबोधको अभावका कारण मात्र हैन, स्वदेशी बजारमा स्वदेशी उत्पादनका चलचित्रको अग्राधिकार स्थापित हुन नसक्नुको मारमा पनि नेपाली चलचित्र कलाकार परेका छन् ।

 

०४६ सालको परिवर्तनयताका प्रत्येक निर्वाचनमा कलाकारले उम्मेदवारका रुपमा उपस्थित हुने विषय ‘बिग न्युज’ का रुपमा आउने गरेको थियो । तर, यसपालिको निर्वाचनमा त्यस्तो भइरहेको छैन । राजनीतिसँग जोडिएर बजारमा चर्चामा आएकी नायिका रेखा थापामात्र हुन् । तर, उनी त्यस्तो भुङ्ग्रोमा हामफालेकी छन् कि जहाँ उनलाई नरुचाउने, उनीबारे नकारात्मक धारणा राख्ने र अन्ततः उनको भरमार चरित्रहत्या गरी छाडिदिने व्यक्तिको वर्चस्व छ । सत्य के हो भने, एमाओवादी उनलाई केही बनाउनका लागि नभएर उनलाई देखाउँदै अरुलाई आकर्षित गर्ने रणनीतिमा छ । संविधानसभाको निर्वाचनमा रेखाको नाम प्रत्यक्षतर्फको उम्मेदवारीमा देखिएन भने उनका दर्शकहरुले अचम्म नमाने हुन्छ । किनभने, त्यो पार्टीले एउटी रेखाको उम्मेदवारी दिँदा त्यहाँभित्रका अरु थुप्रै ‘अर्ग्यानिक रेखाहरू’ को विद्रोह सहनुपर्ने छ । यसकारण, त्यो सम्भावना क्षिण छ ।

 

एकीकृत माओवादी वा कुनै पनि कम्युनिष्ट पार्टी पहिला ‘मासबेस्ड’ (खुला जनआधारित) हुँदैन । ती पार्टी पहिला ‘क्याडरबेस्ड’ (कार्यकर्ता अधारित) र त्यसपछि मात्र ‘मास’ अर्थात्, जनसमूहमा पुग्छ । जनसमूहमा पुग्नका लागि एउटा कम्युनिष्ट पार्टीले वर्षौंदेखि कार्यकर्ता तिखारिरहेको हुन्छ । अनेकन दुःख, कष्ट भोगेर एउटा कोरा मान्छे कम्युनिष्ट बन्न सक्छ । त्यो दुःखभित्र उसले मार्क्सवाद, विश्व कम्युनिष्ट आन्दोलन, राजनीतिक रङ्गमञ्चका विविध आयाम, देशकाल, परिस्थितिहरुको अध्ययनसँगै ती अध्ययन र अनुभव बोक्दै जनतासँग काम गरेको अर्को अनुभवको मिश्रणपछि एउटा कोरा मान्छे बल्ल कम्युनिष्ट बन्नसक्छ । रेखा थापाहरुले त्यो योग्यता पाएका छैनन् । त्यस्ता योग्यताबाट खारिएका कार्यकर्ताको ठूलो पंक्ति भएको पार्टीभित्र रेखा थापाहरु केवल भद्रकालीमा नाच्नका लागि मात्र योग्य हुन्छन् । त्यो भन्दा बढी केही हुने छैन । उनलाई कसैले केही बनाउला भनेर कसैले सोचेको भए त्यस्ता चिन्तनलाई अहिल्यै गुह्येश्वरीमा बगाइदिए फरक पर्दैन ।

 

kalakarरेखा थापामात्र हैन, भुवन केसीहरुको हविगत पनि यस्तै हो । उनी अर्को कम्युनिष्ट पार्टी एमालेमा प्रवेश गरेका छन् । नेपालमा सबभन्दा योग्यतम् कार्यकर्ताले सज्जित कुनै पार्टी छ भने त्यो नेकपा एमाले मात्र हो । वर्षौंदेखि व्यक्तिगत जीवन त्यागेर पार्टीनिम्ति रगत–पसिना बगाउँदै आएको ठूलो कार्यकर्ता पंक्ति अहिले पनि एमालेसँग सुरक्षित छ । त्यसको नेतृत्वतहमा केही विवाद र अन्योलता भए पनि कार्यकर्ता अन्यौलतामुक्त छन्, विवाद र गुटमुक्त छन् । त्यस्तो पार्टीमा प्रवेश गरेर भुवन केसीले सभासद् र मन्त्रीको सपना यदि देखेका छन् भने त्यो पनि गुह्येश्वरीतिरै बगाइदिनु राम्रो हो । एक समय एमालेका लागि राम्रै काम गरेका र लामो समयदेखि कलाकारितामा लागेर ‘ग्याप’ भएका दिनेश डिसीका लागि चुनावको टिकट पाउनु मुस्किलको कुरा भइरहँदा नयाँ–नयाँ ‘लाहुरे’ हरुले टिकट ताक्नु बेकार छ । यदि राजनीतिक दलले कलाकारलाई साँच्चैको सम्मान र मर्यादा दिन्थे भने ०५६ सालमा चुनाव लड्नकै लागि फिल्मबाट सन्यास लिएका नायक शिव श्रेष्ठ यतिबेला कम्तिमा देशको मन्त्रीसम्म भएका हुन्थे । तर, टिकट नपाएपछि एक महिनामै सन्यासबाट उनी फिर्ता भए । राजनीति गरेर ‘समय खेर फाल्नु’ भन्दा कान्छी ल्याएर हाँसिखुशीको जीवन उनलाई प्यारो लाग्यो । त्यसयता शिव श्रेष्ठले राजनीतिलाई फर्किएर हेरेका छैनन् । प्रचण्डबाट रेखा थापाले धोका पाउनुअघि यो कुरा जानिराख्नु राम्रो हुन्छ कि, गणेशमान सिंहको भर पर्दा शिव श्रेष्ठले २० वर्षपहिल्यै धोका खाइसकेका छन् । यो कुरामा कुनै विवाद छैन कि, नेपाली जनता नियमित राजनीतिक अनुहारदेखि दिक्क छन् । उनीहरु राजनीतिमा नयाँ अनुहार, नयाँ पुस्ता र नयाँ शैली चाहन्छन् ।

 

गैरराजनीतिक क्षेत्रमा क्रियाशील कतिपय व्यक्ति, जसले जनतामाझ लोकप्रियता हासिल गरेका छन्, उनीहरुको उपस्थिति अहिले जनताका लागि स्वीकार्य हुनसक्ने सम्भावना विद्यमान छन् । यद्यपि, नेपाली चलचित्र क्षेत्रका हस्तीहरु त्यो हैसियत निर्माण गर्न समर्थ छैनन् । यसको कारण हो, उनीहरु कुनै राजनीतिक दलका लागि पत्यारयोग्य नहुनु । जस्तो कि, उद्धव पौडेल पञ्चायतकालमा विराटनगरका उपप्रधानपञ्च हुनुका नाताले ०४६ को परिवर्तनपछि पूर्वपञ्च वर्चस्वको पार्टी राप्रपामा क्रियाशील भए । तर, राप्रपा जनतामाझ राम्रोसँग स्थापित हुन सकेन । यसपछि उनले एमाले रोजे । ‘जीवन र जवानी माया मारेर एमाले भएकाहरुले केही नपाउने, हिजोअस्ती अर्को पार्टीबाट आएकोले टिकट पाउने ?’, एमाले कार्यकर्तामाझ यो स्वाभाविक प्रश्न हुन पुग्यो । त्यस्तोमा कार्यकर्ता निराश हुन्छन् । पार्टी जनतासम्म पुग्न सक्दैन । यही भनेर उद्धव टिकट र अवरबाट बञ्चित भए । अहिले भुवन केसीहरु त्यही स्थितिमा पुग्दैछन् । छिमेकी भारतमा जस्तो स्वदेशी बजारमा स्वदेशी उत्पादनका चलचित्रको अधिपत्य नेपालमा स्थापित छैन । जब आफ्नो बजारमा छिमेकीको अधिपत्य स्थापित हुन्छ, तब त्यसको परिणाम हो कि, त्यो बजारले घरेलु प्रतिभाको खोजी गर्दैन । भारतमा त्यहाँका चलचित्र कलाकारले यस्ता निर्वाचनमा भाग लिने हो भने उनीहरु जबर्जस्त विजयश्री पहिरिन्छन् । उनीहरुलाई टिकट दिनका लागि राजनीतिक दलको लाइन लाग्छ । नेपालमा औंलामा गन्न सकिने एकाध कलाकार त्यस्ता छन्, जो लोकप्रियताको चुलीमा छन् । तर, ती कलाकार चुनाव रुचाउँदैनन् । जो चुनाव लड्न चाहन्छन्, उनीहरु पार्टी र जनताका लागि पत्यारयोग्य नहुने, जो जनतामाझ पत्यार योग्य छन्, उनीहरु राजनीतिबाट निरपेक्ष हुन खोज्ने । यो नेपाली कलाकारिता फाँटको ठूलो समस्या बनेको छ ।

 

(लेखक प्रेस चौतारी नेपालका केन्द्रिय कोषाध्यक्ष  हुनुहुन्छ)

[email protected]

तपाइँको प्रतिक्रिया ।