परिवर्तनको यात्रामा नयाँ कदम : नविन काँग्रेस, जनताको आशा र भरोसा ( ई. बिजेन्द्र श्रेष्ठ)
कपन अनलाइन
काठमाण्डौ ,माघ ४।
नेपालको समकालीन राजनीतिक इतिहासमा केही क्षणहरू यस्ता हुन्छन्, जहाँ एउटा निर्णयले केवल नेतृत्व परिवर्तन मात्र होइन, राजनीतिक संस्कार, कार्यशैली र भविष्यको दिशालाई समेत पुनःपरिभाषित गर्दछ। विशेष महाधिवेशनमार्फत निर्विरोध निर्वाचित नेतृत्वलाई निर्वाचन आयोगबाट आधिकारिकता प्राप्त हुनु केवल संगठनात्मक प्रक्रिया मात्र होइन, यो नेपाली कांग्रेसभित्र दीर्घकालीन परिवर्तनको औपचारिक प्रारम्भ हो।
पछिल्ला केही दिनयता नेपाली काँग्रेस विभाजित भयो भन्ने भ्रम फैलाउने प्रयास भएको देखिन्छ। तर यथार्थ स्पष्ट छ : कांग्रेस पार्टी कहिल्यै फुटेको थिएन। नेपाली काँग्रेसमा केवल नेतृत्व परिवर्तन भएको हो। विशेष महाधिवेशन पार्टी विधानअनुसार, संस्थागत प्रक्रियाबाट सम्पन्न भएको थियो। निर्वाचन आयोगबाट प्राप्त आधिकारिकताले यो तथ्यलाई अझ सुदृढ बनाएको छ। यसले नेपाली कांग्रेसको इतिहासमा एउटा महत्वपूर्ण नजीर स्थापित गरेको छ। आन्तरिक असहमति समाधान गर्न सडक होइन, संवाद र विधानको बाटो रोज्नुपर्छ।
विशेष महाधिवेशनबाट गगन थापा निर्विरोध निर्वाचित हुनु आफैंमा गहिरो राजनीतिक संकेत हो। यो केवल एउटा पुस्ता परिवर्तनको प्रश्न होइन, यो राजनीतिक संस्कार परिवर्तनको संकेत हो। अब टिकट वितरणको व्यापार बन्द हुनेछ। निष्ठा भन्दा गुट हाबी हुने अभ्यास अन्त्य हुनेछ। क्षमता, प्रतिबद्धता र जनसमर्थनको आधारमा अवसर तय हुनेछ।
गगन थापालाई प्रधानमन्त्री घोषणा गरेर चुनावमा जाने कुराले युवाहरुमा आशा पलाएको छ।नेपाली कांग्रेसको सबल भविष्य युवासँग जोडिएको छ। लामो समयदेखि पार्टी संरचनामा अवसरको पर्खाइमा रहेका हजारौं युवाहरू आज आशावादी देखिएका छन्।आज कांग्रेसका युवाहरूले आवाज सुन्ने नेतृत्व पाएको महसुस गरिरहेका छन्।
गगन थापा सभापति भए संगै लामो समयदेखि उँहाले उठाउँदै आएका शिक्षा, स्वास्थ्य, रोजगारी र सुशासनका मुद्दा नीतिगत निर्णयमा रूपान्तरण हुने विश्वास गरिएको छ।युवासँग संवाद गर्ने, उनीहरूको भाषा बुझ्ने र सामाजिक सञ्जालदेखि सार्वजनिक मञ्चसम्म सक्रिय रहने स्वभावका कारण राजनीतिमा खासै चासो नराख्ने युवाहरु पनि उहाँकै कारण काँग्रेसमा जोडिने क्रम सुरु भएको छ। अधिकार सहितको नेतृत्व, स्पष्ट दृष्टिकोण र जवाफदेही कार्यशैलीका कारण गगन थापाको नेतृत्वले युवाहरुमा नयाँ आशा, भरोसा र सहभागिताको भावना पलाएको देखिन्छ।
सहमति बिना सहकार्य सम्भव छैन, सहकार्य बिना एकता सम्भव छैन र एकता बिना निर्वाचन जित सम्भव छैन। मत बिभाजन रोक्न र काँग्रेस पहिलो पार्टी बन्न पनि सहमति, सहकार्य र एकता अति आवश्यक छ। विभाजित काँग्रेसले चुनाव जित्न सक्दैन। एकता भए मात्रै कार्यकर्ता उत्साहित हुन्छन् र मतदातामा सकारात्मक सन्देश जान्छ।
हिजोको योगदानलाई सम्मान गर्दै आजको सुधार र भोलिको तयारीको लागी गगन थापाले व्यक्तिगत असहमति भुलेर सबैलाई घर फर्किन आह्वान गरिसकेका छन्। अग्रज नेताहरूको अनुभव, त्याग र संघर्ष कांग्रेसको अमूल्य पूँजी हो भन्दै इतिहासलाई सम्मान गर्दै भविष्य निर्माण गर्न आफू तयार रहेको बताएका छन्।
लामो समयदेखि काँग्रेस गुट–उपगुटको शिकार बन्दै आईरहेको थियो। जसका कारण पार्टीको निर्णय गर्ने क्षमता कमजोर हुदै आईरहेको थियो। बिशेष महाधिवेशन पछि काँग्रेसमा गुट-उपगुटको अन्त्य भएको छ। नेतृत्व परिवर्तन संगै काँग्रेसमा रुपान्तरण र पुस्तान्तरणको नाराले पनि सार्थकता पाएको छ। चारतारे झण्डा र शितल रुखको छाँयामा सहमति, सहकार्य र एकताको बाटो समाउदै नविन काँग्रेस अब जनताको आशा भरोसाका केन्द्र बन्नेछ। अब काँग्रेसले जनताको आवाज सुन्ने छ, बिगतबाट सिक्ने छ र पक्कै सुध्रिने छ।
अन्त्यमा,
यो कुनै व्यक्तिको जीत होइन, यो विधि र विधानको जीत हो। सत्य र लोकतन्त्रिक अभ्यासको जीत हो। परिवर्तनको यात्रामा नयाँ कदम चलिसकेको छ। अब प्रश्न “कसले जित्यो?” होइन, प्रश्न हो “हामी सबै मिलेर कसरी कांग्रेसलाई जिताउने?”
