अबका दिन, संसदमा सचिन ……
काठमाडौं क्षेत्र नम्बर ४ लाई राजनीतिको आधारभूमि बनाउँदै आएका नेपाली कांग्रेसका तत्कालीन महामन्त्री गगनकुमार थापा पार्टीभित्रको ‘वैधानिक विद्रोह’मार्फत कांग्रेस सभापति बनेलगत्तै मधेस झर्न पुगे । सभापति थापाको मधेस यात्रा अर्थात् सर्लाही–४ को उम्मेदवारीको विषयलाई लिएर हुने टिप्पणी उत्कर्षमा छन् । सँगै, सभापति थापाले काठमाडौं–४ मा आफ्नो उत्तराधिकारीको रूपमा लगभग जेनजी पुस्ताका, काठमाडौंका रैथाने बनिसकेका युवा प्रतिनिधि पात्र सचिन तिमल्सेनालाई आफ्नो प्रतिनिधिका रूपमा उभ्याउँदै गर्दा भने ‘गगन’ सर्लाही झरेझैं तरंग देखा परेको छ । आम मतदाता अर्थात् काठमाडौं–४ सँगै जोडिएका ३ र ५ मा समेत ‘सचिन’ यतिबेला चर्चाको केन्द्रभागमा छन् ।
दलीय राजनीतिमा व्यक्तिले खेल्ने भूमिकामा व्यक्ति गौण हुन्छ । त्यसमाथि ‘गगन’ स्वयंले छनोट गरेका आफ्नो उत्तराधिकारी भएकैले, साथै ‘गगन’कै राजनीति र बसोबासको थातथलो काठमाडौं–४ नै भएकैले काठमाडौं–४ लगायत देशैभर कांग्रेसले जित्दा र कांग्रेस पार्टी पहिलो हुँदा नै स्वयं ‘गगन’ पनि प्रधानमन्त्री–त्यो पनि यसैपटक–बन्न सम्भव हुने हो । असी वर्षिय इतिहास बोकेको कांग्रेस पार्टीको प्रतिनिधिका रूपमा तेत्तीस वर्षिय ‘सचिन’ काठमाडौं–४ को चुनावी मैदानमा ओर्लँदै गर्दा कपनको ‘भोजपुर कफी सप’देखि बुढानिलकण्ठको ‘कफी क्लब’सम्म आसन्न निर्वाचनबारे गरिने जोडदार समीक्षालाई सकारात्मक रूपमा लिनुपर्ने हुन्छ ।
निर्वाचन प्रचारले उचाइ लिइनसकेकै समयमा देशैभरका बारे समीक्षा सहित निष्कर्ष निकालिनु अलि हतारो हुनेछ । तर, कांग्रेस सभापति गगनकुमार थापाले मधेसमार्फत सिंगो देशको प्रतिनिधित्व गर्दै भावी प्रधानमन्त्रीको रूपमा कांग्रेस पार्टीले ‘गगन’लाई अगाडि सारेपछि काठमाडौं–४ आफूलाई अनुकूल ठानेर निर्वाचन कार्यालयमा ‘दिन ढल्किसकेपछि’ उम्मेदवारी दिन पुगेका कांग्रेस इतरका उम्मेदवारबारे अहिले नै टिप्पणी गरिनहालौँ । किनकि, कांग्रेस इतर तर हिजोको संसदमा धेरथोर उपस्थिति जनाउने दलका नेता काठमाडौं–४ मा प्रत्याशी हुन हच्किएकै हुन् । जब ‘गगन’लाई मधेसले रोजेर सिंगो मधेसले ‘देशकै नेता’ बनाउन सर्लाही पु¥यायो, तब चपली घुम्तीमा कांग्रेस इतरका केही नेता आफ्नो राजनीतिक भविष्य खोज्दै देखा परे ! र, उम्मेदवारी दर्ता पनि गराए !
नेता ‘सचिन’ एक्ला छैनन् । उनी भावी प्रधानमन्त्री गगन थापाका प्रतिनिधि हुन् । अर्काेतिर, कांग्रेस सभापति ‘गगन’लाई दुःखका समयमा पनि ‘गगन’ बनाउने मतदातालाई न त ‘गगन’ले छाड्न सक्छन्, न त मतदाताले नै । कांग्रेसका जेनजी पुस्ताका नेता ‘सचिन’को उम्मेदवारी दर्ता हुँदै गर्दा क्षेत्र नम्बर–४ कै वडादेखि जिल्ला तहसम्मका स्थापित कांग्रेस नेता निर्वाचन कार्यालयमा देखिएनन् भन्ने एउटा मलिन स्वरमा कांग्रेसभित्र अन्तरविरोध ल्याउन सकिन्छ कि भन्ने टिप्पणी पनि यदाकदा सुनिने गरेको छ । दुःखको समय बढो जतन गरेर हुर्काइ–बढाइ गरेकी ‘छोरी’ अन्माएर अन्यत्र जाऊ भन्दा कुन आफन्तको मन भारी नहोला र ? तर, कुरा स्पष्ट छ–भावी प्रधानमन्त्री ‘गगन’ले न त काठमाडौं–४, त्यो पनि विषम कालखण्डमा आफूलाई साथ दिएका नेता, कार्यकर्ता तथा आम मतदातालाई छाड्न सक्छन्, न त मतदाताले नै । आम मतदाताको रोजाइमा पनि ‘गगन’ र उनले आफ्नो प्रतिनिधि पात्रका रूपमा अगाडि सारेका ‘सचिन’ पर्ने निश्चित नै छ ।
आफ्नो निर्वाचन क्षेत्रमा रहेर राष्ट्रिय राजनीतिमा फड्को मार्न पुगेका कांग्रेस सभापति ‘गगन’लाई नै आफ्नो निर्वाचन क्षेत्रमा राखिराख्ने चाहना काठमाडौं–४ का मतदातासँगै नेता–कार्यकर्तामा हुनु अस्वाभाविक मान्न मिल्दैन । तर, सिंगै भूगोलबाट राजनीतिमा स्थापित बनि नहाल्दा ‘देश जोड्न’ मुस्किल हुने भएकैले ‘गगन’लाई सर्लाहीले ‘रातो कार्पेट’ बिछ्याउँदै गरेको विषय काठमाडौं–४ को प्रबुद्ध वर्गले नबुझ्ने कुरै भएन । प्रबुद्ध वर्ग यतिबेला ‘देश’ सुझबुझपूर्ण निर्णय लिन सक्ने नेतृत्वले चलाओस्, साथै उक्त नेतृत्वलाई देश चलाउन बहुमत समेत चाहिने भएकाले परिवर्तनकारी, जुझारु देशैभरका युवा—काठमाडौं–४ का सचिन लगायत—‘डेमोक्रेटिक’ कांग्रेसजस्तो दलका तमाम प्रतिनिधिको संसदमा प्रतिनिधित्व होस् भन्ने नै चाहन्छन् ।
कांग्रेस नेता गगन थापालाई निरन्तर संसदमा प्रतिनिधित्व गराउने मात्र नभई कांग्रेस सभापतिहरू बीपी कोइराला, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला लगायत व्यक्तित्व बस्नुभएको ‘कांग्रेस सभापतिको आसन’सम्म पु¥याउन योगदान दिने काठमाडौं–४ ले आफूले छनोट गरेको प्रतिनिधि ‘स्टन्ट’ गर्ने वा गगन थापाको अनुपस्थितिमा मात्र निर्वाचनको मैदानमा उत्रन तयार हुनेलाई छनोट गर्नै सक्दैन । ‘डेमोक्रेसी’मा विश्वास राख्ने काठमाडौं–४ का प्रबुद्ध वर्ग स्वयं ‘गगन’सँग पनि रिसाएका छन् भन्ने भाष्य निर्माण गर्ने प्रयत्न भएको पाइन्छ । उक्त भाष्य सरासर मिथ्या हो । किन पनि मिथ्या हो भने—हिजो अर्थात् २०१५ सालमा कांग्रेसका संस्थापक नेता सुवर्ण शम्शेर राणापनि सिंगो देश जोड्दै देशकै नेता हुन बारा–५१ र ५२ तथा गुल्मी–९१ मा पुगेका थिए । सुवर्णलाई तिनवटै निर्वाचन क्षेत्रका मतदाताले अत्यधिक मत दिएर पठाए ।
‘सचिन’लाई जेनजी पुस्ताकै भएकैले कसैले पनि सामान्य आँकलन गर्न सक्दैनन्, किनकि उनी ऐतिहासिक विरासत बोकेको नेपाली कांग्रेस पार्टीका प्रतिनिधि पनि हुन् । साथै, अध्ययन र काठमाडौं–४ लगायतको विकासको खाकाका हिसाबले उनी अब्बल पात्र पनि हुन्, जसले ‘गगन’को टिममा बसेर काठमाडौं–४ लगायतको मुहारमा विकासका हिसाबले परिवर्तन ल्याउन सक्छन् ।
आज कांग्रेस सभापति ‘गगन’ मधेस जाँदै गर्दा काठमाडौं–४ मा निर्वाचनको मैदानमा ओर्लिएका ‘सचिन’ लगायत देशैभरका १६५ निर्वाचन क्षेत्रका सम्पूर्ण उम्मेदवार नै ‘कांग्रेसका गगन’ हुन् । एक्ला ‘गगन’ले मात्र देश र कांग्रेस बनाउने होइनन् । उनी अर्थात् ‘गगन’ देश जोड्ने विषयलाई प्रधान ठानेर मधेस झर्दै गर्दा उनकै उत्तराधिकारी ‘सचिन’ हार्दै गर्दा ‘गगन’को यात्रामा ठेस लाग्ने निश्चित छ । तसर्थ, पालो अब पुनः काठमाडौंको हो । मधेस लगायत सिंगो देशले ‘गगन’ लगायत कांग्रेसका तमाम प्रतिनिधिलाई विजय गराउँदै संसद पठाउँदा काठमाडौंले कांग्रेस अर्थात् काठमाडौंका ‘गगन’हरूलाई विपक्षीको तुलनामा फराकिलो मतले विजय गराएर संसदमा पठाउन सकेन भने ‘विकास र राजनीति’मा हिस्सेदारी प्राप्त गर्ने नैतिक बल घट्न पुग्दछ । काठमाडौंका प्रबुद्ध नेता, कार्यकर्ता तथा मतदातामा यो विषयको हेक्का नहुने कुरै भएन ।
काठमाडौं–४ लाई केन्द्रभागमा राखेर हेर्दा ‘गगन’ मात्र नभई ‘गगन’का प्रतिनिधि ‘सचिन’सम्मलाई काठमाडौं–४ मा सचिनले प्रतिनिधित्व गर्ने नेपाली कांग्रेसका नेता–कार्यकर्ताले मात्र नभई हिजो ‘गगन’लाई झैं तमाम मतदाताको रोजाइमा ‘सचिन’ नपर्ने कुरामा कुनै दुविधा नै रहेन । अझ हिजो लामो समय शासनमा रहेर देशलाई राजनीतिक स्थिरता र सुशासन नदिने तथा समृद्धिको मार्गमा देशलाई लैजान नसक्नेहरूको विरुद्ध गरिएको ‘जेनजी विद्रोह’का ती तमाम परिवर्तनकारी जेनजी लगायत सम्पूर्ण पुस्ताको रोजाइमा पनि ‘सचिन’ नै पर्ने कुरामा दुविधा छैन ।
तसर्थ, एकदिन अर्थात् मतदानको दिन झुक्किएर पाँच वर्ष पछुताउने छुट काठमाडौं–४ लगायत देशैभरका मतदातामा नभएकाले देशैभरका ‘सचिन’हरूकै हो अबको संसद । जहाँ बसेर देशको मूल कानुन निर्माणसँगै देश नै बदल्ने विषयमा विहंगम बहस हुनेछ । र, सचिनहरूले आज कांग्रेस बदलेजस्तै भोलि देशकै मुहार बदल्ने विषयमा घनिभूत बहस गर्नेछन् ।
