सहरोन्मुख कपनको अँधेरो गाउँ वडा नं. ९ पैँयाटार

(कपन अनलाइनले कपनको वडा वडा तथा बस्ति बस्तिमा पुगेर त्यहाँ विकास निर्माण तथा समस्याको बारेमा अन्तर्क्रिया गर्न सुरु गरेको छ । यसको सुरुवात कपनको सर्वाधिक प्राकृतिक तर सबैभन्दा पिछडिएको वडाको रूपमा रहेको वडा न‌ं. ९ बाट भएको छ ।-सम्पादक)

-केशव पाठक, बद्रि भट्टराईफोटोः सागर बैजु, राजुबिक्रम थापा

कपन गाविसका कतिपय क्षेत्र अत्यन्तै विकासको चुलीमा रहेको छन् भने कतिपय एकदमै अविकसित अवस्थामा रहेको छ । गएको हप्ता कपन अनलाइनले कपन र जोरपाटीको सिमानामा रहेको वडा नं. ९ को एउटा बाटोको समाचार प्रकाशित गरेको थियो । लास लैजानसमेत गारो भयो भन्ने समाचार निर्माणको क्रममा त्यहाँका केही अगुवा सामाजिक कार्यकर्तासँगको भेटघाट भएको थियो । राजेन्द्र बुढाथोकी, श्यामसुन्दर भण्डारी र सुदर्शन केसीसँगको भेटको आधारमा त्यो समाचार प्रकाशित गर्यौं हामीले । बुढाथोकी, भण्डारी र के.सी.ले त्यो समाचार प्रकाशित भएपछि वडा नं. ९ का जनतासँगै कपन अनलाइनलाई भेट गराउने जमर्को गरे ।

 

DSC_0820कपन भन्नाले पूर्णतः सहर बनिसकेकोे गाविसभन्ने आम धारणा यदि हाम्रो हो भने त्यो कतिपय अवस्थाले हामीलाई झुठो बनाउँछ । कपन गाविसको वडा नं. ९ गएर त्यहाँको सबै बस्तुस्थिति अध्ययन गर्ने हो भने ओहो कपनमा यस्तो ठाउँ पनि छ र भन्ने लाग्न सक्छ हामीलाई । बत्ति मुनीको अँध्यारो भनेजस्तो कपन गाविसकै एउटा वडा यति सबै सुविधाबाट बञ्चित रहेको छ भनेर हामी आश्चर्यमा पर्न सक्छौं ।

 

DSC_0799कपन गाविसको वडा नं. ९ भन्नाले पैंयुटारअन्र्तगतको जोरपाटी तथा गोकर्ण गाविस सिमानसँग जोडिएको क्षेत्र हो । यो वडाले जोरपाटी गाविसको अलावा कपन गाविसकै वडा नं. ७ जगडोल र ८ पैयँुटारलाई सिमाना बनाएको छ । करिब ११० घरधुरी बसोबास रहेको यो वडामा करिब ५०० कूल जनसंख्या रहेको छ । त्यसैगरी यहाँ ३६५ जना मतदाता रहेका छन् । यस वडामा बसोबास गर्ने करिब ९० प्रतिशत मानिसहरु कृषिमा आधारित छन् । परम्परागत धान, मकै, गहुँ, तोरीलगायत बालीमा यहाँका मानिसहरु खेती कर्म गरिरहेका छन् ।

अचम्म लाग्छ सबैलाई यो आंकडा हेर्दा र सुन्दाः
१. यहाँ बसोबास गर्ने करिब ९० प्रतिशत बासिन्दा सबै नै खेतीपाती गर्छन् ।
२. यो वडामा कपाल काट्ने हजामको पसल छैन ।
३. यो वडामा सरकारी मात्र हैन निजी विद्यालय पनि छैन ।
४. यो वडाको बाटो भएर कुनै पनि सार्वजनिक सवारी साधनहरु चल्ने गर्दैन ।
५. यो वडामा कुनै पनि किसिमको ढलको व्यवस्था भएको छैन ।
६. यो वडामा स्वास्थ्यसम्बन्धि औषधी पसलसमेत छैन ।
७. करिब १२ वटा घर(बसाइसराई गरेर आएका) बाहेक सबै पूराना बासिन्दाहरु छन् यो वडामा ।

 
DSC_0828कपनमा रहेको एकमात्र सन्तोषी माता मन्दिरको सानो सत्तलमा गुन्द्रि ओछ्याएर एकिकृत भएका करिब ५० जना सहभागिहरु हामीलाई(कपन अनलाइनलाई) कुरिरहेका थिए । हामी भने भनिएको समयभन्दा आधाघण्टा ढिलो भयौं । हामी ढिलो हुँदा उपस्थितहरु हामी नआउने हो कि भनेर पिरोलिएका रहेछन् । एउटै गाविस भए पनि काखा पाखा गरिनाले वडा नं. ९ विकासको क्षेत्रमा कमजोर हुन गएको भावना पोख्न ५० जना सहभागि हामीलाई कुरिरहेका देख्दा हामी पनि अचम्मित भयौं । करिब ५० को सहभागितामा पनि आाधाआधि त महिलाहरु नै थिए । हामी पुग्ने वित्तिकै सहभागि भन्दै कसैले भन्दै थिए, यसरी एकैपल्ट यतिधेरै मानिस सहभागि भएको वडा नं. ९ मै यो पहिलोपटक नै हो रे ।

 

DSC_0820चुलोचौको तथा गाइबस्तु हेरेर गृहणी कर्ममा नै व्यस्त रहने कपन ९ का महिलाहरु कपन अनलाइनसँग समस्याहरु साँट्न बसेका थिए त्यहाँ । हामी पुग्ने वित्तिकै उनीहरुले नामसहित परिचय गरे हामीसँग । कृष्णहरि खड्का, रुद्र भण्डारी, राजाराम बुढाथोकी(सामाजिक कार्यकर्ता), महेश बुढाथोकी, लक्ष्मण खड्का, इन्द्रबहादुर खड्का, मुना खड्का, मुना गौतम, सुदिप बुढाथोकी, निरन्जन भण्डारी, श्यामसुन्दर भण्डारी(नेपाल शिक्षक संघ,क्षेत्रीय सदस्य), सुदर्शन के.सी.( वडा नागरिक मंच संयोजक), सन्तोष भण्डारी(नेका इकाई सचिव), महेश के.सी., राजेन्द्र बुढाथोकी(नेपाल शिक्षक संघ ४ नं. क्षेत्रीय अध्यक्ष), किरण खड्का, मथुरा खड्का, राधिका खड्का, ध्रुव खड्का, संगीता बुढाथोकी, लक्ष्मी खड्का, अम्बिका खड्का, सीता बुढाथोकी, यमुना खड्का, रामलिला बुढाथोकी, बबिता थापा, देवेन्द्रप्रसाद गौतम, श्रीराम खड्का, श्यामबहदुर थापा, कमला के.सी., मन्जु बुढाथोकी, पार्वती के.सी., इच्छाराम खड्का, प्रकाश खड्का, दीपक के.सी., धनराम खड्का, जयराम भण्डारी, किरण बुढाथोकी, धर्मराज खडका, चित्रद्वज खड्कालगायतका व्यक्तिहरुले पालैपालो आफ्नो वडाका बारेमा बोलिरहँदा विकासप्रति जनताको सचेतता हामीले अनुभव गर्यौं ।

 

DSC_0812यी सहभागि वडा नं. ९ का बासिन्दाहरुले करिब १ घण्टा हामीसँग् साक्षात्कार गरे । उनीहरुले विकास निर्माणका विषयमा गाविस वा राजनीतिक दलहरुले गर्नु पर्ने पहलका बारेमा केही महत्वपूर्ण विषयहरु उठान गरेका छन् । उनीहरुकै भनाइमा आधारित केही बुँदाहरु हामीले यहाँ उल्लेख गरेका छौं ।

 

 

१. यो वडामा बाटो सबैभन्दा समस्याको विषय हो । मान्छे बिरामी भयो भने यहाँका मानिसको पहिलो छनौट आत्तरखेलको नेपाल मेडिकल कलेज हो । जोरपाटी तथा गोकर्ण जाने मूलबाटो यो वर्षको वर्षाले तहसनहस बनाएपछि यहाँका बासिन्दा चिन्तित छन् । यो वडामा ग्राभेलिङ गर्नु पर्ने शाखा बाटाहरु धेरै छन् । यहाँको मूलबाटोसमेत पनि राम्ररी ग्राभेलिङ छैन ।

 

२. यातायातको सुविधा नहुनुले पनि यहाँका बासिन्दा पछाडि परिएको अनुभव गर्छन् । यो वडा भएर कुनै पनि सवारी साधन नगुड्ने भएकाले यहाँबाट माइक्रो बस चलोस् भन्ने उनीहरुको चाहना रहेको छ ।

 

३. खानेपानी पनि यहाँको समस्याको विषय हो । खानेपानीका एक दुईवटा पुराना मुहान यो वडामा रहेको छ । ती मुहानलाई समुचित मर्मत संभार गरी पानीको व्यवस्थापन गर्नु पर्ने आवश्यक्ता उनीहरुले औंल्याए । अन्य पानीका श्रोतहरु पनि पहिचान गरेर व्यवस्थित गर्नु पर्ने यहाँका बासिन्दाहरुको माग रहेको छ ।

 

४. वडामा बिजुली त सबै ठाउँमा पुगेको छ तर दुई फेजको लाइन भएकोले बेलुका टिभीसम्म चल्दैन । यहाँको बिजुलीको लाइनलाई तत्काल तीन फेजको बनाउन आवश्यक भएको उनीहरु बताउँछन् ।

 

५. ढलको व्यवस्थाको अभाव हुनाले परिवर्तित समयमा यो वडा फोहर बन्ने खतरा बढेको छ । यस वडामा कतै पनि ढलको व्यवस्था छैन ।

 

६. कपन गाविसको वडा नं. ९ कृषियोग्य भूमि भएको वडा भएकोले यस वडामा गाविसस्तरीय वा अन्य सरकारी क्षेत्र स्तरीय कृषिका कार्यक्रम जरुरी छ । यो वडालाई कृषिको नमूना वडा बनाउन सकिने उनीहरुले बताए ।
७. महिलाहरुलाई पूर्णतः गृहणीको रुपमा दैनिकी बिताइरहेको अवस्थामा महिला उन्नतीका आधार तय गरी उनीहरुलाई स्वरोजगार वा व्यवसाय उन्मुख कार्यक्रम ल्याउन आवश्यक रहेको छ ।

 

DSC_0817किन पछाडि पर्यो यो वडा ?
थोरै जनसंख्या भएको यो वडालाई नेपाली कांग्रेसको गढ भन्ने गर्छन् कांग्रेस समर्थकहरु । कपनमा नेपाली कांग्रेसबाट राजनीति गर्र्ने राजाराम बुढाथोकी यो गाविसबाट करिब ९० प्रतिशत भोट नेपाली कांग्रेसलाई खस्ने गरेको बताउँछन् । बुढाथोकीले कपन कांग्रेसको सभापति हुँदा आफूले यस गाविसमा ग्राभेलिङ गर्नेजस्ता केही महत्वपूर्ण शीर्षकमा बजेट ल्याएको बताए । अहिले गाविसमा ठूलो बजेट भएको अवस्थामा चाहिँ बजेट खासै आउन नसकेको उनको पनि गुनासो छ ।
कपन अनलाइन समूह वडामा पुगेर कुराकानी गर्दा पनि उपस्थित प्रायः सबैले नेपाली कांग्रेस भएको उल्लेख गर्न छुटाएनन् । सरकारले स्थानीय निकायमा सहजिकरणका लागि गठन गरेको वडा नागरिक मञ्चमा पनि सबैजना नेपाली कांग्रेस समर्थक नै रहेको नागरिक वडा मञ्चका संयोजक सुदर्शन के.सी.ले बताए ।
नेपाली कांग्रेसको गढ त भयो तर गाविसबाट बजेट ल्याउन कपन इकाइले खासै मेहनत नगरेको गुनासो गरे उपस्थितहरुले । अरु पार्टीका मानिसहरु कम हुनुले पनि यो वडामा बजेट ल्याउन नसकिने कारण बन्न पुगेको बताउँछन् स्थानीय शिक्षक श्यामसुन्दर भण्डारी । अरु पार्टीले आफ्ना मानिस छैनन् भनेर पनि यो वडालाई हेपेको जनाउनेहरुको संख्या पनि धेरै थियो ।

 

यस वडामा रहेको दुईवटा महिला समूह सन्तोषीमाता महिला समूह र चुनदेवी महिला समूह क्रियाशिल छन् । कपन अनलाइनसँग कुरा गर्दै यी महिला समूहका प्रतिनिधिहरुले महिला स्वरोजगार, लैंगिक विभेदताजस्ता विषयमा यो वडा पिछडिएको हुनाले महिला सचेतनाको कार्यक्रम ल्याउन पर्ने विषयमा जोड दिए ।

तपाइँको प्रतिक्रिया ।