किन गगनले काठमाडौं-४ मा सचिनलाई बनाए उम्मेदवार ?
कपन अनलाइन
काठमाण्डौ,माघ १० /ई. बिजेन्द्र श्रेष्ठ
फागुन २१, २०८२ को प्रतिनिधि सभा निर्वाचन को लागि देशभर करिब ३४८६ उम्मेदवारहरुले प्रत्यक्षतर्फ मनोनयन दर्ता गराएका छन्। उम्मेदवारहरू चुनावी गतिविधिमा लागि सकेका छन। निर्वाचन केवल हारजीतको विषय मात्र होइन यसले पार्टीको भविष्य, नेतृत्वको दृष्टिकोण र राष्ट्रिय राजनीतिमा दिन खोजिएको सन्देशलाई समेत स्पष्ट गर्छ। काँग्रेसले १६५ उम्मेदवारमा १२७ जना नयाँ लाई टिकट दिएर लामो समय देखि उठाउँदै आएको रुपान्तरण र पुस्तान्तरणको नारा व्यवहारमा उतारेको सन्देश दिएको छ। गगन थापाले आफूले लामो समयसम्म जित्दै आएको काठमाडौं क्षेत्र नं. ४ छोडेर सर्लाही क्षेत्र नं. ४ मा गएको कारणले मात्र हैन सचिन तिमल्सिनालाई उम्मेदवार बनाएको कारण पनि काठमाडौं क्षेत्र नं. ४ लाई अहिले सबैले चासोका साथ नियालिरहेका छन्।
को हुन सचिन तिमल्सिना?
सचिन तिमल्सिनाको राजनीतिक यात्रा पारिवारिक पृष्ठभूमिबाट सुरु भए पनि उनी त्यसैमा सीमित छैनन्। उनका बुबा सुरेन्द्र कुमार तिमल्सिना नेपाली काँग्रेसका ६ पटक महासमिति सदस्य रहनु र आमा क्षेत्रीय प्रतिनिधि हुनु पार्टी राजनीतिमा गहिरो जरा गाडिएको परिवारिक इतिहासको प्रमाण हो। तर समकालीन नेपाली राजनीतिमा केवल विरासतले मात्र स्वीकार्यता पाउँदैन; संगठन, आन्दोलन र वैचारिक सक्रियता आवश्यक पर्छ जसमा सचिनले आफूलाई प्रमाणित गरेका छन्।
सचिन तिमल्सिनाले २०७४ देखि २०८१ सम्म युथ काँग्रेसका संस्थापक अध्यक्षका रूपमा काम गरेका थिए। यो अवधिमा युथ काँग्रेसलाई ४२ जिल्लामा संगठन विस्तार गर्नु केवल संख्यात्मक उपलब्धि होइन, युवालाई संगठित राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने प्रयास थियो। संगठन निर्माण, नेतृत्व विकास र जरा तहसम्म पार्टीको उपस्थिति विस्तार गर्ने काममा उनको भूमिका उल्लेखनीय देखिन्छ।
२०८२ पुष २७–३० सम्म सम्पन्न दोस्रो विशेष महाधिवेशनमा उनी जेन्जी परिचालन उपसमितिको संयोजक थिए। जेन्जी उमेर समूहमा प्रत्यक्ष नपरे पनि जेन्जीको सोच, भाषा, प्रविधि प्रयोग र राजनीतिक अपेक्षा बुझ्ने नेताका रूपमा उनी प्रस्तुत भैसकेका छन्।
सचिनले २०८० मा नेपाली काँग्रेस केन्द्रीय कार्य समितिले आयोजना गरेको पोलिसी ह्याकाथुन कार्यक्रमको संयोजक रहेर नीति निर्माण र वैचारिक राजनीतिमा पनि सक्षम रहेको प्रमाणित गरिसकेका छन्। २०७४ सालको प्रतिनिधि सभा चुनावमा चुनावी रणनीतिकार को भूमिकामा रहेर राजनीतिक कौशलता, रणनीति र मतदाताको व्यवहार बुझ्ने क्षमतालाई वृद्वि गरिसकेका छन्।
चिकित्सा शिक्षा आन्दोलन मा अग्रपंक्तिमा उभिएर सहभागिता जनाउनु, सुशासनका मुद्दामा निरन्तर सक्रिय रहनु, नीतिगत बहसमा संलग्न हुनु र समाधानमुखी राजनीति गर्न खोज्नु उनको राजनीतिक प्रतिबद्वताको उदाहरण हो।
सचिनलाई उम्मेदवार बनाएर गगनले दिन खोजेको सन्देश
सचिन तिमल्सिना क्रिकेट कमेन्टेटरका रुपमा चिनिनु र विभिन्न सामाजिक सञ्जालमा सक्रिय रहनु उनको महत्वपूर्ण पक्ष हो। यसले उनलाई आफ्नो निर्वाचन क्षेत्रमा अझ बिशेष गरी खलकूदमा रुचि राख्ने मतदाताहरु संग जोड्न सजिलो बनाएको छ।
१) पुस्तान्तरण र रुपान्तरण
सचिन तिमल्सिना जस्तो शिक्षित र सक्रिय अनुहारलाई अगाडि सार्दा काँग्रेसले पुरानै अनुहार दोहोर्याउने पार्टी भन्ने आलोचनालाई केही हदसम्म चिर्न खोजेको सन्देश गएको छ। यसले विशेषगरी: युवा मतदाता, पहिलोपटक मतदान गर्ने समूमा उत्साह थपेको छ।
२) आन्तरिक सन्तुलन कायम
सचिनको उम्मेदवारीले पार्टीभित्र ठूलो विवाद नआउनु, खुलेआम असन्तुष्टि नदेखिनु र विभिन्न उमेर समूहबीच सन्तुलन कायम हुनुले काँग्रेस क्षेत्र नं. ४ एकजुट रहेको देखिन्छ। सचिन जेन्जी उमेर समूहमा नपरे पनि जेन्जीको भावना अनुसार काम गर्न सक्ने र सबै उमेर समूहलाई मिलाउन सक्ने क्षमताका कारण सबैको स्वीकार्य पात्र बनेको छ।
३) ब्रान्ड भ्यालु ट्रान्सफर
गगन थापाले नेतृत्वको उत्तराधिकार निर्माण को अभ्यास सुरु गरेका छन्। सचिन तिमल्सिनालाई उम्मेदवार बनाउनु गगन थापाको व्यक्तिगत लोकप्रियता मात्र होइन, उनको राजनीतिक दर्शन, कार्यशैली र विश्वासलाई नयाँ पुस्तामा हस्तान्तरण गर्नु हो। यसले पार्टीभित्र निरन्तरता, स्थायित्व र दीर्घकालीन नेतृत्व विकासको संकेत दिन्छ।
४) प्रतिस्पर्धी दल माथि दबाब
सचिनको उम्मेदवारी संगै अन्य राजनीतिक दलहरू माथि दबाबमा परेको देखिन्छ। “युवा नेतृत्व आजको आवश्यकता” लाई भाषणमा मात्र सिमित हैन व्यवहारमा पनि उतार्दै नयाँ अनुहार प्रस्तुत गरे संगै प्रतिस्पर्धी दल माथि युवालाई मौका दिन दवाव परेको छ। साथै यो निर्णयले प्रतिस्पर्धी दललाई प्रचार र रणनीति अझ आक्रामक बनाउन बाध्य बनाएको छ।
काठमाडौं क्षेत्र नं. ४ मा सचिन तिमल्सिनाको उम्मेदवारी केवल क्षेत्रगत रणनीति मात्र होइन नेपाली काँग्रेसभित्र चलिरहेको पुस्तान्तरण, रुपान्तरण, नेतृत्व विकास र राष्ट्रिय पुनःसंरचनाको राजनीतिक प्रयोग हो। यो प्रयोग सफल हुन्छ कि हुँदैन भन्ने कुरा निर्वाचन परिणामले देखाउनेछ। तर राजनीतिक सन्देश, रणनीति र साहसको हिसाबले यो निर्णयको अहिले नै जीत भैसकेको छ। सचिनको जीतले पक्कै पनि गगन थापाले समुन्नत देश बनाउन लिएको संकल्पमा ईट्टा थप्ने काम गर्नेछ।
