को हुन् डा. राजन भट्टराई ?

को हुन् डा. राजन भट्टराई ?

कपन अनलाइन 

काठमाडौ,कार्तिक १२ ।

२०२५ साल असार २९ गते सिन्धुपाल्चोक जिल्लाको सिन्धुकोटमा जन्मेका डा. राजन भट्टराईको काठमाडौं क्षेत्र नं ४ वडा नं ७ चावहिलमा बसोवास गर्दै आएका छन ।

उनले प्राथमिक  शिक्षा काठमाडौँको यसै क्षेत्रभित्र रहेको चाबहिलस्थित पशुपति मित्र माध्यमिक विद्यालयबाट प्राप्त गरेका थिए  । त्यसपछि उनले पुतलीसडक स्थित पद्मोदय माध्यमिक विद्यालयबाट २०४१ सालमा एस.एल.सी.पास ,अर्थशास्त्र, गणित र अङ्ग्रेजी विषय लिएर त्रिभुवन विश्वविद्यालयको पाटन बहुमुखी क्याम्पस बाट २०४३ सालमा आइ.ए. र अर्थशास्त्र र अङ्ग्रेजी विषय लिएर त्रिभुवन विश्वविद्यालयकै त्रिचन्द्र बहुमुखी क्याम्पसबाट २०४७ सालमा बि.ए.पास गरेका थिए ।

उनले छात्रवृत्तिमा बेलायतको युनिभर्सिटी अफ लण्डनबाट २०५८ सालमा ‘इन्टरनेशनल रिलेशन तथा डिप्लोम्याटिक प्राक्टीस’ विषयमा एम.ए. र भारतको जवाहरलाल नेहरु विश्वविद्यालय, दिल्ली बाट ‘स्कूल अफ इन्टरनेशनल स्टडिज’ अन्तर्गत ‘भारत–चीन सम्बन्धका सन्दर्भमा नेपालको बदलिँदो सुरक्षा दृष्टिकोण’ शीर्षकमा २०६९ सालमा विद्यावारिधि (पिएचडी)  गरेका थिए ।

उनले काठमाडौको पुतलीसडकस्थित पद्मोदय माध्यमिक विद्यालयमा कक्षा ८ मा पढ्दै गर्दा २०३७/०३८ देखि अनेरास्ववियुका विभिन्न गतिविधिहरूबाट राजनीतिक यात्रा सुरु गरेका थिए । २०३७/०३८ सालमा उनि पद्मोदय माध्यमिक विद्यालयमा अनेरास्ववियुको प्रारम्भिक कमिटीको अध्यक्ष बनेका थिए ।

२०३९ सालमा अनेरास्ववियुको काठमाडौं नगर विद्यालय कमिटीको सदस्य र २०४० सालमा अनेरास्ववियुको काठमाडौं नगर विद्यालय कमिटीको सचिव हुदै २०४० सालदेखि तत्कालीन नेकपा (माले) सँग पार्टी सम्पर्कमा रहेर काठमाडौंको पूर्वी क्षेत्रको भूमिगत काममा उनले सहयोग गरेका थिए ।

२०४१ सालमा अनेरास्ववियुको काठमाडौं जिल्ला कमिटी सदस्य बनेका उनले २०४२ शालमा काठमाडौं जिल्लाको पूर्वी इलाका अध्यक्षको जिम्मेवारी समेत सम्हालेका थिए । उनि २०४३ सालमा अनेरास्ववियु काठमाडौं जिल्ला सहसचिव, २०४४ सालमा अनेरास्ववियु काठमाडौं जिल्ला सम्मेलन आयोजक कमिटीको संयोजक र २०४४ सालमै अनेरास्ववियुको नवौं राष्ट्रिय सम्मेलन आयोजक कमिटीको सदस्य हुँदै  २०४६ सालमा अनेरास्ववियु केन्द्रीय कमिटीको सचिव बनेका थिए ।

विद्यार्थी राजनीतिसँगसँगै उनि पार्टीको जिम्मेवारीमा पनि संलग्न रहँदै आएका थिए । उनि २०४६ सालदेखि २०५० सालसम्म नेकपा (एमाले) को विद्यार्थी विशेष जिल्ला कमिटीको सदस्य ,२०४८/०४९ सालमा अनेरास्ववियुको विदेश विभाग प्रमुख भएका थिए भने २०४९ सालमा ‘एसियन स्टुडेन्ट एसोसिएशन’ (आसा) को सह महासचिवमा चुनिएर २०५३ सालसम्म यसको केन्द्रीय कार्यालय हंगकंगमा कार्यरत रहेका थिए ।

उनले २०५० देखि २०५३ सालसम्म नेकपा (एमाले) को पूर्वी तथा दक्षिण पूर्वी एसिया जिल्ला कमिटीको सचिवको जिम्मेवारीसमेत बहन गरेका थिए ।

उनले २०५३ सालदेखि २०५८ सालसम्म नेकपा (एमाले) को विदेश विभागको सचिव ,२०५४ देखि २०५८ सालसम्म नेकपा (एमाले) उपत्यका समन्वय कमिटीको सदस्य तथा सोही कमिटीको प्रचार विभाग प्रमुखसमेत रहेर काम गरेका थिए ।

पुन २०६० सालदेखि २०६२ सालसम्म उहाँ पुनः नेकपा (एमाले) विदेश विभागका सचिव रहेका भट्टराई २०६४ सालदेखि पार्टीको विदेश विभागको सदस्य तथा  २०६९ सालदेखि राष्ट्रिय प्रतिनिधि परिषद सदस्य बन्दै नेकपा (एमाले) को नवौ रास्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए ।

डा.राजन भट्टराई विद्यार्थीकालमा पहिलो पटक २०४० सालमा गिरफ्तारीमा परेका थिए । २०४२ सालमा ८ महिना जेल जीवन विताएका थिए भने २०४४ सालमा ४ महिना जेल सजाय भोगेका उनलाई निरङ्कुश पञ्चायती शासकबाट २ वटा राजकाज मुद्दा लगाइएको थियो । त्यसरी नै उनि   २०६२/०६३ को जनआन्दोलनमा अन्तर्राष्ट्रिय समर्थन जुटाउनका लागि महत्वपूर्ण भूमिका खेले वापत शाही शासनको वारेन्टमा परेका थिए ।

यसरी नै प्रधानमन्त्रीको  परराष्ट्र सल्लाहकार रहेका समयमा उच्चस्तरीय भ्रमण दलमा संलग्न रही विभिन्न मुलुकको भ्रमणमा सहभागी रहेका थिए भने उनले अध्ययन र राजनीतिक यात्रामा सयौ अन्तरास्ट्रिय सभा सम्मेलनमा प्रतिनिधित्व गरेका छन ।

नेपाल–भारत प्रबुद्ध व्यक्तिहरूको समूहका एक सदस्यसमेत रहेका छन । उनी एसियाली राजनीतिक पार्टीहरूको युवा फाँटको अन्तर्राष्ट्रिय सम्मेलन (युथ विंग अफ इन्टरनेशनल कन्फरेन्स अफ एसियन पोलिटिकल पार्टीज – आइक्याप २०१४) को वरिष्ठ उपाध्यक्ष समेत हुन् ।

साथै उनले २०६५ सालदेखि नेपाल नीति अध्ययन प्रतिष्ठान (निप्स) को अध्यक्ष, २०६६/०६७ सालमा प्रधानमन्त्री माधवकुमार नेपालका परराष्ट्र सल्लाहकार, २०५९/२०६२ मा ‘नीति अनुसन्धान तथा विकास प्रतिष्ठान’ (आइपिआरएडी) मा अनुसन्धानदाता , २०५८/०५९ मा ‘नीत अनुसन्धान तथा विकास प्रतिष्ठान’ (आइपिआरडी) मा अनुसन्धान परामर्शदाता र २०६१/०६२ मा ‘फ्रेन्ड्स फर पिस’ (एफएफपी), काठमाडौंमा अनुसन्धान परामर्शदाताका रूपमा काम गरेका थिए ।

उनले सन् २००५ को फेब्रुवरीमा लेखेको ‘जियोपोलिटिक्स अफ नेपाल एण्ड इन्टरनेशनल रेस्पोन्सेज टु कन्फ्लिक्ट ट्रान्सफोर्मेशन’ शीर्षक पुस्तक प्रकाशित छ भने उनले ‘चेन्जिङ सेक्युरिटी डाइनामिक्स इन नेपाल’ (अगस्ट २००९), ‘इमर्जिङ सेक्युरिटी च्यालेन्जेज अफ नेपाल’ (डिसेम्बर २०१०), ‘ह्युम्यान सेक्युरिटी इन नेपाल ः कन्सेप्ट, इस्युज एण्ड च्यालेन्जेज’(२०१२) जस्ता पुस्तकको सम्पादन गरेका छन ।

यसका साथै उनले अन्तर्राष्ट्रिय सम्बन्ध, सुरक्षा र द्वन्द्वका बारेमा त्रिभुवन विश्वविद्यालयलगायत अन्य निकायमा विषय विशेषज्ञका रूपमा अध्यापन पनि गर्दै आएका छन ।

 

तपाइँको प्रतिक्रिया ।