त्रास : जेबी खत्री (लघुकथा)

त्रास : जेबी खत्री (लघुकथा)

कपन अनलाइन

काठमाण्डौ ,पुस २०।

म डराएँ । एकदम डराएँ । विहानको भुकभुके उज्यालो भूइँमा झरेको थियो । उज्यालो भएपछि मैले छतका गमलाहरूमा पानी हाल्नु पथ्र्यो । पानी हालि सकेर विहानको खाना बनाउने आफ्नो भागमा परेको काम थियो । हरेक दिन विहान म उसरी नै छत खेतीमा पानी हाल्न सिँढी उक्लेर त्यहाँ पुग्थेँ । छतका गमलामा पानी पटाएर फर्कन्थेँ ।
सदाझै त्यो दिन पनि म गमलामा पानी हालेर हतारहतार फर्कदै थिएँ । आफैँलाई थाहा नभएको कुरा केको यति विधि हतारो हो । ढोकानेर आइपुगेपछि मेरो शरीरको गतिसँगै ढोका अटोमेटिक सिस्टमझैँ आफैँ खुल्यो । म डराउँदै भित्र छिरेँ । भित्र पनि कोही थिएन । मलाई लागेको थियो । यो ढोका जस्ट म संघारमा आइपुग्दा मेरो चालसँगै भित्रबाट कसैले खोलिदियो । भित्र पनि कोही नभएकोले मैले सोचेजस्तो कसैले भित्रबाट त्यो ढोका खोलि दिएको थिएन ।
यस्तो सौभाग्य मैले पहिलो पल्ट देखेको र उपभोग गर्न पाएको इजरायलमा थियो । जहाँ ढोका छेउमा पुगेपछि ढोकाहरू आफैँ खुल्थे । त्यस्तै रात पर्दै गएपछि बत्तीहरू विस्तारै आफैँ बल्दै जान्थे । मैले आफैँलाई छामछुम गरेँ । म कहाँ छु भन्ने कुराको हेक्का राख्न मलाई निक्कै हम्मेहम्मे प¥यो । यो सौभाग्य आज मैले कसरी यहाँ प्राप्त गर्दैछु ? यो त नेपाल हो ।
म त्यहीँ ढोकाको भित्रपटि संघारमा उभिइरहेको रहेछु । फेरि एकछिन्मा अर्को पटक पनि त्यसरी नै ढोका खुल्दा पो थाहा भयो । त्यो ढोका त हावाले पो त्यसरी खोलेको रहेछ ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

 

तपाइँको प्रतिक्रिया ।