तेक्वान्दो लिगमा शुभम र सोनामलाई स्वर्ण

तेक्वान्दो लिगमा शुभम र सोनामलाई स्वर्ण

कपन अनलाइन

काठमाण्डौ ,पुस २०।

काठमाडौंका शुभमजंग कुमार र चितवनका सोनाम महतोले दोस्रो बागमती प्रदेशस्तरीय खुला तेक्वान्दो लिगमा शुक्रबार स्वर्ण पदक जितेका छन् ।
टोखा नगरपालिकाको आयोजनामा टोखा नगरपालिका–५ को कार्यालयमा शुक्रबारदेखि सुरु भएको तेक्वान्दो लिगमा शुभम जंगले पुरुष र सोनामले महिला फाइटमा स्वर्ण पदक जितेका हुन् । शुभमले ४६ देखि ५० केजी तौलसमूहको फाइनलमा काठमाडौंका करण डोलीलाई हराए । यस तौलमा नुवाकोटका रोमन खत्री र काठमाडौंका स्विकार रजकले कांस्य पदक जिते । सोनामले भने महिला ४० देखि ४३ केजी तौलसमूहमा स्वर्ण जितेका हुन् । उनले फाइनलमा नुवाकोटकी निर्मला तामाङलाई हराइन् । काठमाडौंंका सम्पदा सिवाकोटी र स्भियुक्ता संयुक्त रूपमा कांस्य पदक प्राप्त गरे ।
शुक्रबार नै एक कार्यक्रमका बीच काठमाडौं जिल्ला समन्वय समितिका संयोजक सन्तोष बुढाथोकीले प्रतियोगिताको उद्घाटन गरेका थिए । लिगमा पुरुष÷महिलामा समान पाँच गरी १० तौलसमूहमा प्रतिस्पर्धा गर्दैछन् । पुरुषमा ४६–५०, ५०–५४, ५४–५८, ५८–६३ र ६३–६८ केजी तौलसमूहमा प्रतिस्पर्धा हुनेछन् । महिलामा ४०–४३, ४३–४६, ४६–४९, ४९–५३ र ५३–५७ केजीमा प्रतिस्पर्धा तय गरिएको छ । करिब तीन सय खेलाडीको सहभागिता रहने एसकेबिसी तेक्वान्दो डोजाङका प्रमुख प्रशिक्षक रन्जित डगौराले जानकारी दिए ।
काठमाडौं जिल्ला समन्वय समिति र बागमती प्रदेश तेक्वान्दो संघको प्राविधिक सहयोगमा हुने प्रतियोगितामा शीर्ष तीन स्थान हासिल गर्ने खेलाडीलाई क्रमशः १० अंक, ७ अंक र ३ अंक प्रदान गरिनेछ । प्रत्येक तौलसमूहका पदकविजेतालाई अर्को लिगमा खान÷बसोवास÷यातायातको सुविधा प्रदान गरिनेछ । ३÷३ महिनाको अवधिमा सञ्चालन गर्ने गरी सुरुआत गरिएको लिगको तेस्रो संस्करण फागुन र चौथो संस्करण जेठमा हुने आयोजकले जनाएको छ । पहिलो संस्करण स्युचाटारस्थित नागर्जुन कभर्डहलमा गत भदौमा भएको थियो ।

तपाइँको प्रतिक्रिया ।