राजनीतिको कुरूप अनुहारः ठाकुरप्रसाद खकुरेलले एमाले छाडे !!

नेकपा एमाले कपनको सातौं अधिवेशनका दिन कपन अनलाइन कार्यक्रमस्थल पुग्दा थुप्रै एमालेका कपन प्रतिनिधिहरु व्यस्त थिए । व्यस्त एमालेकर्मीहरुका भीडमा ब्राउन कलरको कोटमा टोपी लगाएर भ्याइनभ्याई कुँदिरहेका थिए ठाकुरप्रसाद खकुरेल पनि । एमाले कपनको पर्याय जत्तिकै हैसियत बनाएका खकुरेल कपनमा एमालेलाई स्थापित गर्ने नेताको रुपमा चिनिन्छन् । विशषगरी ५० को दशकयता कपन गाविसको फाँटहरुमा नयाँ बसेको बस्तिमा एमालेलाई घरघरमा पुर्याउन उनको भूमिका राम्रो रह्यो । अझ यसो भनौं कपनमा एमालेको नेता भनेर चिनिँदा ठाकुर प्र. खकुरेल र मिठाराम अधिकारीको नै नाम अझै पनि प्रमुख नाम हो । कपनमा एमाले भनेर चिनिँदा ठाकुर प्रसाद खकुरेल र ठाकुर प्रसाद खकुरेल भन्दा एमाले भनेर चिनिइने नाम हो । एमालेले ठाकुर प्रसाद खकुरेललाई बनायो त्यसैगरी उनले एमालेलाई बनाउन दिलोज्यान दिए ।

ठाकुर प्रसाद  खकुरेल :फाइल फोटो
ठाकुर प्रसाद खकुरेल :फाइल फोटो

दिनभरी ह्याण्डबल चौरमा खुल्ला सत्रमा व्यस्त भएका ठाकुर प्रसाद खकुरेलले रात अबेरसम्म चलेको बन्द सत्रमा पनि आफूलाई सक्रिय समाहित गरे । कपनमा एमालेलाई एक नम्बर पार्टीको रुपमा स्थापित गर्न अहिलेको कपन एमालेको टिम सक्षम रहेको भनेर युवा निर्वाचित प्रतिनिधिहरुलाई हौसला पनि दिए । सबैलाई सुभकामना दिए र आफ्नो मन्तव्यको अन्तिममा अब एमालेमा मेरो सक्रियता यत्तिनै हो म विश्राम लिन्छु – भनेपछि सबै एमालेका प्रतिनिधिहरु चकित भए । सबैले सम्झाउने प्रयास गरे तर उनी केहि नभनीकन बाहिरिए समाचार श्रोत बताउछ  ।

कपनमा बौद्धिक तथा प्रजातान्त्रिक छवि बनाएका ठाकुरप्रसाद खकुरेल पछिल्ला केही समयदेखि राजनीतिबाट असन्तुष्ट थिए । राष्ट्रिय राजनीतिमा एमालेको दोधारे नीतिको पनि उनले बेलाबेला खुलेर विरोध गरेको सुन्न पाइन्थ्यो । कपनका नै केही आफ्नै सहकर्मीहरुको व्यवहारबाट पनि उनी आजित भएका थिए ।

०३४ सालमा आफ्नै काकाको सामन्तिपनलाई नसहेर विद्रोह गरेपछि विधिवत कम्युनिस्ट बनेका ठाकुरप्रसाद खकुरेल ३५ वर्ष सक्रिय किसिमले कम्युनिस्ट राजनीतिमा आफूलाई निष्ठावान कार्यकर्ता बनाए । शिक्षा क्षेत्रमा सम्बन्धित भए पनि काभ्रे, सिन्धु, सर्लाही हुँदै काठमाडौं आइपुग्दा उनले आफ्नो विचारलाई कहिल्यै तलमाथि पारेनन् । उमेरको हदले शिक्षा क्षेत्रबाट बिदा लिए पनि अझै कपनको नवजागृति स्कूलको व्यवस्थापन समितिको बसेर आफूलाई शिक्षा क्षेत्रमै तल्लिन बनाएका छन् । कपनको सबैभन्दा नयाँ सरकारी स्कूल साँप्रेढुंगामा रहेको चार्टर स्कूलको उन्नतिमा आफूलाई समाहित बनाएका छन् । हरेक वर्ष ७,२०० रुपैंया गरीबिमा परेका विद्यार्थीलाई प्रदान गर्ने गर्दछन् । पदीय महत्वलाई ध्यानमा दिएर कहिल्यै आफूलाई बिकाएनन् । लोभ तथा मोहमा उनी बिकेनन् । बरु उनी माथि आए भने आफू तल परिने भयले उनका खुट्टा तान्नेहरु धेरै भए ।

तर एक्कासी एमाले कपनको सातौं अधिवेशनको भोलिपल्ट चिया पसलमा भेटिएका ठाकुर प्र. खकुरेलले कपन अनलाइनलाई अव निष्ठाको राजनीतिदेखि बाहिरिएँ, म अब अवसरको राजनीति गर्छु, बार्गेनिङको राजनीति गर्छु भन्न पुगे ।   जीवनको उत्तरार्धमा ठाकुर प्रसाद खकुरेलमा आएको यो दिव्यज्ञान सुनेर आश्चर्य हुनु बाहेक कसैसँग केही विकल्प रहेन । लामो समयदेखि कपनमा बसेर एमालेको संगठनमा निष्ठापूर्वक लागेका ठाकुर प्र. खकुरेल अब कुन पार्टीको के बन्ने हुन् ? अनि कपनमा त्यो संगठनको विस्तारका लागि कसरी हिँड्लान् ?

जीवनको ३५ वर्ष निष्ठापूर्वक लागेको पार्टीलाई छाडेर अवसरका लागि ठाकुर प्रसाद खकुरेलजस्ता मानिस कुनै पार्टीमा लाग्छन् भने उसले यस अघि गरेको कुनै पनि काम निष्ठा र सत््भावपूर्ण थियो भन्न सकिएला र ? उनले आफ्नो ३५ वर्षे इतिहासलाई तिलाञ्जली दिए भन्दा फरक नपर्ला । पछिल्ला समय राजनीतिले मानिसलाई चित्त दुखाइ रहेको बेला ठाकुर प्रसाद खकुरेलले एमाले छाडेर फलानो पार्टीमा प्रवेश गरे भन्दा राजनीतिप्रति मानिसको अझ मन पो भाँचिने हो कि । एमालेको विपक्षी दलहरू ठाकुर प्रसाद खकुरेलको यो विषय सुन्दा क्षणिक खुशी पनि होलान् तर यो राजनीतिको कालो रूप हो ।

-केशव पाठक

तपाइँको प्रतिक्रिया ।