काठमाडौँमा विद्यासुन्दर पक्का

कपन अनलाइन 

काठमाडौंं । स्थानीय निर्वाचनको मत परिणाम आउने क्रम अन्तिम चरणमा पुगेको छ । चार स्थानको मात्र मत परिणाम मात्र आउन बाँकी छ । मत परिणाम आउन बाँकी तीन महानगरमध्ये काठमाडौंमा एमालेको जित सुनिश्चितजस्तै देखिएको छ ।

काठमाडौं महानगरपालिकाका ३२ वडामध्ये हालसम्म २२ वटा वडाको परिणाम आइसकेको छ । र, यो समाचार तयार पर्दासम्म एमालेका मेयरका प्रत्यासी विद्यासुन्दर शाक्यले करिब १४ हजारले अग्रता लिइरहेका छन् ।

एक लाख ४० हजार मत गन्दा शाक्यले ४६ हजार बढी मत ल्याएका छन् भने प्रतिद्वन्द्वी नेपाली कांग्रेसका राजुराज जोशीले ३२ हजार ५८३ मत ल्याएका छन् । र, कांग्रेस एमालेले समान ११÷११ वटा वडामा जित हासिल गरेका छन् ।

नेकपा एमाले कामपा ३० का प्रतिनिधि तेजप्रसाद ढकाल अब एमालेले थप ६ वटा वडामा विजय हासिल गर्ने र बहुमतसहित एमालेले काठमाडौं महानगरमा विजय हासिल गर्ने दाबी गर्छन् ।

उनी भन्छन्, “नेकपा एमालेले काठमाडौँ महानगरमा मेयर जितिसक्यो । अब प्रतिष्पर्धा वडामा मात्रै हो ।”
काठमाडौं महाननगरपालिकामा करिब १ लाख ७३ हजार मत खसेको छ । र, अब करिब ३२ हजार मत गन्न बाँकी छ । महानगरकै सबैभन्दा ठूलो १६ नम्बर वडाको मत गन्न बाँकी नै छ ।

वडा नम्बर १६ मा मात्रै करिब १६ हजार मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दियो । ठमेलदेखि बालाजुसम्म फैलिएको उक्त वडा पनि एमालेकै पोल्टामा पर्ने दाबी त्यही क्षेत्रका व्यवस्थापिका संसद् सदस्य एवम् सांसद् रामवीर मानन्धर गर्छन् ।

मानन्धर ०५४ सालको स्थानीय निकाय निर्वाचनमा सोही क्षेत्रबाट वडाध्यक्षमा निर्वाचित भएका थिएन । त्यसो त १६ नम्बर वडा कांग्रेसको प्रभाव क्षेत्रसमेत हो । ठमेल, चाक्सिबारी, क्षेत्रपाटी, विष्णुमती तट आफ्नो ‘गढ’ भएको कांंग्रेसको समेत दाबी छ । “विगतको निर्वाचनलाई आधार बनाएर हुँदैन,” मानन्धर भन्छन्, “पछिल्लो समय त्यहाँ एमालेको पकड राम्रो छ ।”

त्यसकारण पनि कांग्रेसले मेयर पदमा आश मारिसकेको उनी बताउँछन् । यो कुरालाई ढकालले पनि जोड दिए । भन्छन्, “कांग्रेसले फराकिलो अन्तरले जितेका वडामा पनि मेयरमा एमालेलाई राम्रो मत खसेको छ । त्यसकारण एमालेले अझै अन्तर बढाउँछ ।

कुन वडा कसले जित्यो  ?

हालसम्म एमालेले वडा नम्बर १, २, ३, ४, १८, २१, २२, २३, २४, २७, ३२ मा जिता हासिल गरेको छ । त्यस्तै नेपाली कांग्रेसले वडा नम्बर ५, ६, ८, १७,  १९, २०, २५, २६, २८, २९, ३० मा विजयको झन्डा फहराएको छ । अहिले वडा नम्बर ७, ९, १०, ११, १२, १३, १४, १५, ३१ मत गणना जारी छ । र, वडा नम्बर १६ को मतपेटिका नै खोलेको छैन ।

मत गणना भइरहेका र हुन बाँकीमध्ये ७, १२, १३, १४, १५, ३१ म एमालेले अग्रता लिइरहेका छ र अन्य वडामा प्रतिष्पर्धा छ । मत गणना हुन बाँकी वडामध्ये कम्तीमा सात वडा जित्ने अनुमान नेकपा एमालेले गरेको छ ।

तपाइँको प्रतिक्रिया ।