स्वास्थ्य क्षेत्रमा अपेक्षित उपलब्धिका लागि औषधिको मूल्य घटाउनुपर्छः मन्त्री थापा
कल्पना पौडेल जेनेभा
स्विट्जरल्याण्डको जेनेभामा भइरहेको विश्व स्वास्थ्य सङ्गठनको ७०औँ महासभामा नेपालका तर्फबाट सम्बोधन गर्दै स्वास्थ्यमन्त्री गगन थापाले हरेक महादेशका क्षेत्रीय निकायसँग सङ्गठनले सहकार्य गर्नुपर्नेमा जोड दिएका छन्।
सभालाई सम्बोधन गर्दै उनले भने ‘क्षेत्रीयस्तरमा काम गर्दा स्वास्थ्य क्षेत्रका कामलाई फलदायी बनाउन सकिन्छ। कुनै पनि देशको स्रोतसाधनको अधिकतम उपयोग गर्न र दीर्घकालीन निर्णयलाई प्रभावकारी बनाउन क्षेत्रीय निकायको भूमिका महत्वपूर्ण हुन्छ।’
सङ्गठन र अन्य सहयोगी संस्थासँगको सम्बन्ध लिने र दिनेको मात्र भएकाले यसलाई प्राविधिक विषयमा मात्र सीमित बनाउन नहुने उनको आग्रह थियो। स्वास्थ्यमन्त्री थापाले सङ्गठनले क्षेत्रीय निकायसँग सहकार्य गरी औषधिको मूल्य घटाउन काम गर्नु पर्ने सुझाव पनि दिए।
उनले भने ‘अहिलेको ठूलो समस्या भनेको महङ्गो औषधि हो, स्वास्थ्य क्षेत्रमा अपेक्षित उपलब्धि हासिल गर्न यसको मूल्य नघटाई हुन्न। नेपालमा आम व्यक्तिले गर्ने खर्चमध्ये ६७ प्रतिशत रकम औषधिमा खर्च हुने गरेको छ।’
सङ्गठनले सार्क, आसियान, अफ्रिकन युनियनजस्ता निकायसँग सहकार्य गरी यसबारेमा काम गर्नुपर्ने टड्कारो आवश्यकता रहेको र औषधिको मूल्य नघटाउँदासम्म स्वास्थ्यमा गरिब जनताको समान पहुँच पुर्याउन नसकिने मन्त्री थापाको भनाइ छ।
उनले पाँचवर्षे कार्यकालका लागि निर्वाचित हुनुभएका सङ्गठनका महानिर्देशक डा टेन्ड्रोस अधानोमको सफल कार्यकालका लागि शुभकामना पनि दिए।
मङ्गलबार राति १९४ सदस्य देशको विभिन्न चरणको मतदानबाट निर्वाचित डा टेन्ड्रोसले मन्त्री थापासँगको भेटमा मिलेर काम गर्ने बताएका थिए। मन्त्री थापाले उनलाई नेपाल भ्रमणको निम्तो दिएकामा उनले नेपाल भ्रमणमा आउने इच्छा प्रकट गरेका थिए। उनले आगामी जुलाइबाट आफ्नो कार्यकाल सम्हाल्ने छन्। महासभा जेठ १७ गतेसम्म चल्नेछ।
रासस