बुनपाको सबैभन्दा ठूलो वडामा कुन दलबाट को ?
कपन अनलाइन, काठमाडौँ । बुनपाको सबैभन्दा ठूलो वडा १० नम्बर वडामा चुनावी माहौल जति तात्नु पर्ने अझै तातेको छैन । दुई ठूला पार्टी नेपाली कांग्रेस र एमालेभित्र वडाध्यक्ष पदका लागि धेरैजनाको चाहना हुनु र सबैजना शक्तिकेन्द्रमा धाउनमा व्यस्त हुनाले चुनावी माहौल देखिन सकेको हो । ८ हजारको हाराहारी मतदाता भएको देशकै सबैभन्दा ठूलो चुनावी बुथ केन्द्र पनि रहेको यस वडामा कसले जित्ला भन्ने चासो भने सबैलाई रहेको छ । यो वडाको मतले बुनपा मेयरको जीत हारसँग पनि ठूलो महत्व राख्दछ ।
धेरै मतदाता भएका कारण बुनपा वडा नम्बर १० जित्नुलाई पार्टीको हैसियत मापनको बिन्दुको रुपमा लिने निश्चित छ । वडाको महत्व अनुरुप पार्टीले उम्मेदवारी तय गर्ला वा नगर्ला भन्ने विषय चाहिँ अझै आशंकाग्रस्त छ । संगठन हिसाबले यो वडामा नेपाली कांग्रेस र नेकपा एमालेबीच चुनावी प्रतिष्पर्धा हुनेछ । माओवादी केन्द्र रक्षात्मक अबस्थामा देखिने निश्चित छ । राप्रपा, नयाँशक्तिलगायत पार्टीले उम्मेदवार देलान् नदेलान् वा कति मत पाउलान् भन्ने कुरामात्र मात्र सिमित रहने छ । सम्भवतः माओवादी केन्द्र पनि यस वडामा नेपाली कांग्रेस र नेकपा एमालेबीचको प्रतिपर्धामा कसले जित्ने भन्ने बारेमा निर्णायक बन्ने देखिन्छ ।
यस वडामा नेपाली कांग्रेस र एमालेले आफैमा विलक्षण प्रतिभा अर्थात वाह भन्ने हैसियतका उम्मेदवार बनाउने तयारी बैरहेको देखिदैन । सामान्य पार्टीका कार्यकर्ता नै संभावित वडाध्यक्षको मैदानमा रहेका छन् । नेपाली कांग्रेसबाट ५ जना र एमालेबाट पनि ५ जना नै संभावित वडाध्यक्षको दौडमा रहेका छन् । सबै आकांक्षीहरु चुनावी एजेन्डा वा मतदाताको ध्यान र चासोतिरभन्दा शक्तिकेन्द्र रिझाउन दौडधुपमा रहेका छन् ।
यस वडामा नेपाली कांग्रेसबाट वडा इकाई सभापति श्याम डोटेल, क्षेत्रीय सदस्य रामप्रसाद लुइँटेल, पूर्व इकाई संयोजक नारदमणि घिमिरेलगायत ५ जना मैदानमा छन् । नेपाली कांग्रेसले डोटेल, लुइँटेल र घिमिरेमध्ये एकलाई टिकट दिने निश्चित प्रायः देखिन्छ । शक्तिकेन्द्र कसले रिझाउने सक्छ भन्नेमा मात्र औपचारिकता बाँकी रहेको बताइन्छ । यी तीनजनामा लोकप्रियतामा को बलियो बताउन त्यति सजिलो छैन । यीमध्ये जसले टिकट पाए पनि कसैले पनि अन्तर्घात नगरे मत परिणाममा खासै असर नपर्ने बताइन्छ । टिकट पाउने आशामा शक्ति केन्द्रहरुलाई रिझाउँदा देखाउनु पर्ने न्यूनतम मान्यतासम्म भंग गर्ने वातावरणमा भने यी पात्रहरु चुक्न सक्ने देखिएको छ । टिकटका लागि गरिएका हरेक खाले सस्ता तिकडमले कालन्तरमा आफैलाई घाटा पर्ने कुरामा नेकाबाट वडाध्यक्ष उम्मेदवारका आकांक्षीहरुले सोच्नु आवश्यक छ ।
वडा नं. १० मा नेकपा एमालेबाट वडा संगठन कमिटिका अध्यक्ष नवराज भट्टराई, क्षेत्रीय सदस्य ध्रुव भट्टराई, जिल्ला सदस्य मधु अधिकारी, लक्ष्मी संग्रौला, राजन पोखरेलको नाम वडाध्यक्ष पदको आकांक्षीका रुपमा मैदानमा छन् । यी ५ जनामध्ये जो कोहीले पनि टिकट पाउने सम्भावना रहेको बताइन्छ । पछिल्ला समय नेकपा एमालेमा पनि आन्तरिक गुटगत हिसाबकिताबको परिलोले ग्रस्त भएको छ । ओली र नेपाल ग्रुपका रुपमा बिभक्त नेकपा एमालेको वर्तमान जिल्ला संगठन कमिटि र नगर संगठन कमिटिको गतिबिधि हेर्दा ओली पक्ष हावी हुने आंकलन भए पनि राजनीतिमा सबै कुराको संभावना भएकाले यसै भन्न भने सकिन्न । वडाभित्र कार्यकर्ता तथा विपक्षी पार्टीमाझ एमालेको सम्भावित वडाध्यक्षको रुपमा चर्चामा यतिखेर नवराज भट्टराई, ध्रुव भट्टराई र मधु अधिकारी अग्रस्थानमा रहेका छन् ।
यीमध्ये वडा संगठन कमिटि अध्यक्ष रहेका नवराज भट्टराईलाई तुलनात्मकरुपमा सबैभन्दा बलियो मानिएको छ तर पुराना नेता भएकाले कारण लक्ष्मी संग्रौलाले टिकट लिन चाहेमा भट्टराई लचिलो बन्न सक्ने बताइन्छ । क्षेत्रीय सदस्य ध्रुव भट्टराई यो वडामा ओली पक्षको बलियो नेता मानिन्छन् । उनको दावी आफैमा महत्वपूर्ण मानिए पनि आफ्नो दावीलाई टिकटमा परिणत गर्न सक्लान् भन्ने आधार भने देख्न सकिदैन । यसैबीच जिल्ला सदस्यसमेत रहेका मधु अधिकारीको सम्भावना बलियो छ भन्नेहरु पनि रहेका छन् ।
कुनै बेला माओवादीको राम्रो जनाधार मानिने साविक कपन गाविसअन्तर्गतको ३ नम्बर वडा नै अहिले बुनपा वडा नं. १० हो । देशको राजनीतिमा जस्तै यस वडामा पनि माओवादी केन्द्र रक्षात्मक बनेको छ । माओवादी केन्द्र यो वडामा जित्न भन्नु सरासर गलत हुनसक्छ तर नेपाली कांग्रेस र एमालेमध्ये एकलाई हराउन भूमिका भने अवश्य खेल्न सक्छ ।
माओवादी केन्द्रले दिने उम्मेदवारीसँग धेरै कुरा निहित हुन्छ । माओवादी केन्द्रका बुनपा संयोजक रविन अधिकारीले महिलाहरुलाई वडाध्यक्षमा पहिलो प्राथमिकता दिने बताएझैँ यदि यस वडामा महिला उम्मेदवार माओवादी केन्द्रले दियो भने त्यो अर्थपूर्ण हुने देखिन्छ । यस वडामा महिला वडाध्यक्ष उम्मेदवार बन्नका लागि संचिता डोटेलले चासो देखाएकी छिन् । वडा नागरीक मञ्चकी संयोजकसमेत रहेकी डोटेलको वडाध्यक्ष दावीलाई दावीलाई पार्टीकै सुवास राईलगायत पुरुष नेताहरुको चुनौति भने रहेको छ ।
यस वडामा यी तीनबाहेका अरु पार्टी जमानत बचाउन सक्ने अबस्थामा देखिदैनन् । यस वडाबाट कोही व्यक्ति उम्मेदवार स्वतन्त्र उठेर ठूलो उलटफेर गर्ने संभावना पनि देखिदैन ।