गोकर्णेश्वर नगरपालिका मेयर को ?
कपन अनलाइन, काठमाडौँ । यतिबेला चियापसल तथा चौतारा सबैतिर स्थानीय तहको निर्वाचनको चटारो देखिन्छ । २० बर्षपछि हुन लागेको भएर पनि स्थानीय निर्वाचनमा जनताले बढी चासोका रुपमा लिएको देखिन्छ । स्थानीय विकास, घरझगडा, साँधसँधियारसम्मका कुराको छिनोफानो गर्ने स्थानीय सरकार आफु नजिकको होस भन्ने इच्छाले पनि हुन सक्छ यसलाई ठुलै प्रतिष्ठाको विषय बनाउन थालिएको छ । राष्ट्रिय चुनावमा समेत स्थानीयस्तरको जनमतले प्रभाव पार्ने भएकाले कसले स्थानीय तह कब्जा गर्ने भन्नेमा राजनीतिक दल मरि मेटेर लागेका देखिन्छ ।
राजधानी काठमाडौंको धार्मिकस्थलको नामबाट विशेष नगरपालिकाको रुपमा परिचित गोकर्णेश्वर नगपालिकालाई निर्वाचनले नछुने कुरै भएन । विशेष गरी काँग्रेस, एमाले र माओवादीले यसलाई प्रतिष्ठाको विषय बनाएर आफ्ना गतिविधी तीव्र पारेको देखिन्छ । स्थानीयस्तरको जनमत देख्दा काँग्रेस र एमालेका विचमा तिव्र प्रतिश्पर्धा हुने देखिन्छ । त्यसैले पनि काँग्रेस र एमालेका उम्मेदवार को हुने हुन भन्ने कुरालाई जनताले चासोका साथ सोधिरहन्छन । मुख्य दलले आफ्ना नजिकका उम्मेदवार उठाउने हुन कि होइनन भन्ने चिन्ता पनि जनतामा बग्रेल्ती देखिए ।
के थियो विगतको स्थानीय निकयको जनमत ?
विगतका ५ वटा गाउँ विकास समितिहरु जोरपाटी, गोकर्णेश्वर, वालुवा, नयाँपाटी र सुन्दरीजललाई मिलाएर यो नगरपालिकाको गठन भएको हो । २०५४ सालको स्थानीय निर्वाचनमा मतदाता संख्याको हिसाबले सबैभन्दा ठुलो गा.वि.स रहेको जोरपाटीमा एमालेले गा.वि.स.को अध्यक्षमा जीत हाँसिल गरेको थियो भने सुन्दरीजलमा नेपाली काँग्रेस विजयी भएको थियो । अन्य गा.वि.स.हरु गोकर्णेश्वर, वालुवा, नयाँपाटीको अध्यक्षमा समेत एमालेले नै जितेको थियो ।
काठमाडौं क्षेत्र नं. ३ को अधिकांश भाग यस नगरपालिकाले आगटेको छ । काठमाडौं क्षेत्र नं. ३ को संसदीय निर्वाचनलाई हेर्ने हो भने २०६४ सालको संविधानसभाको निर्वाचनमा नेपाली काँग्रेसका नेता चक्रबहादुर ठकुरीले जित हात पारेका थिए । २०७० को दास्रो निर्वाचनमा एमालेका रामेश्वर फुयाँलले जोरपाटीका स्थानीय उम्मेदवार समेत रहेका चक्रबहादुर ठकुरीलाई पराजित गरेर जीत हाँसिल गरेका थिए । ठकुरीको गत वर्षको विनासकारी भूकम्पमा मृत्यु भएको थियो ।
विगतको संसदीय निर्वाचनमा वहालवाला प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई हराएर जनताले जननेता मदन भण्डारीलाई जिताएकाले पनि यस क्षेत्रको चर्चा परिचर्चा ह्वात्तै बढ्यो । पछी वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी, मनमोहन अधिकारीले समेत यस क्षेत्रमा जित हात पार्न सफल रहे । यस कारण पनि एमालेले यो भूगोललाई विगतको विरासतको रुपमा लिने गरेको छ ।
नेपाली कांग्रेसको को ?
ब्यवस्थापिका सांसदको ठूलो दल नेपाली काङ्ग्रेस भित्र मेयरका ५ आकांक्षा राख्ने नेता देखा परेका छन् । नेपाली कांग्रेसका गोकर्णेश्वर नगर सभापती श्रीकृष्ण ज्योती पनि अग्रस्थानमा छन् । बलियो राजनैतिक इतिहास बोकेका उनका पिताको सेन्टिमेन्ट र काठमाडौका प्रभावशाली नेता प्रकाशमान सिंहसंगको उनको सामिप्यताले ज्योतीलाई बलियो आकांक्षीको रुपमा हेरिएको छ ।
चतुर एवम् राम्रा योजनाकारका रुपमा चिनिएका युवा नेता दिपक रिसाल अर्का बलियो दावेदार हुन् । पूर्व सांसद स्व चक्र ठकुरीदेखि अहिलेका नेपाली काङ्ग्रेसका क्षेत्रीय सभापति सन्तोष चालिसेसम्मका योजनाकार दीपक रिसालले टिकट उच्छिन्नेले अनुमान गर्न थालेका छन् ।
त्यसै गरि पुर्व सांसद चक्रबहादुर ठकुरीको छोरा बिमल ठकुरीको नाम पनि चर्चामा छ । बाबु सांसद हुँदा बनाएको जनसंपर्क र बाबुको सेन्टिमेन्टको आधार र शेर बाहादुर देउवासंगको सामिप्यताका कारण बिमल ठकुरीलाई बलियो दावेदारको रुपमा हेरिएको छ । परिवारको राजनैतिक पृष्ठभुमि र देउवाको आशिर्वादले बिमल ठकुरीको नाम चर्चामा छ ।
को हुन त एमालेका संभावित उम्मेदवारहरु ?
एमालेको तर्फबाट यो नगरपालिका हाँक्ने आँट सहित आधा दर्जन बढीले दावा प्रस्तुत गरिरहेका छन । कसरी आफुलाई अग्रभागमा पुर्याउने भन्नेमा उनीहरुको दौडधुप चलिरहेको छ । आफ्ना आफ्ना गुट उपगुट र नेता, कार्यकर्ता भेटघाटमा उनिहरु लागिपरेको देखिन्छ ।
एमाले नेता माधव नेपाल पक्षबाट क्षेत्रीय अध्यक्ष उद्धव खड्का र केन्द्रीय लेखा आयोगका सदस्य गोपाल बराल प्रतिश्पर्धाको दौडमा अघि देखिएका छन । अध्यक्ष के.पी. ओलीको पक्षबाट जिल्ला सदस्य एवं गोकर्णेश्वर नगर संगठन कमिटी अध्यक्ष हरिकृष्ण श्रेष्ठ र क्षेत्रीय उपाध्यक्ष पुण्य चौलागाईले आफुलाई अग्रस्थानमा राख्न दौडधुप गरिरहेका छन । यद्यपि जिल्ला कमिटी अध्यक्ष कृष्ण राईले कसलाई अघि बढाउन खोजेको भन्ने प्रष्ट धारणा बाहिर नआएकाले उनको मौनतामा आफ्नै उम्मेदवारी पनि जोडिएको हो कि भन्ने राजनतिक चर्चा पनि छ ।
खड्का र बराल क्रमश नयाँपाटी र जोरपाटीका विगतमा गावि.स अध्यक्षको रुपमा भूमिका निर्वाह गरिसकेका व्यक्ति हुन् भने श्रेष्ठ र चौलागाईसँग वडा अध्यक्षमा निर्वाचित भएको विगतको अनुभव छ । ०५४ मा राई जोरपाटी गा.वि.स.को उपाध्यक्ष निर्वाचित भएका हुन ।
उद्धब खड्काको नेतृत्वमा २०७० को संसदीय निर्वाचनमा सफलता मिलेको र संगठन चुस्त दुरुस्त रुपमा संचालन गरेकाले पनि खड्का बलिया दाबेदार मानिन्छन् । ०५४ को निर्वाचनमासरकारी शिक्षकको जागिर छाडेर उनी गा.विस. अध्यक्ष निर्वाचित भएका हुन । बैचारिक रुपमा स्पष्ट रहेका उनी पार्टी भित्र कुनै एक पक्षमा उभिएपनि शालिन स्वभावका मानिन्छन् ।
०७० को एमालेको नवौं राष्ट्रिय महाधिवेशनको प्रतिनिधी छनौटमा जिल्ला उपाध्यक्षको रुपमा रहेका कृष्ण राईले चुनाव हार्दा पनि खड्काले सबभन्दा बढी लोकप्रिय भोट ल्याएर जितेकाले पनि कार्यकतामाझ उनी लोकप्रिय रहेको पुष्टी गरिसकेको छ । नेपाल पक्षबाट ०५४ मा जोरपाटी गा.वि.सबाट अध्यक्ष जितेका गोपाल बरालको दाबी रहे पनि माथिल्लो तहको निर्वाचनमा संभावित उम्मेदवार हुन सक्ने भन्दै उनलाई पछि हट्न कार्यकर्ताको चर्को दबाब छ । कार्यकर्ताबीच खड्का बढि लोकप्रिय रहेकाले पनि खड्कालाई नै उक्त पक्षले अघि बढाउने निश्चित रहेको स्रोतले बतायो ।
उता ओली पक्षबाट कृष्ण राई विगत देखि नै सांसदको बलिया प्रतिश्पर्धी र आगामी आकांक्षी देखिएकाले मेयरमा छोड्ने निचिश्त रहेकाले हरिकृष्ण श्रेष्ठले पालो पाउने देखिन्छ । ओली पक्षबाट हरिकृष्ण श्रेष्ठ र नेपाल पक्षबाट उद्धव खड्का प्रतिश्पर्धामा उत्रँदा उद्धव खड्का विगतको जनप्रतिनिधी रहेको र संगठनमा निरन्तर क्रियाशील रहेकाले हरेक हिसाबले उनि अघि रहने एमाले वृत्तको आंकलन छ ।
अगामी निर्वाचनमा सांसदको टिकटमा बढी दाबी रहने हुँदा पनि अहिले खड्कालाई टिकट दिएर नेपाल पक्षलाई मनाउनु पर्ने बाध्यता समेत ओली पक्षको छ । श्रेष्ठ विद्यालय र सहकारीका संचालन समेत हुन । सबै ठाउँमा पद खोज्ने तर क्रियाशील नहुने आरोप रहेकाले उद्धब खड्काले नै पार्टीको तर्फबाट मेयरको टिकट पाउने कार्यकर्ताको भावना रहेको सर्वेक्षणबाट देखियो ।
माओवादी केन्द्र
सत्ता सम्हालेका माओवादी केन्द्रमा मेयरमाको दावेदार हरु ४ जनाको नाम नगर कमिटीले जिल्ला कमिटीलाई सिफारिस गरेको छ । जसमा टि आर नेपाल, कपिल उप्रेती,बिष्णु माझी र न्हुच्क्षे नारायण श्रेष्ठ रहेका छन । जस मध्यमा टि आर नेपालले गोनपामा नगर सहजीकरण प्रतिनिधिका रुपमा काम गरेका छन् । उनी सहजीकरण प्रतिनिधिहुदाँ नगरवासीहरुलाई श्रोत साधनहरुको पहुँच सजिलै पुर्याई दिएकोमा नगरभर चर्चित छन् ।
उता बुद्दिजिबि क्षेत्रका भनेर चिनिएका कपिल उप्रेतीको नाम पनि माओवादी केन्द्रमा सधै तरंगित भइरहेको छ । नगर बासीको पहुँचभन्दा पनि पार्टी भित्रको पहुँचको आधारमा उनको नाममा धेरै जसोले लिने गरेका छन् । यसको एकै कारण हो उनी पूर्वसाँसद कुलप्रसाद उप्रेतीका भाइ पनि हुन् । माओवादी केन्द्रमा टि आर नेपाल, कपिल उप्रेती बिचमा एकले टिकट पाउने लगभग पक्कापक्की रहेको छ ।
नगरपालिकाको प्राकृतिक अवस्था र आर्थिक स्रोत
गोकर्णेश्वर नगरपालिका सदियौंदेखि प्राकृतिक भूबनौटका आधारमा अवस्थित शिवपुरीमा रहेको तथा धार्मिक विश्वास, पर्यटकीय रमणीय स्थल एवं भौगोलिक महत्वको रुपमा स्थापित भएको छ । देशभरीका दर्शनार्थीहरु पितृ उद्धारका लागि गोकर्ण उत्तरगया आउने गर्दछन । जसले पनि यस नगरपालिका देशभर परिचित छ ।
काठमाडौं उपत्यकाको धार्मिक धरोहरको महत्व बोकेको वाग्मति नदी यसै क्षेत्रको उपजको रुपमा रहेको छ । काठमाडौंको पानीको मागलाई सुन्दरीजलले धानिरहेको । चन्द्रसम्सेरको पालामा बनेको नेपालको दोस्रो जलविद्युत आयोजना यसै क्षेत्रको स्रोतको रुपमा रहेको छ । यो क्षेत्र प्राकृतिक हरियाली, कन्चन तथा शुद्ध पानी, सिमसार क्षेत्रको अत्यन्त ठूलो भण्डारको रुपमा रहेको छ ।
काठमाडौं जिल्लाको उत्तरी क्षेत्रमा पर्ने यो नगरपालिका प्रकृतिको मनोरम सौन्दर्यका साथै काठमाडौं उपत्यकाको दृश्यावलोकन गर्न सकिने क्षेत्र समेत हो । यो स्थानमा गजधम्म गणेश झैं दक्षिणी पहारमा तारेभीर चन्दागिरी र फुल्चोकीलाई जिस्क्याइजिस्क्याइ उभिरहेको छ । यसको काखमा अवस्थित गोकर्णेश्वर उत्तरगया क्षेत्र, हरियाली सुन्दरीजल क्षेत्र, शहिदको आत्मा र आस्थाको केन्द्रका रुपमा विकास गर्न लागिएको राष्ट्रिय शहीद तथा शान्ति पार्क(स्मारक) यज्ञडोल तारेभीरको अग्लाइको छहारीमा सौन्दर्य छरेर बसेका छन् ।
गोकर्ण उत्तरगया, चामुण्डा माई, सुन्दरीमाई मन्दिर, अर्घौतेश्वर महादेव मन्दिर लगायत थुप्रै धार्मिक स्थलहरु यहाँका तीर्थस्थलहरु हुन । देशभरबाट आएर यस नगरपालिकामा आएर बसेका जनताहरुको बाहुल्यता छ यस नगरपालिकामा । यी सबै स्रोत र साधनले गर्दा पनि आर्थिक हिसाबले छोटो समयमा यस नगरले ठूलै फड्को मार्न सक्ने देखिन्छ । सबै पार्टीले उपर्युक्त पात्र छनौट गरी गोकर्णेश्वरलाई नमूना नगरपालिका बनाउन भूमिका खेल्नु आवश्यक छ ।