अनुदान : राजन कार्की (पाजु)
कपन अनलाइन
काठमाण्डौ, बैशाख २०।
“गाईभैँसी त निकै पाल्नु भा रै छ त, दाई ?” भकारो सोर्दै गरेको मानविरको ध्यान खिच्यो । आँगनतिर हेरे, झोला भिरेका दुई सुकिला अनुहार उतिरै नियालिरहेका थिए ।
“किसान भएपछि पाल्नै परो नी, तर यहाँहरूलाई त चिन्न पनि सकिएन ?” आँगनमा उक्लदै मानविरले सोधे ।
“बस्नुस् न !” दलानमा गुन्द्री ओछ्याईदिदै उनकी पत्नीले आग्रह गरिन् ।
“हामी कृषि विकासबाट गाँउमा कृषि र पशुपालनको अवस्थाको निरिक्षण गर्दै आएका हौं । के कति वस्तुभाउ पाल्नु भा छ ? अनि खेति नी ?” आगन्तुक मध्ये एकले भने ।
“तेई दसआठ माऊ गाईभैँसी र पन्ध्र पाथी जति विऊ जाने खेती छ हजुर, अरू त जोड्न सकिएन ।” उनले जवाफ दिए ।
“सरकारबाट कृषि र पशुपालनको लागि अनुदान आएको छ । था छैन तपाईंलाई ?” अर्काले थपे ।
“खै ! के थाहा हुनु हजुर, हामी अनपढलाई ।” मानविरले दुखेसो पोखे ।
“के हो हजुर यो अनुदान भनेको ?” टाट्नामा खसीबाख्रालाई घाँस लगाउँदै उनकी पत्नीले उत्सुकता पोखिन् ।
“किसान लाई कृषि तथा पशुपालन विकासको लागी दिईने तिर्न नपर्ने सहयोग रकम हो ।” आगन्तुकले गोठतिर क्यामेरा तेस्र्याउदै प्रष्ट्याए ।
अर्काले थपे “वस्तुभाऊ पनि पाल्नु भा रैछ, थोरबहुत खेती पनि गर्नु भा रैछ, आवस्यक छैन त अनुदानको ?”
“खै ! हजुर, खाँचो त थ्यो नी, जिल्लामा आफ्ना कोइ छैनन्, कसले मिलाईदेला र !” चिन्तित मुद्रामा मानविरले भने ।
उनीहरूले आपसमा मुखामुख गरे ।
“चिन्ता किन लिनु हुन्छ ! हामी छदैछुम नि ।” भन्दै एकजनाले झोलाबाट फारम झिकेर भरे अनि भने “ल यहाँ ल्याप्चे लगाउनुस त ।”
ल्याप्चे हानेर दुवै औंला टाउकोमा पुछ्दै मानविरले भने –
“हजुरहरूको जय होस् !”
उनीहरूले धनीपुर्जा र नागरिकताको फोटो पनि खिचे, र भने, हामी गएर प्रकृया मिलाउँदै गर्छौ, अर्को हप्ता अफिसमा आउनोस् है ? “
दुवै दम्पतिले हात जोडेर हँसिलो मुद्राले “हस् हजुर भने !”
तोकिएको दिन उनी कार्यालय पुगेर एक कारिन्दालाई भेटेर सबै बेलिविस्तार लगाए ।
कारिन्दाले फायल पल्टाएर हेरे, र मानविर तर्फ फर्केर छक्क पर्दै भने–
“अनुदान रकम त तपाईंको नामबाट निकासा भैसकेको देखिन्छ त !”
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
