नाटक : मंजू अर्याल (लघुकथा)

नाटक : मंजू अर्याल (लघुकथा)

कपन अनलाइन

काठमाण्डौ, बैशाख २०।

“मीना बैनी अझै यहीँ छन् ?” कोठामा पल्टिरहेकी भाइको सालीलाई देखेर भाइसँग सोधेँ ।
“अँ दिदी ! मीनाको लफडा भएको छ ।” भाइ दिनेशले संकोच मान्दै भन्यो ।
“दुई महिना पनि भएको छैन यहाँ आएको के गरे ज्वाइँले ? हुन त बिहे भएको नै छ महिना मात्र भयो होला ।” मैले हिसाब गर्दै सोचेँ ।
“लभ म्यारिज हो कि एरेन्ज?” भाइसँग सोधीहालेँ ।
“साथीले भनेर हेराहेर गरे। केटा क्यानाडामा बस्ने भने पछि मीना दंग परी । यत्तिको केटी हेर्दा बोली वचन, व्यवहार, रुपले राम्री । अंग्रेजी खरर बोल्ने । आफ्नै स्कुटीमा हालेर केटालाई पनि आफ्ना बाआमासँग भेट गराइदिई । यत्तिको केटीले विदेशमा मज्जाले गरी खान्छे भन्ने सोच्यो केटाले अनि एकहप्तामै आफ्ना बाआमालाई पनि राजी गरायो र बिहे गरे ।”
“अनि ?”
“बिहे गरेको १५ दिनमा ऊ आयो । तीन महिनापछि यिनी पनि आईन् । अहिले ऊ उता यिनी यता आएर बसेकी छिन् ।”
“कस्तो बदमास रहेछ । यहाँ आएपछि केटीलाई दुःख दिन हुन्छ? के गर्दो रहेछ ? केटाको चरित्र ठिक छैन कि क्या हो कि गाजा खाने रहेछ ?” मेरो मुखबाट आफुले सुनिरहेको घटनाहरू सम्झिदै भर्रर प्रश्नहरू निस्किए ।
“कत्ति इच्छा, आकांक्षा लिएर भर्खर बिहे गरेकी स्वास्नीलाई ल्याएर बेसमेंटमा राख्यो । बाहिर खान जाउँ भन्दा पनि पहिले काम खोज, अहिले हामीले काम गर्नुपर्छ, आएको एक हप्तामै काम खोज’ भन्छ । खर्च गर्न मान्दैन । मेरो जीवन निस्सासिदो भयो । म अबसँगै बस्न सक्दिन भन्छे ।” भाइले विस्तार लगायो ।
“सुरुमा सबैले यसरी नै गरेका हुन्छन् । काम त सबैले गर्नुपर्छ । घरमा बसेर उनलाई नै दिक्क लाग्छ । फेरि विकसित देशमा अरूमा निर्भर हुनु पनि उनकै लागि पनि राम्रो हैन ।“ मैले भने ।
मेरो प्रवचन सुनेर भाइले अलि दिक्क मान्दै भन्यो ।” दिदी कुरा यहाँ अर्कै छ ।”
मैले कान ठाडा पर्दै भने । “कस्तो अर्कै कुरा ?”
“अनेक बहाना गरेर लोग्नेलाई छोड्ने र नेपालबाट आफ्नो ब्याईफ्रेन्ड ल्याउनका लागि नाटक हो ।”

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।