भाग्यमानी : गङ्गा आचार्य सापकोटा (लघुकथा)

भाग्यमानी : गङ्गा आचार्य सापकोटा (लघुकथा)

कपन अनलाइन

काठमाण्डौ, बैशाख २०।

काम सिध्याइसकेपछि घर जाने बेलामा कमलीले मालिक्नीतर्फ हेर्दै अनुरोध गरी । “मलाई दुई दिन छुट्टी दिनुहोस् न है । भोलि आमाको मुख हेर्ने दिन रहेछ । बुढा भएका आमाबा छन् । भेट्न नगए चित्त दुखाउँलान्, रोलान् ।”
सानैमा टुहुरी भएकी मालिक्नीको हृदय आमाबा भन्ने शब्द सुन्ने बित्तिकै रसायो । उनले कमलीको मुहारमा एकटकले हेरिन् । खै के सोचिन् अनि खल्तीबाट केही पैसा झिकेर उसको हातमा थमाउँदै भनिन् । “जाऊ जाऊ, मेरो तर्फबाट पनि आमाबालाई अलिकति फलफूल लगिदिनू ल।”
कमलीको मुहार एकाएक उज्यालो भयो । ऊ फुरुङ्ग पर्दै आफ्नो घरतर्फ लागी । मालिक्नीले उसलाई देखुन्जेल परसम्म हेरिन् र झिनो स्वरमा बोलिन् ।
“कमली तँ संसारकै भाग्यमानी रहिछस् ।”

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।