छल : रामराजा के. सी. (लघुकथा)
कपन अनलाइन
काठमाण्डौ, बैशाख ६।
ज्योतिषी दरबारमा आइपुगेको हल्ला मन्दोधरीको कानमा पर्यो ।
हतारहतार उनलाई हात देखाउँदै उनले भनिन् ‘गुरुदेव यो के अनिष्ट हुनलागेको हो ? महाराजलाई के कुराबाट खतरा छ भनिदिनु पर्यो ।’
ज्योतिषीको रुप धारण गरेका हनुमानले मन्दोधरीको हात हेर्दै भने । ‘महारानी राजालाई ब्रम्हाद्धारा दिइएको त्यो हतियारबाट खतरा देखिन्छ ।’
मन्दोधरीले अचम्म मान्दै भनिन् । ‘यो कसरी हुन सक्छ गुरु ? त्यो हतियार त महाराजले आफू बस्ने सिंहासन पछाडि लुकाएर राख्नु भएको छ । आज सम्म कसैलाई थाहै छैन । लुकाएको हतियारबाट खतरा हुनै सक्दैन ।’
‘महारानी मैले भनेको कुरा सत्य हो । हेर्दै जानुहोला एकदिन सत्य भएरै छाड्छ ।’ यति भनेर जोतिष रुप धारण गरेका हनुमान फर्के ।
रावणले घोर तपस्या गरेर ब्रम्हालाई खुसी बनाएको थियो । वरदानमा उसले अमरत्व हुन पाउँ भनेर मागेको थियोे । यो संसारमा अमर त कोही हुनै सक्दैन । जन्मपछि मृत्युु अवश्य हुनेछ । तिमीलाई यो हतियारले बाहेक अरु केहीले मार्न सक्दैन भनेर एउटा हतियार दिएका थिए । त्यो हतियार रावलले आफू बस्ने सिंहासन पछाडि लुकाएर राखेको थियो । मन्दोधरी बाहेक कसैलाई भनेकै थिएन । हनुमानले छल गरेर हातहेर्ने बहानामा हतियार राखेको ठाउँ पत्ता लगाए । हनुमानकै सहायताले हतियार रामको हात पर्यो र त्यही हतियार प्रयोग गरेर रामले रावणलनई मारेका हुन् ।
रामायण पढेर सकेपछि मेरो मन बुझ्यो किनभने उसले पनि त घर लिलामीको चिठी हातमा परेको दिन बिष सेवन गरेको थियो र जताततै ऋण झिकेर मस्ति गर्दै हिँडेकी सुनिता बिधवा भएकी थिई ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक