सर्कस : सत्यजीत ( लघुकथा)
कपन अनलाइन
काठमाण्डौ, बैशाख ६।
पाँच वर्षपछि गाउँमा चुनाव आयो । एक पार्टीको चुनाव चिह्न थियो छाता, अर्को पार्टीको पनि छाता– रंग मात्र फरक ।
पहिलो पार्टीका कार्यकर्ताहरू गाउँगाउँ गए, ‘हाम्रो छातामुनि बस्नुस्, सुरक्षा, रोजगारी र विकास पाउनुहुन्छ ।’
दोस्रो पार्टीका कार्यकर्ताहरू पनि गए, ‘हाम्रो छातामुनि आउनुस्, निःशुल्क स्वास्थ्य, शिक्षामा क्रान्ति र समृद्धि आउँछ ।’
बुढा किसानले टोलाएर हेर्दै सोधे,– ‘छाता त दुइटै छन्, फरक के हो त ?’
एकले भन्यो, ‘हाम्रो छाता त जनताका आँसु पुछ्नको लागि हो ।’
अर्कोले भन्यो, ‘हाम्रो छाता त जनताको रगत रोक्नको लागि हो ।’
किसान हाँसे – ‘दुवै छाता त हामीले बोकेको घाम–पानीबाट बचाउने होइन, तपाईंहरूले जनतालाई कति वर्षदेखि छाता देखाएर छाप हान्न सिकाउनु भो ?’
दुवै पार्टीका मान्छे मुख हेराहेर गर्दै हिँडे । किसानको छोराले बाउको काँधमा हात राख्दै भने –
‘बुबा, यो चुनाव होइन, छाता भिरेर दौडिने सर्कस पो रहेछ ।’
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक