देशको आँसु : डा. टीकाराम पोखरेल (लघुुकथा)
कपन अनलाइन
काठमाण्डौ, बैशाख २०।
एउटा छोरो द्वन्द्वमा रगतको बलिदानी गरेर पहिले नै सहिद भैसकेको थियो । अर्को छोरो खाडीको गर्मीमा पसिनाको बलिदानी गरेर साहुको ऋण तीर्ने सपना बुन्दै थियो ।
छोरीहरू कलिलै उमेरमा धमाधम बलात्कृत हुँदै थिए ।
कलिला बालबालिकाहरू अपहरणमा पर्दै थिए ।
न्याय नपाएका छोरीहरू न्यायको भीख मागिरहेका थिए ।
केही छोराछोरी गास, बास, कपास, शिक्षा र स्वास्थ्यको अभावमा पिल्सिरहेका थिए ।
त्यसो त हत्या गर्ने, अपहरण गर्ने, बलात्कार गर्ने, अपराध गर्ने पनि आमाकै सन्तान थिए ।
एउटा सन्तान सरकारी कार्यालयमा घुस बिना काम नहुने देखेर दिक्दार मानिरहेको थियो, अर्को सन्तान घुसमा आएको पैसा आफ्नो भागमा कम परेकोमा असन्तुष्टि पोख्दै थियो ।
आफ्नै छोराछोरीले आफ्नै छोराछोरीलाई दुःख दिएको देखेर आमा असैह्य वेदनामा छटपटिइरहेकी थिइन् ।
तर केही छोराछोरी भने अट्टाहस हाँसिरहेका थिए, जो गरिबी, बेरोजगारी, बलात्कार, अपराध, अन्याय र पीडामाथि राजनीति गरिरहेका थिए ।
आमा आँखाबाट आँसु झार्दै प्रश्न गरिरहेकी थिइन्– ‘के तिनीहरू पनि मेरै सन्तान् हुन्, जो आफ्नै बन्धुबान्धवको पीडामा खुसी छन् ?’
कान बन्द गरेका उनीहरूले आमाको आवाज सुनिरहेका थिएनन् । आफ्नो आँखा पनि बन्द गरेका उनीहरू आमाको आँसु देख्न योग्य नै थिएनन् । चेतनामा कालो दाग लागेका ती पीडामा राजनीति गर्नेहरू मान्छे जस्ता देखिए पनि यथार्थमा ती मान्छे थिएनन् ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक