ओशो, नेपाल र बुद्ध : शम्भु प्रकृति
कपन अनलाइन
काठमाडौं, पुस ६।
विश्वमा सबभन्दा विवादास्पद दार्शनिक र बुद्धको रुपमा चर्चित ओशो रजनीशको मंसिर २६ गते जन्मदिन हो । भारतको मध्यप्रदेश राज्यको कोतवाडा भन्ने गाउँमा एक मध्यमवर्गीय जैन परिवारमा सन् १९३१ को ११ डिसेम्बरमा ओशोको जन्म भएको थियो । उनको वास्तविक नाम रजनीशचन्द्र मोहन थियो । उनका मातापिताको ११ जना सन्तान मध्ये उनी जेष्ठ सन्तान थिए । सानैदेखि विद्रोही ओशोलाई उनका हजुरबुबा–हजुरआमाले स्वतन्त्ररूपमा हुर्काएका थिए भने उनी विलक्षण प्रतिभाका धनी र साहसी थिए ।
ओशोको जीवनको धेरैजसो समय नै अध्ययन, ध्यान साधना, भ्रमण र प्रवचनमा बितेको थियो । ओशोले १ लाख भन्दा बढी पुस्तक अध्ययन गरेका थिए । उल्लेखनीय कुरा के भने उनले २१ बर्षको उमेरमै बुद्धत्व प्राप्त गरेका थिए । सागर विश्वविद्यालयबाट दर्शनशास्त्र विषयमा प्रथम श्रेणीमा प्रथम भएर स्वर्णपदक प्राप्त गरेका ओशोले त्यसपछि जवलपुर बिश्वबिद्धालयमा ७ बर्षसम्म दर्शनशास्त्र बिषयको प्राध्यापन गरेका थिए । त्यसपछि उनले राजिनामा दिएर पुरै भारत घुमेर ध्यान साधना सिकाउने कार्यमा आफुलाइ आजीवन समर्पित गरे । येसैक्रममा उनले सन् १९७० बाट मुम्बईमा धर्मचक्र प्रवर्तनको नामबाट नव–सन्यास दीक्षा दिन सुरु गरे र प्रथम सन्यास दीक्षा मा आनन्द मधुलाई दिए। त्यसो त उनकी हजुरआमाले पनि उनको प्रथम शिष्या बन्न खोजेकी थिइन् ।
ओशो स्वयमले पनि उनकी हजुरआमा उनकी प्रथम सम्बुद्ध शिष्या थिइन् भनेर घोषणा गरेका छन्, जुन घटना भएको १६ जनवरी १९७० मा हो । त्यसपछी मात्र ओशोले नव–सन्यास दीक्षा दिन सुरु गरे । उनको हजुरआमाको पनि अन्तिम इच्छा उनको शिष्या बन्नुनै थियो ।ओशोको जीवनकालमै उनका ६,५०,००० सन्यासीहरु भैसकेका थिए र उनको विश्वभरिमै करोडपति–अरबपती शिष्यहरु प्रशस्तै थिए । उनका प्रेमीहरु लाखौं–करोडौं छन् । उनका प्रबचनहरुको सङ्गालो र पुस्तकहरु मुलरुपमा हिन्दी तथा अङ्ग्रेजीमा सङ्कलित ७०० र अडियो–भिडियो टेपहरु हजारौं छन् । ओशोका पुस्तकहरु बिश्वका ३५ भन्दा धेरै भाषाहरुमा उल्था भएका छन् । उनका ध्यानबिधिहरु मध्य सकृय ध्यान, विपश्यना ध्यान, मै कौन हु, कुण्डलिनी, विज्ञान भैरवतन्त्र आदि चर्चित छन् भने पुस्तकहरूमा ‘सम्भोग से समाधी कि और’ सबभन्दा चर्चित पुस्तक हो भने उनका थुप्रै उत्कृष्ट साहित्यहरु छन् ।
ओशोले बिश्वको हरेक विषयमा प्रबचन दिएका छन् भने १०,००० वटा प्रश्नहरुको उत्तर दिएका छन्, जसमा कुनैपनी विषय छुटेको पाँइदैन । सम्पूर्ण धर्म र मनुष्यताको लागि प्रबचन तथा ध्यान पद्धतिको बिकास गरेका उनले पुर्ब र पश्चिमलाई जोड्ने काम गरेका छन् । त्यसैले जिसस क्राइस्ट पछिका सर्बाधिक बिद्रोही ब्यक्तित्व मानिएका छन् ।
एक्काइसौँ शताब्दीको मनुष्यताको लागि उपयुक्त उनको दर्शन १,००० बर्षसम्म गल्ने देखिदैन । अमेरिकामा सन् १९८० को दशकमा ओरेगन राज्यमा उनी र ५००० सन्यासीहरु मिलेर अरबौ डलर खर्च गरेर ६०,००० बिघा भुमी किनेर बसालेको बिशाल कम्युन र शहर रजनीशपुरमलाई तत्कालिन अमेरिकी रेगन सरकारले ओशोलाइ ३५ आप्रवासन नियमहरुको उल्लङ्घनको आरोप लगाएर बिना गिरफ्तारी वारेन्ट पक्रेर १२ दिनसम्म हिरासतमा राखी जमानत नामन्जुर गरेर चरम यातना दिएर बिश्वमा मानव अधिकारको खिल्ली उडाएको थियो ।
अमेरिकाबाट नै निस्काशन गरेर विश्वव्यापी रुपमा नै प्रतिबन्ध लगाएको थियो । साथै उनलाई अमेरिकी जेलमा नै थेलियम भन्ने मन्दविष दिदै विकिरणबाट पनि उनलाई प्रताडित गरिएको थियो । यसको प्रभावले सन् १९९० जनवरी १९ का दिन ओशोले महापरिनिर्वाण लिएका थिए । यसको १ दिन अगाडि १८ जनवरीमा उनका शिष्य स्वामी आनन्द अरुणले नेपालमा ओशो तपोवनको स्थापना गरेका थिए, जहाँ उनको अस्थु राखेर भारतको पुनामा जस्तै समाधीस्थल बनाइएको छ ।
त्यस्तै सन् १९७० कै दशकमा भारतको पुनामा ओशो कम्युन इन्टरनेशनल खोलेर उनले आफ्नो मिशन र अभियानलाई आजीवन अगाडि बढाएका थिए । ओशोको आफ्नो जीवनकालमै १००० बुद्धहरु पैदा गरेका थिए । अमेरिकाबाट निकालिएपछी ओशो सिधै नेपाल आएका थिए प्रबेशाज्ञा नलाग्ने र नेपाली शिष्यहरुको आग्रहमा । स्वामी आनन्द अरुणको मुख्य ब्यवस्थापनमा नेपाल आएका ओशोलाई भव्य स्वागतसत्कार एवं आतिथ्यता प्रदान गरियो भने राजा वीरेन्द्रले नेपालमै स्थायी बसोबास र शरण दिने प्रस्ताव आएको थियो । उनी नेपालमा सोल्टी होटेलमा बसेका थिए करिब ३ जनवरी १९८६ देखि मध्री फेब्रअरीसम्म ।
त्यसपछि भारत सरकारको षडयन्त्र र दबाबमा ओशोलाई नेपाल छोडन बाध्य पारिएको थियो अमेरिकीहरुको बिश्वब्यापी उर्दिले गर्दा । ओशोले यसलाई स्वभाविक रुपमा लिदै नेपाललाई स्वेच्छापुर्वक छोडेर गएका थिए बिना कुनै गुनासो । उनको भनाइमा नेपाल र नेपालीहरुप्रती उनीमा कुनै गुनासो रहेको यो तपोभुमी उनले पुर्ण शान्ती र सन्तुष्टी महसुस गरेको बताएका छन् ।
यहाँ उनले कुनैपनी तितो यथार्थ महसुस गर्नुपरेन । गरिबीको कारणले नेपाल भारतको आर्थिक दबदबामा रहनुपरेकोले तेश्रो बिश्वमा स्वतन्त्रताको पैरवी गर्ने एउटा देशले अर्को सानो देशमाथी सृजना गर्ने यस्तो दबाब उसको बदनियतको संकेत हो भने सानो, कमजोर र गरिब मुलुकको स्वतन्त्रता काँचो धागो जस्तै हुन्छ भन्ने उनले महसुस गरेको नेपालप्रतिको तितो अनुभुति थियो ।
ओशोलाई नेपालमा नवबुद्धकै रुपमा स्वीकार गरिएको थियो किनभने वैदिक सनातन हिन्दु र बौद्ध धर्मकै धारामा उनको धर्म– दर्शन केन्द्रीत भएको पाइन्छ । तर उनले सर्वधर्मलाई महत्व दिएर पुरानो परम्परा र साम्प्रदायिकतालाई नकारेका छन् र नयाँ धर्म भन्दा पनि धार्मिकतालाई अंगालेका छन् । ओशोले बुद्धको बारेमा बोल्दै नेपाल गरिब हुनुको कारकतत्व बुद्धलाइ चिन्न नसक्नुलाई जनाएका छन् ।
बुद्धलाइ चिन्न नसक्नु नेपालीहरुको ठुलो भुल भएको औंल्याएका छन् । आफ्ना सम्पुर्ण प्रमाणपत्र जलाएका र बिश्वबिद्यालयको स्वर्णपदक इनारमा फ्याँकेका उनको शब्दमा ‘म विश्व नागरिक हु, कुनै देशको सिमामा खुम्चिएर बसेको व्यक्ती होइन । पूर्व र पश्चिम एक हो भने अखण्ड मनुष्यताको लागि विभाजनका सम्पूर्ण रेखाहरु टुट्नुपर्छ ।’, जुन उनको मननयोग्य उद्घोष हो ।