सत्य : रञ्जु खनाल (कविता )
कपन अनलाइन
काठमाडौं, पुस ६।
जीन्दगी जहाँ थियो पहिले
बस् त्यही छ आज पनि
बदलिएको छ मानिसको
स्वभाव, रङ, ढङ्ग अनि उसका
प्रत्येक कर्महरु चाहे त्यो
सुकर्म होस् वा कुकर्महरु
जुन कर्मले ऊ पतनमार्ग
तिर धकेलिदै जान्छ
फाल्तु गफ गरेर समय
कटानी गर्नेहरुका लागि
समय खेर गएको पसिना
र मयल समान भएको छ
तर……….!
उन्नति र सिर्जना, नयाँ
नयाँ कुराको आविष्कार
गर्नेहरुका लागि समय
हिरा र मोतीका दानाझैँ
अनमोल बन्न पुगेको छ
तब त समय कतिखेर
सुलुत्तै चिप्लीएर जाने
गर्दछ पत्तै हुँदैन त
जसरी आगोमा नौनी
घिउ नै बन्न नपाइ
विलाएर पग्लीएर
जाने गर्दछ
नारी पुरुषमा भेदभाव
गर्छ यो समाज
त्यही समाजकोे आड
पाएर पुरुष आफ्नो
पुरुषत्वमा अहमको
विजारोपण गर्छ र भन्छ
म पुरुष हूँ –“मैले जे गरेँ
त्यो सब ठिक छ, जायज छ”
नाजायजछ त केवल
नारीका प्रत्येक स्वर जहाँ
सत्यलाई चिर्दै चिर्दै
पावनिक गतिसँग
निर्जन आकाशमा
शुन्यतातिर विलिन हुन्छ
रहन्छ त केवल नारीभित्रका
अप्रस्फुटित ध्वनि जुन
कण्ठसम्म आएर पुनः
फर्किएर मुटुसम्म पुग्छ
अनि एक्कासि चक्षुको
माध्यम हुँदै परेलाबाट
तप्प तप्प तप्किन्छ !!
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक