चिन्ता : राजु क्षत्री अपुरो ( लघुकथा)

चिन्ता : राजु क्षत्री अपुरो ( लघुकथा)

कपन अनलाइन

काठमाण्डौ ,पुस २०।

आज अकस्मात क्याराम बोर्डका गोट्टिहरू एकापसमा बाझिदै थिए । कालाको घमण्ड उच्च शिखरमा पुगिसकेको थियो । सेता गोट्टिहरूलाई पनि आफ्नो रुप र रङ्गको घमण्ड चढ्दै थियो । सदा दिनभन्दा आज यी दुबै गोट्टीहरू उग्ररूपमा बाझिदै थिए । हुन त उनीहरू पहिला पनि प्रतिद्वन्द्वी नै थिए तर आज प्रतिस्पर्धा उच्च भएकोले घम्साघम्सी नै परेको थियो । कालो गोटि भन्थ्यो ।” म सबैभन्दा पुरानो हुँ । मसँग जोरी नखेल्नु मै भलाई हुनेछ ।”
सेतो भन्थ्यो– “म अलि पछि आएपनि स्थापित भैसकेको गोटि हुँ । हामीलाई जिस्काउने चेष्टा गरियोस् ।”
यता रानीको आफ्नै घमण्ड थियो । “रातो राम्रो गुलियो मीठो“ भन्ने उक्ति समेत लागू गर्न भ्याइ उसले । सिँहाशनबाटै भन्न थाली – “म बिना खेल अधुरो ।”
“तिमी तिनजना मात्रै होइन, रानी पनि मेरा अधीनमा छौ । सबैलाई मैले नचाउँन सक्छु । जुन प्वालमा छिराउन चाह्यो त्यही प्वालमा छिराइदिन सक्छु । जुन भित्तामा ठोक्काउन पर्ने हो त्यही ठोक्काइदिन सक्छु । म बिना यो खेल नै अधुरो छ ।”
स्टाइगरले छाती फुलाउँदै घमण्डका साथ भन्यो ।
आफ्ना सन्ततिको घमण्ड देखेर क्याराम बोर्ड रुन थालिन् । उनलाई त आफ्नो सन्ततिको झगडाको फाइदा लिएर साहुले बोर्ड नै टुक्राटुक्रा पारिदिने हो कि भन्ने चिन्ताले पो सताइरहेको थियो ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।