नाम : प्रेम पुन मगर (लघुकथा)
कपन अनलाइन
काठमाण्डौ ,पुस २०।
“रामहरि तिम्रो… ठिक छैन त्यसैले हाम्रो धर्म अंगाल ।”
रामहरि अरबियन देशमा पुगेको थियो । केही दिनपछि उतैको दुइटा साथी अली र हबिबुल्लाहले भने ।
“म धर्म परिवर्तन गर्दिनँ ।” रामहरि बोल्यो ।
“हाम्रै देशमा आएर रोजीरोटी कमाएका छौ । हाम्रो कुरा मान्नै पर्छ ।” उनीहरूले जोर कसे ।
उसले अन्जान जस्तै बन्दै भन्यो–
“त्यसो गरे के हुन्छ ?”
“हामीले अंगालेको बाटोमा हिँडे मात्रै स्वर्ग प्राप्ति हुन्छ । यो बाटो सत्य हो। यो बाहेकका सबै फरेब र असत्य हुन् । उनको नर्कमा बास हुन्छ ।”
उनीहरूको बखान सुनेपछि उसले भन्यो–
“मैले मेरा मातापिताको बाटो छोड्नु हुदैन् । म मा उनीहरूको रगत छ । म अर्को कसरी हुन सक्छु ?”
–“मातापिताको कुरा छोड । तिमी अहिले सम्म अज्ञानी थियौ । सम्झ अब ज्ञानी भयौ । स्वर्ग पाउनुको लागि यति पनि गर्न सक्दैनौ ?” उनीहरू बोल्दै गए ।
“तर मेरो नाम त हाम्रै भगवानको छ ।” उसले पनि बोल्दै गयो ।
–..“त के भयो ?” आजदेखि आफ्नो नाम रामहरिबाट रहमानमा बदल ।”
उनीहरूको कुरा सुनेर ऊ उग्र हुदै तीन प्रश्न गरेपछि भने उनीहरू केही बोलेनन् ।
“नाम बदल्न त्यति सजिलो छ ? के मेरो सपरिवार आफ्नो देशमा बस्न दिन्छौ ? मेरो देशको नागरिकता प्रमाणपत्रमा कसरी बदल्ने ?”
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक