दसौं राष्ट्रिय खेलकुदको सचिवालय उद्घाटन

दसौं राष्ट्रिय खेलकुदको सचिवालय उद्घाटन

कपन अनलाइन

काठमाण्डौ ,पुस २५।

कर्णाली प्रदेशमा हुने १० औं राष्ट्रिय खेलकुदको सचिवालय बुधबार उद्घाटन गरिएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले सचिवालयको औपचारिक उद्घाटन गरे ।
दशौं राष्ट्रिय खेलकुदको कार्यलाई प्रभावकारी ढंगले अगाडि बढाउन त्रिपुरेश्वरस्थित राखेपको कार्यालय भवनको दोश्रो तलामा सचिवालय सञ्चालनमा ल्याइएको हो ।
मन्त्री चौधरीले आवश्यक पूर्वाधार अभावले दशौं राष्ट्रिय खेलकुदका केही खेल प्रतिस्पर्धा नेपालगञ्ज र काठमाडौंमा पनि हुन सक्ने बताउदै अधिकांश खेल कर्णालीमै हुने स्पष्ट पारे । उनले कर्णाली प्रदेशको खेल पूर्वाधार, बाटो र होटल लगायतका अवस्थाबारे पनि निरीक्षण भैरहेको बताए ।
मन्त्री चौधरीले आगामी माघ ३ गते बस्ने राखेपको बोर्ड बैठकले दशौं राष्ट्रिय खेलकुदका बारे थप छलफल हुने बताए । उनले दशौं राष्ट्रिय खेलकुद भब्य, सभ्य र उत्कृष्ट हुने बताए ।
राखेपका सदस्य–सचिव टंकलाल घिसिङले देश संघीय संरचनामा गएपछि राष्ट्रिय खेलकुद आयोजना पनि संघीय संरचनामा हुँदै गएको उल्लेख गर्दै यसपल्ट प्रदेशका खेलकुद निकायलाई अझ धेरै जिम्मेवारी दिने बताए ।
सदस्य–सचिव घिसिङले प्रदेशको पहिचान झल्किने किसिमले खेलाडीले लगाउने पोशाकसँगै यातायात व्यवस्थापन गर्ने जिम्मेवारी पनि प्रदेशलाई नै दिइने स्पष्ट पारे ।
सदस्य–सचिव घिसिङले दसौं राष्ट्रिय सचिवालय उद्घाटन पहिलो चरणको काम मात्र भएको बताउदै कुन खेल कहाँ हुने, कहिले हुने, कहिले सकिने, पुरस्कार कति हुने, उद्घाटन÷समापन कसरी हुनेलगायतका विषय क्रमैसंग समयमै सार्वजनिक गर्ने बताए ।
गत मंसिर २१ गते बसेको राखेपको ११८ औं बोर्ड बैठकले दसौं राष्ट्रिय खेलकुद चैत २३ देखि ३० गतेसम्म गर्ने निर्णय गरेको थियो ।

तपाइँको प्रतिक्रिया ।