समयले आत्महत्या गरेछ : लक्ष्मीप्रसाद पौडेल (लघुकथा)
कपन अनलाइन
काठमाडौं, पुस ६।
एउटा बन्द कोठामा ऊ केही लेखिईरहेकी थिई । ऊ, यानी कुनै लेखकको सजीव पात्र । महाकविको मदन उसको छेउमै थियो । शरीरलाई झिकेर अँध्यारो कुनामा थन्क्याउने हो भने मदन र ऊ एउटै बिस्तारामा थिए भन्दा हुन्छ । उसको मदनको उपती राम्रै भए पनि समय र प्रतिकांक्षाले उपरति पैदा गरेको थियो । बेकारण गाउँ छोडेर शहर पसेका थिए ।
“यै कमाई र यस्तै खर्चले त एउटा टिनको छाप्रो पनि ठडिन्न यो शहरमा । कि आम्दानी बढ्नुपरो, होइन खर्च नगर्नुपर्यो । महङ्गी बढ्दो छ ।” मदनले त्यो दिन भनेको सार दुरुस्तै सारी उसले मनबाट कापीमा ।
हप्तामा दुईदिन दाल, तरकारी तीनदिन, दाल तरकारी एकदिन, कुनै शनिवार अन्डा÷मासु । फलफुल सिजन सस्तिदा । खाजा खानुपरे चनाचिउरा । चियापत्ती हालेको एक ÷ एक कप चिया । दूध नानीलाई मात्र ।उसले सम्झी, ’आखिर खर्च त केही थिएन ! उसको श्रृङ्गारमा फेयर एण्ड लवली छदैथ्यो । दाह्री कपाल पाल्नु मदनको शौख थियो ।’
“किन गयो मदन बाहिर ?” उसले प्रश्न दुरुस्त कापीमा लेखी ।
‘दूरसञ्चार कम्पनीको जागिर अस्थायी थियो त के भो, कम्पनी दूरसञ्चार स्थायी थियो । के पुगेनछ उसलाई । थपक्क विदेश जान्छु भन्यो, उठ्यो, हिड्यो !’
उसले उसको मनमा रहेको मदनलाई सोधी । मदनले उही पुरानो जवाफ दियो, ‘यै कमाई र यस्तै खर्चले त एउटा टिनको छाप्रो पनि ठडिन्न यो शहरमा ।’
“गाउँ के बस्नै नहुने थ्यो र ?” लेखकले उसको कथा भेटायो । लेखक लेख्न बस्यो, “समयले आत्महत्या गरेछ ।”
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक