चार मुक्तक :रामकुमार पण्डित
कपन अनलाइन
काठमाडौं, असोज १२।
काठमाडौं, असोज १२।
(पहिलोः प्रेमको जन्म)
प्रेमले मनको कुनाकुना छुनुपर्छ
हाँस्दा हाँस्ने सँगसँगै रुँदा रुनुपर्छ
अरू कुरा जेसुकै होस् तर जिन्दगीमा
प्रेम भनेको चोखो निःशर्त हुनुपर्छ ।
(दोस्रोः प्रेमको परिपक्वता)
बोटै बुढो भएपछि थाँक्रोको के काम
चपाएपछि उखुको लाँक्रोको के काम
जतिखेर तिमी प्यार–प्यार भन्छौ,हेर
मर्ने बेलामा हरियो काँक्रोको के काम ।
(तेस्रोः प्रेमको अन्त्य)
भन्न त भन्छन् यो युग प्रेमले अपार हुन्छ
जता जाउँ उतैतिर प्रेमको व्यापार हुन्छ
चेतना हो गौण कुरो, यसैमा भर हुन्छ सबै
ब्रह्म चेतमा पुग्यौ भने प्रेम बेकार हुन्छ ।
(चौँथोः भन्ने एउटा गर्ने अर्को)
सियो बनेर पसेको जो फाली बनी निक्लेको छ
थोरै चाहना गरे पनि धेरै–धेरै मिलेको छ
असुरहरूको के कुरा भगवान्कै लिला हेर
तीन पाउ भूमि माग्नेले नै ब्रह्माण्ड निलेको छ ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।