शरद्को महिमा : त्रिलोचन आचार्य (कविता )
कपन अनलाइन
काठमाडौं, असोज १२।
पर पर जब भाग्यो मेघको फौज कालो
वर वर हुन लाग्यो याम बन्दै उज्यालो
समय तँ पनि कस्तो जादु साँच्दो रहेछस्
छुनुमुनु धरतीमा नाँच्न बाँच्दो रहेछस् ।१।
झटपट तँ हिलोको राज फाल्दै रमाइस्
झम झम किन वर्षा त्यो विदामा पठाइस्
चउर वन खुलाइस् धान बाला झुलाइस्
तब तब तँ शरद्को काखमा रम्न पाइस् ।२।
वन पथ किन चम्के फूल थुङ्गा सजाई
किन पर पर आँधी भाग्न थाल्यो लजाई
अनि किन छहराले दिव्य हाँसो छरेको
कसरत त शरद्ले हेर कस्तो गरेको ।३।
किन किन लहरामा गाँसिएको छ आभा
किन किन पहरामा टाँसिएको छ शोभा
किन गगन खुलेको देख्छु मन्दाकिनी म
सकल जग शरद्को लठ्ठ छन् रोशनीमा ।४।
झमलम अब होला गाउँ बेँशी धपक्क
शिखरतिर सुसेल्दै शान्ति डुल्छिन् छपक्क
न गरम न चिसोमा ढुक्क हाम्रो तराई
समय बरु शरद्नै श्रेष्ठ लाग्यो मलाई ।५।
टर टर स्वर टर्रो भागुताको हराई
चिरबिर छ चरीको गीत संगीत हाई
हृदय पनि धराको गर्वले खुल्न लाग्यो
मधुमय दिन प्यारो सृष्टिमा डुल्न लाग्यो ।६।
सब समय शरद् होस् भन्न पाउन्न मैले
टप टप सुख टिप्दै गन्न पाउन्न मैले
प्रकृति कृति मिलेको देख्न पाएँ रमाएँ
मन महल शरद्को घाम जस्तो सजाएँ ।७।
कठिन दिन भुलाउन् पर्व आई यसैमा
पर सर सब न्यास्रो मेट्न पाई दशैँमा
झर झर झर पानी पर्न छाडोस् बुझेर
चहक सब शरद्को खुल्न पाओस् रमेर ।८।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक