नासमझ : उमानाथ दाहाल ( लघुकथा)
कपन अनलाइन
काठमाण्डौ, बैशाख २७।
“राम ! राम ! हेर्नु न हजुर शिक्षकमाथि डण्डा प्रहार भयो ।” सिंहदरबार गेट नजिकै बाटोको पश्चिमतर्फ उभिएकी सरिता आत्तिएर बोली ।
अर्कोतर्फ हेर्दै गरेका कुवेरले नजर फर्काए । एकछिन् पछि उनको आवाज सुनियो – “धिक्कार छ !”
“के गरेको होला यसरी गुरुमाथि लाठी बजारेर !” सरिताले क्रोधपूर्ण आवाज निकाली ।
“निसाप दिने व्यक्ति र संस्था निष्पक्ष र स्वार्थ रहित हुन नसक्ता भोग्नु परेको अवस्था ।” कुवेर भीडतिर हेरेरै बोले । उनले अझै थपे – “यस्तै छ यहाँ, बत्ती निभाएर उज्यालोको आश गरिन्छ ।”
सरिताले दिक्क मान्दै आवाज निकाली – “कस्ताको चैँ हात उठ्छ शिक्षकमाथि प्रहार गर्न, अचम्म लाग्छ ।”
टण्टलापुर घाम लागे पनि मन्द हावाको गतिले सितलता प्रदान गरेको थियो । नारा जुलुस आफ्नै गतिमा अगाडि बढ्दै थियो । यता कुवेरले भनें सरिताको अनुहारमा नजर लगाए । उनलाई जवाफ दिन मन लाग्यो र भने – “जसले आफ्नो जीवनमा भएको परिवर्तन र सफलता शिक्षकको कारणले भएको हो भन्ने बुझ्दैन त्यस्ताकै हात उठ्छ नि ।”
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक