उपहार : राजु क्षत्री अपुरो (लघुकथा)

उपहार : राजु क्षत्री अपुरो (लघुकथा)

कपन अनलाइन

काठमाण्डौ, बैशाख २७।

यतिबेला हामी विदेशि कामदारको रुपमा कार्यरत छौँ । कम्पनीमा काम गर्न थालेको बल्ल दुई साता मात्रै बितेको छ । यहाँको वातावरणमा घुलमिल हुने कोशिस गर्दैछौं । बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म हाम्रो ड्युटीको समय हो । ३० मिनेट अगाडि नै गाडि कुर्नु पर्ने आदेश छ हामीलाई । हामी कामदारहरूलाई लिन आउने ड्राइभर एक मिनेट पनि रोकिन मान्दैन । अलिकति ढिलो हुनासाथ आफ्नो तेवर देखाउन शुरु गरिहाल्छ । यसै शिलशिलामा म एकदिन अत्यावश्यक सामान खोज्ने क्रममा दुई मिनेट ढिलो हुन पुग्छु । हत्तपत गाडिमा चढ्दै गर्दा ड्राइभर रिसले मुर्मुरिदै आफ्नो भाषामा गाली गर्न थाल्छ । “आइन्दा ढिलो हुने छैन” भन्दै माफी माग्दै उसलाई विश्वस्त गराउन खोज्छु ।
“पान लिन गएको अझै आइपुगेन त ? आज चाहिँ यसले पनि गाली भेट्ने भयो है ।” भन्दै साथीहरू गाडिबाटै तर्क बितर्क गर्दै थिए । मुखभरी पान कोचेको साथी बाहिर थुक फ्याँक्दै भित्र पस्यो । ड्राइभरले मुसुक्क हाँस्दै गाडि अगाडि बढायो ।
जिज्ञासा भयो र सोधेँ “हिजो दुई मिनेट ढिला हुँदा नराम्रोसँग गाली खाएँ । तिमी त झन् ५ मिनेट ढिला भैसकेका थियौ । यो रिसाहा ड्राइभरले तिमीलाई केही भनेन त ?”
“अस्ति उसलाई एक डब्बा चुरोट ल्याइदिएको थिएँ नि त ।” राता दाँत देखाउँंदै खिस्स हाँसेर जवाफ दियो, उसले ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।