व्यक्तित्व : छायादत्त न्यौपाने ‘बगर’(कथा)
कपन अनलाइन
काठमाण्डौ ,भाद्र २३।
अचेल छोराछोरीसँग गफ गर्न नसकिने भो ! बिहानी डुलाइमा निस्केका विनोदले भने । किन र विनोदजी के प¥यो त्यस्तो ? विवेकले सोधे ।
हेर्नु न प्रविधिले के–के सिकायो के–के ! उनीहरूको हात–हातै संसारका सूचनाहरू । आफूले भने मेलो–मेसो नपाइने ।
हो नि चलाई खेलाई गर्छन् उनीहरू । हामीले जानिंदैन । अष्टावक्रले गर्भमै पुराण सुनेझैं उनीहरू सामाजिक सञ्जाल थाहा पाएर आउँछन् । फेरि प्रविधिबाट अलग राख्न पनि भएन ।
अलिकति हाँस्दै –होरहेछ विवेकजी हिजो साँझ सँगै बाहिर निस्केको बाबा तपाईंले कहाँ के बोल्ने, कति बोल्ने, कसरी अनुशासित रहने ? हेक्का राख्छन् सज्जन मान्छेले भन्नुहुन्छ नि भन्दै सामाजिक सञ्जालको तस्बिर देखायो । तस्बिरमा स्थापित स्रष्टाहरू रहेछन् । एक जना त खुट्टा खापेर बसेका, कोही तस्बिरका लागि अटाई नअटाई कोचिएका ! तस्बिरमा स्वमत पटक्कै नदेखिएको । म त अक्क नबक्क परेँ । सञ्जालमा राख्ने तस्बिरले त अलिकति भए पनि सभ्य भनिने मान्छेको शालीन परिचय दिए हुने नि ! मनमनै बरबरिएँ । छोराले सल्लाह सम्झेको रहेछ भनेर मख्खिन खोजेँ तर सकिनँ ।
तपाईंले ठिक भन्नू भो विनोदजी –हामी सिकाउन मात्र
जान्ने । आफ्नो बोली व्यवहारमा सन्तुलन चाहिन्छ भनेर वास्तै नगर्ने, सिक्ने र सिकेको विषय व्यवहारमा ल्याउनै नखोज्ने
हो भन्या विवेकजी आदरणीय व्यक्तिसँग तस्बिर खिचाउँदा खुट्टा खाप्ने त अझ आफूलाई केकेन हुँ भन्ने स्रष्टा पो रहेछन् । वास्तवमा बिगार्ने त केकेन हुँ भन्नेले नै होरहेछ नि त है ! यसमा पनि शङ्का गर्ने ठाउँ छ र ?
हैन तपाईंलाई अलिक बढी नै खड्केछ, को रहेछन् ती महासय ? विवेकले नाम सोधे । भो नाम नलिऊँ सञ्जालमा देखिहाल्नुहुन्छ नि ! य, अँ, ठिकै हो, तिनैलाई नपच्ला फेरि !
हेर्नु न समाजले चिनेका मान्छे के बोल्छन्, व्यवहार कस्तो गर्छन् सर्वसाधारणले पनि खुब ध्यान दिनेरहेछन् है विवेकजी ! हो नि, सर्वसाधारणलाई चिनिएका मान्छेको व्यवहारले प्रभाव पार्छ, अझ केटाकेटीलाई त झन् गहिरो छाप छोड्छ ।
ठिक भन्नुभो विवेकजी–हाम्रा पूर्वजले मान्छेको लवाइ, खवाइ, हिँडाइ, बोलाइले नै उसको व्यक्तित्व बताइरहेको हुन्छ अन्त खोज्नुपर्दैन, त्यसै भनेका होइन रहेछन् हगि ?
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।