पीडामाझ जीवन जिउन सिकाउने कविता : युवराज शर्मा ( समिक्षा)
कपन अनलाइन
काठमाडौँ, साउन ३१।
हर मानवको जीवनमा अनिवार्य अनुभूति हो प्रेम, जब प्रेम विपरीत पथमा हिँड्छ, अनि मन, मस्तिष्कमा उत्पन्न परिणाम र जीवनमा व्यहोर्नु परेका चोटहरूका बारेमा कवितामा गहन भाव आएको छ ।
कवितामा प्रेमको दार्शनिक चिन्तन, प्रेमको समाजसास्त्रिय स्वरुपका साथसाथै प्रेमका मानवीय मान्यताहरू विभिन्न धारबाट आएका छन् । त्यसैगरी प्रेममा गरिने जीवन समर्पण नयाँ शिराबाट आशा, उत्साह र उमङ्ग उच्च प्रकारले देखाईएको छ । कविता पढ्दै जाँदा लाग्छ, मानव समाजले आजका दिनसम्म माया प्रेमका नाममा भोगेका पीडा कवितामा छन् । र त्यति मात्रै पनि होइन, ती पीडाका जगमा मानव सभ्यता कसरी पटकपटक चोट संघर्ष पीडाका बिच लडिबुडी गर्दै यहाँसम्म आएको छ, कवितामा प्रष्ट छ । त्यसैका आधारमा भन्न सकिन्छ “बेलवासेका कविता जीवन जिउने कविता हुन् ।”
मानव जीवनमा प्रेमको आवश्यकता र सत्यता मिहिन तवरले बुनिएको छ । दुःख कष्ट र पीडामा बाँच्न सिकाउने प्रेमले जीवनको सम्पूर्ण पक्ष बोकेको छ, भन्ने कविताको महत्वपूर्ण पक्ष हो । कवितामा नारीशक्ति भनौं मातृशक्तिमाथि प्रेमका माध्यमबाट ठूलो सम्मान भाव प्रकट गरिएको छ । यसका आधारमा कवि बेलवासे दैनिक जीवनमा सम्पूर्ण जनहरूमा जुन आदर भाव प्रकट गर्छन, त्यो कविको वास्तविक हृदय कवितामा आएको छ ।
यस संग्रहमा रहेका अधिकांश कविताहरू शुरुमा राजमार्गमा कुदेजस्तो, मूलबाटो दौडिएजस्तो, निरन्तर बगेजस्तो लाग्छ । अझ भनौं सुन्दर सपना देखेजस्तो लाग्छ । पढ्दै जाँदा कविताको अन्त्यतिर एक्कासी विपरीत खालको परिवर्तन पाइन्छ । खुशीको शुरुआत अन्त्यमा दुःख छ । पाठकहरू प्रत्येक कवितामा नयाँ अनुभुती सहित अगाडि बढ्छन् । अन्त्यमा कवितामा पाठकले आफूले कल्पना गरेको होइन उपन्यासमा हुने समापन पाउँछन् । यो कविको विशिष्ट क्षमता हो भन्न सकिन्छ ।
प्रेमीकालाई दुःखमा बाच्ने आधार तिम्रो व्यवहार भनिएको छ । दुःखलाई सम्झना र दुःखदायीलाई सम्मान कवितामा प्रशस्तै पाइन्छ । संग्रहमा प्रेम र दुःखका बहुरुपी र बहुमुखी कविताहरू छन् । कवितामा संवाद छ । कवितामा कथा पनि छ । बहुसंख्यक कवितामा प्रेमको पीडा छ, तर पनि कवितामा खुशीको उपस्थिति अत्याधिक छ । अतुलनीय प्रेमीलाई संसारका सबै चिज वस्तु र प्राकृतिक गतिविधिभन्दा निकै माथि राखेर लेखिएको कविता – “तिमी अर्थात् तिमी“ मा कवि यसरी पोखिएका छन् ।
“तिमीसँग वसन्तको तुलना हुनै सक्दैन ।”
एउटी प्रेमीकामा कति धेरै शक्ति हुन्छ । तपाईं कल्पना गर्नोस् । तपाईंको कल्पना कवि बेलवासे मिल्छ मिल्दैन । उनले प्रेमीका भएको शक्तिलाई संसारको सबैभन्दा ठूलो शक्ति मानेर सौन्र्दर्य शक्ति शीर्षकमा यसरी व्यक्त भएका छन् ।
“गुलाफ रातो बन्न
तिमीले चुम्नुपर्छ
जून चहकिलो बन्न
तिमी हाँस्नुपर्छ“ –२८“
संसारमा मायामात्रै पनि छैन । संसारमा पीडामात्रै पनि छैन । संसारमा माया प्रेम भएपछि संसारका सब पीडाहरू फिका फिका लाग्छ । मायाबाटै सुन्दर संसार बन्छ भन्ने सत्यमा कवि अडिग छन् । उनले मायाका कारण ओझेलमा परेका धेरै धेरै पीडा कवितामा पेश गरेको छन् । एउटा कवितामा यसरी पोखिन्छन् ।
“म सम्झन्छु
मायाको तागत कस्तो हुँदोरहेछ
कसरी हार्दा रहेछन् पीडाहरू –३६”
अचानक आउने भूकम्पीय परिवर्तनले खुशीलाई दुःखमा परिणत गर्दा कति धेरै पीडाको सगरमाथा बोकेर हिड्नुपर्छ त्यो पीडकलाई मात्रै थाहा हुन्छ । तर कविले पीडकको पीडामाथी नुन चुक होइन पीडाकोयथार्थता ‘चोटहरूमा’ शीर्षकबाट यसरी साहित्यका पाठकलाई भनेकाछन् ।
“पहिलो नै तिमी हौ
मैले आँखा जुधाएर हाँसेको
तिमी नै त पहिलो हौ
मैले मनमुटुका पत्रपत्र खोलेर बोलेको
यति बेला तिमी नै त पहिलो हौ
चोटहरूमा असह्य दुखेको ! –४१
कविले कवितामा अत्यन्तै विशाल मनले जति नै धेरै चोट सहेपनि हाम्रो मौलिक परम्परा “अतिथि देवो भवः” बाट बिचलित हुनहुँदैन भनेका छन् । त्यसैगरी प्रेम लेख्य कानूनभन्दा पनि माथि हुनपर्छ भन्ने आसय कवितामा छ । एकपटक प्रेममा गरिएको बाँचा र जिन्दगीको आशामा गरिएको मौखिक करारमा एकपक्षीय भङ्ग भएपनि कविले कसैको पीडामाथी हरकदम मलम लगाउन तयार हुनपर्छ भन्ने विचार दिएका छन् । प्रेमका नाममा एकपक्षीय करारिय दायित्व लिन असल प्रेमी तयार हुनपर्छ भन्ने उच्च चेत कवितामा पाइन्छ । तत्कालीन प्रिय तिमीले बाटो परिवर्तन गरेपनि म सदैव तिम्रो विगत सुरक्षीत राखि तिमीसँग छु भनेर यसरी भन्छन् ।
“यात्राको कुनै कुइँनेटोमा पुगेर
थाकेछौ भने
आफूलाई रित्तो भेटिछौ भने
विगतलाई सम्झनू
तिम्रा सम्पूर्णता
मैले
सुरक्षित राखेको हुनेछु ।–५८
प्रेममा भएको अथाह शक्तिमाथि कविता धेरै केन्द्रीत छ । प्रेमबाट विश्व चलाउन, बचाउन र नचाउन सकिन्छ भन्ने जीवनपयोगी सुत्र कवितामा पढ्न सकिन्छ । मनपर्ने मान्छे प्रेमीले जे गरेपनि त्यो न्यायीक लाग्छ । हरेक गतिविधि विशेष र विशिष्ट लाग्छ । प्रेमका नाममा जे हुन्छ राम्रोकै लागि हुन्छ भन्ने सन्देश कवितामा छन् ।प्रेममा आपसमा दिइने जीवनपयोगि उपदेश पनि कवितामा शुत्रबद्ध छन् । कवितामा मानव समाज वर्तमानमा सबैभन्दा धेरै बच्नु र जोगिनु पर्ने अन्य कोहीसँग नभएर मानिससँगै हो भन्छन् कवि । समकालीन समाजमा व्यक्तिगत स्वार्थमा केन्द्रित भई साथी संगीलाई भ¥याङ्ग बनाउने दैनिकी देखेरै होला सायद कविले अर्को एउटा पत्र मा लेखेका छन्
“मान्छेबाट जोगिनुपर्छ
विपत्ति आफैँ हार्छन्”
तिमीले यसो भनेकै दिन
विश्वासको पहिरो देखेको थिएँ
मान्छेमा
सम्बन्धको बाढी देखेको थिएँ– ८१
भनिन्छ प्रेम सिलापत्रमा लेखिएको जस्तो युगौंयुग अमर हुन्छ । प्रेममा गरिएका बाचा बन्धन र गतिविधि पनि युगौंयुग जिवित हुन्छ । ती क्रियाकलापहरू प्रेममा फुल्दै फल्दै गयो भने प्रेम युगौ रच्ने बन्न सक्छ । त्यो नभएर प्रेमका जरामा नुनिलो आँसु परेपछि जीवन दुख्छ, दुखाइ पनि प्राकृतिक नियम सम्झेर कवि खुशी नै छन् । ठाउँठाउँमा भन्छन् दिनरात घामछायाँ भएरै सृष्टि चलेको छ भने हामी किन दुःख मनाउ गर्ने । जीवनमा विगतको प्रेम कविता बनेर यसरी आउँछ ।
तिमीलाई पनि यस्तै लागेको त छैन ?
कुनै पेसेवर हत्याराजस्तो
तिम्रो सम्झनाले
न मलाई मार्न सक्यो
न जीवित रहन दियो
कतै मेरो सम्झनाले पनि
तिमीलाई यसै गरी सताएको त छैन ?
सम्बन्ध भुल्न सजिलै सकिँदो रहेछ
सम्झना टुटाउन मृत्यु नै पर्खनुपर्ने रहेछ
कतै तिमीलाई पनि यस्तै लागेको त छैन ? –८९
कविता अत्यन्तै सुन्दर, पढनीय र उच्चकोटीका छन् । समग्र मानव समाजको दैनिक जीवनलाई केस्रा केस्रा केलाएर लेखिएका कविताहरू प्रशस्तै छन् । माया थियो र पो हसायो । अनि सहजै कवि भन्छन् माया थियो अनि रुवायो । जसरी सूर्यास्त हुन्छ त्यसरी माया अस्ताएपछि त मैले पीडाको अनुभव गर्न सकेको । तिमी छुटेपनि तिमीसँगको स्मृति सदा जिवित छ प्रिय । कविले कवितामा प्रेमीका नामबाट अनेकौं पीडा, एकलयात्रा गर्नु परेपनि कतैपनी धोकेबाज, बेइमानी शब्द प्रयोग गरेका छैनन् । कविताबाट हामी जीवनमा सिक्न सक्छौ कसैप्रति नकारात्मक होइन, वर्तमान परिस्थितिमा सकारात्मक भएर जीउन । कविले आलोचना घृणा तिरस्कार बहिस्कारमा कुदिरहेको समाजलाई कविताका माध्यमबाट अत्यन्तै सुसन्देश दिएका छन् । यो कविताको सबैभन्दा ठूलो उत्सव हो ।
कवितामा हर परिस्थितिमा हरेक मायालुलाई सम्मान गर्दै चोटहरूको साथमा आँफू जिउनुको औचित्य हँसमुखका साथ पेश गरेका छन् । प्राकृतिक नियम अनुसार चलिरहने सुखदुःख दिनरात साँझ बिहान जस्तै प्रिय तिमी फर्क म स्वागत गर्न तयार छु भन्छन् कविताहरू । कविता पढ्दा लाग्छ मानव शरिरमा जति अस्तिपञ्जरहरू छन् कविका कवितामा त्यति नै पीडा छन् । धन्य धानेको छ शरिरले । मनमा एउटा उर्जा आउँछ हर समय माया, प्रेम, आशा, उत्साह र सकारात्कम चिन्तन लियो भने सबै पीडा भुइँमै बस्छन्, उठ्न सक्दैनन् । कविले सायद चोटहरूको उत्सवबाट मानव समाजलाई यसै भन्न खोजेका हुन् ।
कृतिमा ११ वर्ष अगाडि लेखिएको वरिष्ठ कवि तुलसी दिवसको मुख्य मन्तव्य रहेको छ । उनले ठाकुर समकालीन नेपाली कवितामा अब्बल कविका रूपमा प्रस्तुत गरेका छन् । यस्तै, अर्का वरिष्ठ कवि दिनेश अधिकारीले ठाकुरको काव्यकलालाई निकै प्रशंसा गरेका छन् ।
ठाकुरले आफ्नो लेखकीय मन्तव्यमा कविताका केही दाबीसहित ‘चोटहरूको उत्सव’ कविता कृति प्रकाशनको कथा लेखेका छन् । उनले समकालीन कवि छविरमण सिलवालका बारेमा लेखेका कुरा निकै रोचक लाग्छन् ।
सुनकोसी वाङ्मय प्रतिष्ठान काभ्रेपलान्चोकले प्रकाशक गरेको कविता संग्रह चोटहरूको उत्सवमाप्रेमका जम्मा ३८ कविता छन् । जुन कविता मानवीय जीवनका विविध पाटाहरूमा केन्द्रित छन् । कविता पढिसकेपछि मलाई लाग्यो कविले भूमिकामा लेख्न छुटाएका छन् “कसैको जीवनसँग हुबहु मिलेमा कानूनी उपचारका लागि कविलाई दोषी करार गर्न पाइने छैन ।” कविको कविता लेखनको कर्मले निरन्तर सगरमाथा चुमिरहोस् शुभकामना ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
