सपना, चोरी र न्यायको शून्यता : अंशु भट्ट
कपन अनलाइन
काठमाडौँ, साउन ३१।
नटराज – “विनिता, किन यति मौन छ्यौ आज ? तिम्रो आँखामा नखोलिएको कथा लेखिएको छ, जसको हरेक अक्षर पीडाको रगतले लेखिएको जस्तो लाग्छ ।”
विनिता – “कुरा गर्ने मुड छैन, बस यत्ति मात्र ।” (शब्द जति कम थिए, पीडा उति गहिरो थियो, विनिताको अनुहारमा थकानको छाया थियो र मनमा आँधीकै बास।)
नटराज – “तिमी त मलाई साथी ठाँन्छौ मसँग नभने कोसँग भन्छ्यौ तिमी ?”
(मौनता कहिलेकाहीँ घाउभन्दा तीव्र हुँदो रहेछ । नटराजको त्यो खोज खबरले आत्मीयताले बाँधिएको मनको ताला बिस्तारै खुल्न थाल्यो ।)
विनिता – (नजर मिलाउँदै) “तिमीलाई याद छ ? अन्तिमपल्ट हामीले स्कुलमा खाजा कहिले खाएका थियौ ?“
नटराज – “तिम्रो जन्मदिनमा… आधा वर्ष त भइसक्यो होला। तर, किन यस्तो प्रश्न आज ?भोक लागेको हो ? हिँड खाजा खाउँ ।”
(उसले हतारमा खल्ती हेर्छ, खाली हातलाई मुस्कानले ढाक्न खोज्छ ।)
विनिता – (हात टाँर्दै) “होइन, न खाजा हो, न भोक । कुरा त यादको हो नटराज । खाजा त हामीजस्ता गरिबका लागि दशैँ– तिहारजस्तै हो । अनि म त अर्काको घरमा बस्छु, जहाँ खाना मात्र होइन, आँसु र सिँगान समेत घुटेर निल्नु पर्छ । एउटा ग्लास पानी तान्दा पनि चोरीको आरोप लाग्छ, नाबालक बच्चाको मुखको गाँस चोरेको दोष दिइन्छ ।”
(शब्दहरू आँशुमा बग्न थाले । पीडाको सागर नथामिएपछि, वाक्यहरू झिल्काहरू जस्तै छुट्टिँदै झरिरहेका थिए ।)
नटराज – “यो संसार नै एक यस्तो मेला हो विनिता, जहाँ सत्यलाई चिच्याएर बोल्दा पनि, झूटको सांघुरी संगीत बढी गुञ्जिन्छ । तर सम्झ, जसले तिमीलाई आज भाँच्यो, उसले एकदिन आफ्नै मनभित्र कुहिनेछ ।
(मौनताको अर्को पर्दा ओढिन्छ । नटराजको मन पनि विनितासँगै भारी बन्दै जान्छ ।)
नटराज – “तर आज, तिमी किन यति टुटेकी छ्यौ ?
तिमी त शिव जस्ती थियौ – सहनशील, शान्त र आत्मसंयमी ।
मैले कहिल्यै तिमीलाई आफ्नो दुख बाँडेको देखिन ।
आजको यो आँखा किन यति जलिरहेको छ ?”
विनिता – “मेरो ८५५ रुपैयाँ चोरी भयो । अस्ति खुत्रुके फोरेको थिएँ । राती गनेर झोलामा राखेकी थिएँ, बिहान चेन खुल्ला थियो – पैसा गायब । खोज्दा खोज्दै थाके, भेटिन । तर त्यो त पैसा थिएन नटराज – त्यो त मेरा सपनाहरूको संचय थियो ।
खाजा होइन, आत्मबलको प्रतीक । नयाँ जुत्ता होइन, आत्मसम्मानको जगेर्ना । र अब?
(उसको स्वर टुक्रिएको सिसाझैँ बिच्किएको थियो । न्यायका लागि उसको पुकार स्वर्गभन्दा पर पुगेर हराएको थियो।)
नटराज – “मलाई याद छ तिमी खुसी थियौ त्यो पैसा जम्मा भएकोमा । कुनै मन परेको खाजा, नयाँ कपडा – सायद ती सपनाहरू त्यो पैसामा थिई । तर भाग्यमा थिएन भने, त्यसलाई सम्झेर रुने होइन, बिर्सेर बढ्नु पर्छ ।”
विनिता – “पैसा त चोरी भयो, तर पैसासँगै मेरो आत्मसम्मान पनि । मलाई जो माथि चोरीको सङका थियो उसैले मलाई झुटी भनेर आरोप लगाए, स्कुलमा खजामा उँडाएर चोरीको नाटक गरी भन्दै । म न्याय चाहन्छु नटराज । तर भगवान कहाँ छन् र मेरो ८५५ रुपैयाँका लागि ? के साच्चै फुर्सद छ उनलाई मेरोलाई न्याय दिन ?”
(उसको स्वर कापिरहेको छ, आँखा रसाएका छन् ।)
विनिता – “मलाई न्याय तब मिल्छ नटराज – जब चोरले स्वीकार गर्छ कि उसले चोरेको थियो । जब मलाई झुटो चोर भनिएकाले सबैका सामु माफी माग्छ ।
अनि मभित्र गाडिएको पीडाको घाउ सञ्चो होला । नत्र त भगवानको श्राप, चोरको मृत्यु, केहीले पनि म पुनः उठ्न सक्दिन । आत्मा भत्किएको छ नटराज ।”
नटराज – (शब्दको बोझ थेग्न नसकेर मौन भइदिन्छ । विनिताको आँखामा टल्किएको घाउले नटराजको आफ्नै मनलाई टुक्र्याइरहेको थियो ।)
(दुवै चुपचाप स्कुलतिर लाग्छन् । तर त्यो यात्रा केवल स्कुलसम्मको थिएन, त्यो त आत्माको धैर्य र पीडाको संग्रामसम्मको यात्रा थियो । आज विनिताका आँखा रसाएर, न्यायप्रति आस्थाहीन भएर, संसारको झुटभित्र आफूलाई हराइरहेकी थिइन् । उनी अझै खोजिरहेकी थिइन् –त्यो ८५५ रुपियाँको मूल्य होइन, त्यसमा गाडिएको अस्मिताको सम्मान ।)
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
