रीतिरिवाज : स्नेहा अधिकारी (लघुकथा)

रीतिरिवाज : स्नेहा अधिकारी (लघुकथा)

कपन अनलाइन

काठमाडौँ, साउन ३१।

बजारको भिडभाडमा तरकारी किन्न गएकी इशानीले महिलाहरू हरिया वस्त्र, हातमा मेहेन्दी र हरिया चुरा लगाई सिङ्गारिएर हिँडेको देखेपछि अनौठो जिज्ञासा र किनेका तरकारीहरू बोकेर घरको बाटो लागिन् । तरकारी लिएर घर पुग्दा आमालाई पनि हरियो कुर्थामा देख्नासाथ इशानीले सोधिन् “आज केही विशेष दिन हो र, आमा ? धेरै महिलाहरू तपाईंले जसरी नै हरिया वस्त्र लगाएर सिङ्गारिदै मन्दिरमा पूजा गर्दै थिए।”
इशानीको प्रश्न सुन्ने बित्तिकै आमाले भन्नुभयो, “आज श्रावण महिनाको पहिलो सोमबार हो नि । हरियो रङ्ग हरियाली, समृद्धि र आशाको प्रतीक हो । महिलाहरूले शिव भगवानलाई प्रसन्न पारी आशीर्वाद प्राप्त गर्न उहाँको मनपर्ने हरियो रङ्गका वस्त्र धारण गरेर श्रावण महिनाको हरेक सोमबार व्रत बस्ने गर्दछन् ।”
१५ वर्षकी इशानीले यो कुरा थाहा पाउने बित्तिकै केही नबोली आमाको कोठामा गइन् र उत्सुकतापूर्वक हतार हतार आमाको एउटा हरियो कुर्था आफूलाई ठिक नभए पनि लगाएर रमाउँदै बाहिर निस्किन् । उनले खुसी हुँदै आमालाई प्रश्न गरिन् “आमा, म कस्तो देखिएकी छु ?”
आमाले अत्यन्तै खुसी भएर इशानीलाई भन्नुभयो, “इशानी, जानीनजानी भएपनि तिमीले आफूले आफूलाई सांस्कृतिक मान्यता र परम्पराबाट टाढा नबनाएको देख्दा मेरो पहिलो सोमबार झनै विशेष भयो । जति नै आधुनिकीकरण आए पनि आफ्ना संस्कृति परम्परा नभुले है ।”

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।