छद्मी : मनीषकुमार शर्मा ‘समित’ (लघुकथा )
कपन अनलाइन
काठमाण्डौ ,असार १६।
‘नमस्कार ।’
‘आराम हुनुहुन्छ ?’
‘खाना खानु भयो ?’
‘मध्यरात सम्म नसुतेर के गरिराख्नु भएको ?’
‘कति व्यस्तता राख्नु भएको आफूलाई, आफ्नो स्वास्थ्यलाई पनि ध्यान दिनुस
है ।’
यस्तै यस्तै सन्देश उनले मेसेन्जरमा पठाइ रहन्थिन् ।
फेसबुकमार्फत नवमित्र बन्न पुगेकी महिला मित्रको म लगायत मैले चिनेजानेका धेरैजना आपसी मित्र
थिए । मिठास, विनम्रताका सन्देश र फेसबुकमा उनका सुन्दर, सालिन तस्बिरहरूले मेरो उनीप्रति आत्मियता बढ्दो थियो । तर अफसोस ! मेसेन्जरमा लेखनबाट कुराकानी भएपनि प्रत्यक्ष वार्ता भने हुन सकेको थिएन ।
‘हेर्नुस् न मेरो मोबाइलले भिडियो कल सपोर्ट नै गर्दैन । केही दिनमा नयाँ मोबाइल लिने विचार गर्दै छु ।’ मेरा आग्रहको प्रतिउत्तर हुन्थ्यो उनको ।
कार्यालयमा काम गर्दागर्दै मोबाइलको म्यासेजको घण्टीले ध्यानाकृष्ट गर्यो । उनकै सन्देश थियो –
‘आज नयाँ मोबाइल किन्न जाँदैछु । भरे बेलुका आठबजे प्रत्यक्ष दर्शन गरौं न है ? मिल्छ हजुरको समय ?’
हर्षले मन विभोर भयो । तत्कालै जावफ दिएँ – ‘किन नमिल्नु ।’
कार्यालय समय पश्चात बस बिसौनी पुगेँ । निकै समय भयो तर गन्तव्यको बस आइपुगेन । छटपटि हुन थाल्यो । त्यही समय कसैले मेरो कुम थपथपायो । पछाडि फर्कें । परिचित मुहार र शब्द सुनेर मन क्षुब्ध भयो – ‘दाइ जाने हो ? घण्टाको एक हजार, पूरा रातको पाँच हजार ।’
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक