गणतन्त्र आउनु, राजा हट्नु र संविधान बन्नु पुष्पलालकै योगदान हो : ज्ञवाली
कपन अनलाइन
काठमाण्डौ ,असार १६।
पुष्पलाल अध्ययन केन्द्रले पुष्पलाल जन्म शताब्दी समारोह समिति बनाई विविध कार्यक्रम गर्ने भएको छ । अध्ययन केन्द्रले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको जन्म शताब्दीको अवसरमा आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालमा अन्तरक्रिया कार्यक्रम गरी आगामी एक वर्षभित्र गर्ने कार्यक्रमहरु सार्वजनिक गरेको हो । पुष्पलालको जन्मजयन्तीको अवसरमा विभिन्न कम्युनिष्ट नेताहरुले उनको तस्विरमा पुष्प अर्पण गरेका थिए ।
पुष्पलाल वि.सं. १९८१ आसार १५ गते रामेछापको भंगेरीमा जन्मिएका थिए । पुष्पलालको जन्म शताब्दीको अवसरमा स्मृति ग्रन्थ प्रकाशन, वैचारिक योगदानहरुमा विचार गोष्ठी, पुष्पलालको जीवनसँग प्रत्यक्ष रुपले गासिँएर काम गरेका नेता÷कार्यकर्तालाई पुष्पलाल जन्म शताब्दी समारोह र मूल समारोह आगामी ०८१ साल असार १५ गते भव्य रुपमा मनाउने योजना रहेको पुष्पलाल अध्ययन केन्द्रका अध्यक्ष लोककृष्ण भट्टराईले बताए ।
पुष्पलाल अध्ययन समाजका अध्यक्ष भट्टराई अहिले देशमा रहेको गणतन्त्र जनताको हुन नसकेको टिप्पणी गरेका छन् । पुष्पलालको योगदानका कारण अहिले लगभग ७० प्रतिशत मत कम्य्निष्टहरुको पक्षमा रहेको दाबी गर्दै उनले कम्युनिष्टहरुले उनको पथ पछ्याउन नसक्दा आम जनतामा चरम निराशा छाएको बताए ।
नेपालमा अहिले रहेका साना तथाठूला २१ वटा कम्युनिष्ट पार्टीका नेताहरुलाई सल्लाहकार राखेर पुष्पलाल जन्म शताब्दी मनाउने तयारी रहेको उनले बताए । उनले रामेछापलाई कम्युनिष्टहरुको उद्गमस्थलको रूपमा चिनाउन चाहेको उनको बताए ।
उनले रामेछापको पुष्पलाल पार्कमा पाँच जना कम्युनिष्ट पार्टीका संस्थापक र कृष्णलाल अधिकारी र गंगालालको शालिक निर्माणको थालनी भएको भएपनि अपुरो अवस्थामा रहेको बताए । उक्त कार्य अहिले असरल्ल अवस्थामा रहेको र करिब पचास लाखभन्दा बढी भुक्तानी बाँकी नै रहेको उनको भनाई छ ।
‘रामेछापमा पुष्पलाललगायत पाँच जना कम्युनिष्ट पार्टीका संस्थापक र सुब्बा कृष्णलाल अधिकारी र गंगालालको सालिक एकैचोटी पुष्पलाल पार्कमा स्थापना गर्ने भनेको पनि पाँच वर्ष भयो । त्यो सालिक बनाउन दिइएको छ र अहिले असरल्ल अवस्थामा छ । करिब–करिब पचास लाख त्यसलाई भुक्तानी दिनुपर्ने अवस्थामा छ,उनले भने ।
नेकपा (एमाले) का उपाध्यक्ष युवराज ज्ञवालीले नेपालका कम्युनिष्टभित्र एकपक्षीय दृष्टिकोण रहेको बताए । उनले यसलाई गैरमाक्र्सवादी दृष्टिकोणको संज्ञा दिए । ‘गल्ती नगर्ने र गल्ती नसच्याउने मान्छे’ मान्छे नै नहुने उनको भनाई छ ।
उनले पुष्पलालको दृष्टिकोणले ६५ प्रतिशत जनमत कम्युनिष्टहरुको पक्षमा रहेको बताए । गणतन्त्र आउनु, राजा हट्नु, संविधान बन्नु पुष्पलालकै योगदानको उपलब्धी भएको बताए । अहिलेको व्यवस्था माओवादीले बन्दुक पड्काएरमात्रै नआएको उनको भनाई छ । कम्युनिष्ट आन्दोलनले नेपालको राजनीतिमा धेरै परिवर्तन ल्याएपनि गर्न धेरै बाँकी रहेको उनको भनाई छ ।
‘हिजो राजाको शासन थियो, आज जनताको शासन छ । जनताले ल्याएको व्यवस्था हो यो, के माओवादीले बन्दुक पड्काउँदैमा आएको हो र ? लाखौंलाख जनता संलग्न भए । माओवादीको युद्धमा पनि हजारौं संलग्न भए, संयुक्त जनआन्दोलनमा पनि लाखौंलाख संलग्न भए । जनताले लडेर ल्याएको, हजारौं हजार जनताको बलिदानले ल्याएको उपलब्धी हो । तर, गर्न अझैं धेरै बाँकी छ,’– उनले भने ।
पुष्पलालले जनवाद, समाजवाद, साम्यावादसम्मको परिकल्पना भएको उनले बताए । कम्युनिष्ट आन्दोलन अगाडि बढाउनका लागि सहयोग गर्ने जो कोहीलाई पनि आफूहरु सहयोग गर्न तयार रहेको उनको भनाई छ । उनले आरोप प्रत्यारोपको राजनीति छोड्न आवश्यक रहेको बताए ।
पुष्पलालले जहिल्यैपनि संयुक्त मोर्चाको नीति र संयुक्त जनआन्दोलनको नीति अगाडि सारको स्मरण गर्दै उनले कम्युनिष्टहरु एक ठाउँमा जोडिन आवश्यक रहेको बताए ।
‘कम्युनिष्टहरु एक ठाउँमा हुनुपर्छ । सके एउटै पार्टी बनाउनुपर्छ, नभए मोर्चा बनाउनुपर्छ । त्यो पनि नभए कुनै न कुनै मुद्दाका आधारमा हामी जहिल्यैपनि सकारात्मक हुने र नजिक हुने प्रयास गर्नुपर्छ,’– उनले भने ।