मैले पढेको नयाँ किताब “५१ मेरो घर” : कुञ्जल शुभेच्छु लुइटेल
कपन अनलाइन
काठमाण्डौ ,असार १६।
आज मैले नयाँ किताब पढेर त्यसको समीक्षा (रिभ्यु) लेखेको छु । यस किताबका लेखक प्रभा भट्टराई हुनुहुन्छ । उहाँलाई मैले चिनेको छु । उहाँकै गीत कथाको किताब ‘मेरो घर’का बारेमा लेखेको छु । यो रिभ्युलाई सबै जनाले पढेर प्रतिक्रिया दिनुहोला ।
मेरो घर बालगीतको बिताब हो । यस किताबलाई गीत कथा भनिएको छ । यस किताबका लेखक प्रभा भट्टराई हुन् । यो किताब सचित्र गीतको किताब हो । यसमा एउटै गीत रहेको छ । यो गीत म पात्रको घरको विषयमा लेखिएको छ । यो किताबलाई पुरुषोत्तम घिमिरेले सम्पादन गरेका हुन् ।
मेरो घर किताबामा राम्रा राम्रा चित्र रहेका छन् । यी चित्र पल्पसा मानन्धरद्वारा बनाइएको हो । यस किताबको मूल्य दिइएको छैन । यो किताबमा जम्मा सात ओटा पेज रहेका छन् । यस किताबलाई कहिले छापिएको हो भन्ने मिति पनि राखिएको छैन । यस किताबलाई सेभ द चिल्ड्रेन नामको संस्थाले प्रकाशन गरेको हो ।
मेरो घर किताबमा समेटिएको गीतको कथा निकै रमाइलो छ । एउटा पेज पढिसकेपछि अर्को पेज पढौँ पढौँ लाग्छ । त्यसरी पढ्दा निकै रमाइलो हुन्छ । जस्तै ः
मेरो सानो घर छ
छानामाथि खर छ । पृ. १
यस गीतले गाउँको घरको वर्णन गरेको छ । त्यो घर सानो छ । त्यस घरको छानामा खर छ । त्यसमा टिन लगाइएको छैन । त्यस घरमा धेरै झ्याल र ढोकाहरु छन् ।
किताबमा भनेको छ कि त्यस घरका भित्तामा थुप्रै खोपा पनि छन् । त्यस घरमा थुप्रै कोठा छन् । ती कोठमाध्ये एउटा कोठा म पात्रको हो । जस्तैः
मेरो सानो घरमा
कोठा कोठा धेरै छ
यति धेरै कोठामा
यौटा कोठा मेरै छ । पृ. ३
यस गीतमा म पात्रका घरमा टेबल छ । त्यस टेबलमा चार वटा खुट्टा छन् । टेबल राखिएको कोठाको भित्तामा म पात्रले बनाएका बुट्टा छन् ।
किताबमा घरको वर्णन एक जना बालिकाले गरेकी छन् । यहाँ घर हुनुलाई राम्रो भनिएको छ । बाँदरको घर नभएकोले ऊ दुःखी छ भनिएको छ । बाँदर घर देखेर नजिक नजिक आउँछ भनिएको छ । यस पानामा बनाएको बाँदरको चित्र पनि राम्रो र रमाइलो छ । त्यस बाँदरलाई म पात्रले यस्तो सल्लाह दिएकी छन् ः
माया किन गर्दैनौ
भत्काउँछौ जे पनि
जाऊ यौटा घर बनाऊ
खेल्न आउँला म पनि । पृ. ७
मेरो घर किताबमा भूमिका छैन । यस किताबको भित्री पातामा केही कुरा लेखिएको छ । त्यहाँ लेखिएको कुरा यस्तो छ ः
यो गीत कथाको किताब हो । विशेष गरी यो सामग्री बालविकास केन्द्र तथा प्रारम्भिक तहका बालबालिकाहरुले पठन सक्षमताका साथै पठन संस्कृतिको विकास गर्न सहयोग पुग्ने भन्ने उद्देश्यले तयार पारिएको हो । चित्रात्मक शैलीमा प्रस्तुत गरिएको यो सामग्री बालबालिकाहरुले स्वयअध्यनका साथै शिक्षक वर्गले कक्षा कोठामा पठनका विविध क्रियाकलापहरु सञ्चालन गर्नमा पनि प्रयोग गर्न सक्नुहुने छ ।
मेरो घर किताब सजिलो भाषामा लेखिएको छ । यो किताबलाई लयमा गाएर पढ्न सकिन्छ । यो किताब साना कक्षाका भइबहिनीहरुलाई उपयोगी हुने खालको छ । बालबालिकाले आफै पनि पढ्न सक्छन् । यस किताबका सबै शब्दहरु सजिला छन् । पुरै रङ्गीन र त्यत्तिकै राम्रा चित्र भएकाले यो किताब पढौँ पढौँ लाग्ने खालको छ ।
मेरो घर किताबको सन्देश होः सबैको घर हुनुपर्छ । बाँदरले घर बनाउँदैन । अरुको घर पनि भत्काउँछ घर नहुँदा र भएको भत्काउँदा उसले दुःख पाउँछ । आफ्नो घर बनायो भने साथीहरु घरमै खेल्न आउँछन् । त्यसैले घर बनाउनु पर्छ । घरका भित्तालाई बुट्टाले सजाउनुपर्छ ।
किताब छोटो र रमाइलो छ । यति राम्रो किताब लेखेकामा लेखक प्रभा भट्टराईलाई धन्यवाद । यो रमाइलो किताब प्रकाशन गर्ने सेभ द चिल्ड्रेललाई पनि धन्यवाद । लेखकको अर्को पनि किताब छिटै पढ्न पाइयोस् ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।