नेता : भोलानाथ सुबेदी (निबन्ध)
कपन अनलाइन
काठमाण्डौ ,पुस २।
धेरै दिन तालुको रौँ झर्ने गरि सोच्दा पनि आफूलाई चित्तबुझ्दो परिभाषा नमिलेपछि म आफैंले देशको माटो सुहाउँदो परिभाषा पत्ता लगाएँ । जो आँतिदैन त्यो नेता । मैले दिएको यो परिभाषालाई कतिले गाली गर्लान् ,कतिले आलोचना गर्लान, कतिले ओठ लोपार्लान मलाई त्यसमा कुनै टाउको दुखाइ हुने छैन् । बुद्धि भन्दा विवेक नगन्य भएका ज्ञानभन्दा अज्ञान बढी भएका हठी स्वभावका कतै पूर्ण कतै अपूर्ण बनेर लेपसिएका नाटकका पात्र जस्तै हुन् नेता ।
रुचि, गुण, व्यवहार, कार्यशैली हाउभाउ आदि क्षमताले छिपिएको पात्र । दुनियाँले हरिलठ्ठक भनेर चिनेको पात्र।बलियोको भिडमा झन् बलियो, दुब्लोको भिडमा झन् दुब्लो पात्र नेता। नेता जसको पनि हुन्छ । बाँदरको फौज हाक्ने नेता, गधा, खच्चड, भेडा, चराचुरुङ्गीदेखि मौरीसम्म नेताको खटनपटनमा खटिने गर्छन् । सबैको सुरक्षा दस्ता नेता । घरदेखि बजारसम्म जतासुकै भेटिन्छन् नेता । चोर, ठग, भलाद्मी, रोजगारी, बेरोजगारी सबैको हस्ताक्षर पात्र । नेतालाई कतै तालीको हार्दिकता कतै गालीको वर्षा ।
जस अपजसको पोको बोकेर स्वार्थका कनिका खाने पनि नेता । स्वार्थले चिरिएका राजनीति दल । सानो मुलुकमा जम्बो मन्त्रीमण्डल ,छ्यापछ्यापी सुख सुविधा पार्टी अनि असरल्ल नेता । समूह, पार्टी, संस्था यिनैले कोरलेका चिचिभुँडी सबै नेता । नेता हुन सरकारी कार्यालयमा योग्यताको प्रमाणपत्र बुझाए झैं न दरखास्त दर्ज गर्नुपर्छ न प्रमाणपत्र चाहिन्छ । अनेकन बितण्डा मच्काएर मान्छे नेता बन्छ । कोही सबल त कोही दुर्बल । भाग बिलो नपाए आन्दोलन, हड्ताल, चक्काजाम, राँके जुलुसले नेता कोरल्छ । स्तर, ध्यान, त्याग अनुसार टाउको, हात, पाखुरा र ज्यानले एक से एक छन् हाम्रा नेता ।
मुन्द्रेदेखि भकुर्नेसम्म सबै सम्मानको –याल चुहाउँछन् र त आ–आफ्नो समूह खडा गर्छन् । हिलोमा फुल्ने कमल शोभनीय हुने ठानी शहरको फोहोरमा रैथानेदेखि आदिवासीसम्म झुत्ती खेलिरहेछन् गुजाराको लागि । पहराको लहरे फूल भएर रङ्गिनु त ठिकै हो तर पानीको गहिराइ नाप्नु मुर्खता । कतिका गर्धन रेटेका, कतिका पाउ सेकेका, स्वाभिमानको जरालाई अभिमानको बन्चरोले काट्दै साइरन बजाउने, जुल्फे पनि काकताली परेर नेता हुन्छन् समय समयमा ।
नेता जाँच्ने न तुलो न तराजु, न फित्ता न मिटर, गुण, स्वभाव, योग्यता, कार्यशैली, लगनशीलता अपच हुने पात्र हो नेता । गुणभन्दा बढी अवगुण भएको नेताको बढी जगेर्ना गरेका छौँ हामीले । सबै गुणले युक्त नेता पाउन मुस्किल छ आजकाल । नेता गतिलो नहुँदा विकासमा सुस्तता छाएको छ । छाडातन्त्र मौलाएको छ । अधिकार भनेको कानुन चिथोरेर
नुन छर्नु बुझ्ने हामी लाउके कति छौ यहाँ । जेलमा परेकालाई रेल चढाउन नेतालाई तेल लगाउन पुग्नेदेखि जागिर खुवाउन, रकम असुल्न कसैलाई सपार्न कसैलाई बिगार्न नेता नभै हुँदैन हामीलाई । नेतालाई धिकार्ने हामी जनता धिकार्नु हाम्रो विशेषता । आधारबिनाको धार लिएर हठ गर्ने चलन हुन्छ
नेतामा । नेतामा सुन्ने क्षमता प्रवल भएपनि हल्लने क्षमता न्यून हुनुपर्छ । आफ्नो क्षमता बलियो भएपछि पासपोर्ट बेचेपनि ,रक्तचन्दन ओसारे पनि ठगी गरेर बग्गी चढेपनि कसले लछारपाटो लगाउँछ यहाँ । रेटेका, भेटेका, चढाएका, बढाएका, लडाएका, दौडेका, पौडेका जो जताबाट तर मारेर आएका भएपनि उनीहरू विशिष्ट त्यागी भनेर पुकारिन्छन् ।
हामी यिनीहरुको उपासना गर्दै केश पकाउछौँ । धूप बाल्छौ र अर्ध चढाउछौँ । तुलोमा जोखेर माला घुसारी दिन्छौं । बिहेदेखि व्रतबन्धसम्म, न्वारानदेखि किरियासम्म यिनीहरुको पाउले आँगन टेकेर पवित्र पार्ने र तस्बिर खिचेर मुस्काउने चलन चलेको छ आजकाल । नेताको फेटामा घुसेर संसदको टिकट खोस्न तँछाडमछाड गर्छन् कतिले ।इमानदारीता, पारदर्शिता तर पारेर हिलो, लेदो र सिनोमा लम्पट पर्नु र पाताल पस्नु नेताको आदत हो । लबेदा, सुरुवाल, बुख्याँचा बनाएर तानातान गर्दाको मज्जा मात्र नेतालाई थाहा छ । खोर्सानी आँखामा हाल्नेदेखि काउसो जिउमा फाल्नेसम्म, भट्टीमा जनता पोलेर सत्ताको भ–याङ उक्लनेसम्म हाम्रै नेता बनेर सडकमा छारो उडाइरहेछन् ।माइक टेबल भाँच्नेदेखि गाला चड्काउनेसम्मका हर्कत गरि हाम्रो मतलाई लात हानिरहेछन् नेताले ।
देशमा नेता धेरै छन् नेतृत्व छैन । सिद्धान्त सिका लगाएर नेता बन्नु कम रवाफिलो छ र यहाँ । ल्याप्चे, थ्याप्चे, हलन्ते, गडन्ते जो भएनि चौथी परेर नेता भै गौरवको झण्डा हल्लाउँदै खोया बिर्केमा फिर्के लाउने नै नेता । अपुताली परेर, पाटे फुटाएर, जोडिएर, फोडिएर, पोतिएर, चेपिएर, नोटिएर नेता हुनेको लर्को बाक्लो । एक व्यक्ति, एक पार्टी, एक नेता, एक मन्त्री, पार्टीको सबै डाडु पन्यौ आफ्नै हातमा । संसद बहिष्कार गर्ने पनि तिनै अवरुद्ध गर्ने पनि तिनै । हाजिर खातामा हस्ताक्षर गरेर तलब बुझ्ने पनि तिनै । गुणस्तरहीन खाद्यान्न जस्तो । जीवनदेखि हारेको यौटा किर्ते हस्ताक्षर नेता ।
तपाईं कतै नेता बन्ने ध्याउन्नमा त हुनुहुन्न ? हुनुहुन्छ, भने आफ्नो गुण हेरेर मात्र कुर खोज्नु
होला । अपहरण, चोरी, ठगी, बलात्कार हतियार ओसारपसार नगरे नेता हुने सपना नदेख्दै राम्रो । जागिर खान अनुभव, योग्यता, तालिमका प्रमाणपत्र फिँजाए झैँ मान्छे मारेको, कुटेको, लुटेको भष्ट्राचार गरेको धेरथोर योग्यता नभए तपाईं नेता हुने कष्ट नगर्नु होस् । बग्रेल्ती समस्याको बिस्कुन फिँजाएर निश्चिन्त नसुते के को नेता । महँगीले टाउको टेकेर गाँस काट्दै बाँच्नेको बेथा बुझ्ने को ? कुर्सीको बाघचालमा को कसको जालमा कतिखेर जेलिन्छ कसलाई थाहा हुन्छ । बोले पनि नबोले पनि चर्चा नेताको ।
सञ्चारको संसारमा पिङ खेल्दै पृथक स्वभावमा अल्झेर बकबक गर्दो छ नेता । नेतालाई महामारीले सुदूरपश्चिम निख्रे पनि भोकले आँतिए पनि के भो ? तराई डुबे पनि पहाड पैरोले लगे पनि के । समस्या माथि राजनीति स्थायी जड । सरकारी सम्पत्तिमा हुँइकिने सोख । पुङ्माङ बनेर लघारिनु भन्दा नेता बन्नु कहाँ हो कहाँ जिम्मेवारी । विदेशी ऋण नाङ्लोमा निफन्दै समयलाई चाल्नोमा छानेर डोकोमा थिग्राउनेको भीड । यहाँ गान्धी बनेर गोली खाने कोही भेटिदैन । अगाडि पछाडि बन्दुकले घेरिएर शान्तिका परेवा उडाउँदा क्रान्तिको राग सुवासिन्छ ।
–याल काडेर जीवन थोत्रो पार्दै अर्घेलो जीवन बाँच्ने हाम्रो नेता हुनु छैन । मलाई लाग्छ नेता हुनु अस्तित्व बेच्नु हो । कानुनलाई आँ गर्न नदिई अपराधका कृष्ण लिला चलिरहेका हरदम । पृथक हुनु नै नेताको परिचय ।
सबै समान भए के को नेता ।श्रम हामी गर्छौ पसिना खाने अर्को हुन्छ ।निरङ्कुशता ढाल्दा आफ्नो छातीमा रगत पोतेर उभिएको छ सडक । खै शहिदको सपना कसले मिल्कायो रछ्यानमा ।खै द्वन्दको घाउको हिसाब किताब ? माडीको मुटु काटेर पिएको रगतको हिसाब खै ? दोरम्बा को छातीमा हानेको गोलीको मुल्य खै ? सबै व्यर्थ । कुलतमा लतपतिएको युवालाई खै गैती ,कोदालो ,कम्प्युटर खै ? युद्धले खँगारेको मनमा खै शान्तिको शितलता ? अमिलो डकार बाफिलो हरक । भोगटे रोपेर सुन्तलाको स्वाद चाख्न हतारिँदो जनता जनार्दन ।
भोकमा भोक खाएर सडकमा कुङ्लिनेहरु । भरदिन सडक डुलेर जिन्दगी सराप्नेहरु । रोगले आक्रान्त भएर अस्पतालका शैया पर्खिरहेकाहरु । अभाव हरिदिने पेट भरिदिने भोक र रोगको निसाफ गरिदिने ,नेप्टे ,थेप्चे, मुन्दरे ,फुन्द्रे, रछाने, अचाने, ओखरपाङ्ग्रे जस्तो भएपनि नेता खोजिरहेछन् । पाताल पसेर भएपनि स्वर्ग पुगेर भएपनि नेता चाहियो देशलाई । समस्या सल्टाउने ,देश हाँक्ने ,सक्षम ,स्वाभिमानी दूरदर्शी नेता चाहियो देशलाई । देशमा कहिले सत्मार्ग ,सत्ज्ञान छर्ने बुद्ध जन्मने, मण्डेला र गान्धी खोज्ने कहिले ? खुट्टा तानातान गरेर पद नै सबै ठान्ने प्रवृत्ति अन्त्य गरौँ । सबै मिलेर नेता खोज्ने सम्मेलन गरौँ ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक