“डर मार्न जोखिम मोले”

“डर मार्न जोखिम मोले”

एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल चढेको गाडी लुटेको भनेर चर्चामा आएका थिए, बुढानिलकण्ठ हात्तिगौडा का राजु श्रेष्ठ । तर वास्तवमा माओवादीले लुटेको आफ्नो गाडी मात्र फिर्ता लिएका थिए राजुले । त्यत्तिबेलाको पहिलो राजनीतिक दल, त्यसमाथि पनि अध्यक्ष चढेको गाडी फिर्ता लिनु ठुलो हिम्मत गरेका थिए, उनले । अहिले उनी काठमाडौं क्षेत्र नं. ४ लाई कार्यक्षेत्र बनाई राजनीति र समाजसेवामा लागेका छन् । नेपाली कांग्रेसबाट समानुपातिक सभासदमा समेत नाम परेको थियो, उनको । बुढानिलकण्ठ क्षेत्रको विकास र भूकम्पपछि को अवस्थाका बारेमा उनीसँग गरिएको कुराकानीः

Raju_shrestha (2)

राजु श्रेष्ठ
युवा नेता, नेपाली कांग्रेस

 

विनाशकारी भूकम्पपछि काठमाडौं क्षेत्र नं. ४ मा पुर्ननिर्माणको काम कसरी अघि बढिरहेको छ ?

भूकम्प जाने वित्तिकै स्वयमसेवी साथीहरु मिलेर तत्काल उद्धारमा लागेका थियौ । शुरुमा हामी उद्धारमा लाग्यौ र त्यसपछि मानवीय क्षति भएका ठाँउमा पुगेर त्यहाँको बस्तुस्थिती बुझ्यौ, सक्दो आर्थिक सहयोग पनि ग¥यौ । त्यसपछिका दिनमा राहत वितरणमा लाग्यौ । खाद्यान्न, औषधी लगायतका अत्यावश्यक बस्तुहरु क्षेत्र नं. ४ का ग्रामिण क्षेत्रहरुमा बाड्यौं । विपन्न वर्गका परिवारहरुलाई त्रिपालहरु बाडेर बस्ने व्यवस्था पनि गरिदिएका छौं ।राहत वितरणका काम पछि हामी जोखिममा रहेका घरहरु भत्कायौं, भत्काउने क्रममा पुनः प्रयोग हुन सक्ने सामाग्रीहरुलाई छुट्टाएर त्यसैलाई पुनः प्रयोग गर्ने र नपुग सामाग्री किनेर पुर्ननिर्माणमा लागेका छौं । काठमाडौंकै कौडोलमा पुर्ननिर्माण गर्ने क्रममा छौं, अहिले । त्यस क्षेत्रमा नौ वटा घरहरु पुर्ननिर्माण गरिरहेका छौ । पुर्ननिर्माणको क्रममा पनि हामीले के कुरामा ध्यान पु¥याएका छौं भने, तत्कालका लागि बस्ने व्यवस्था त छदैछ, बनाइसकेपछि लामो समयसम्मको लागि होस भनेर डेमोक्रेटिक इन्जिनियर एसोसिएशनसँग समन्वय गरेर पक्कि घर निर्माणमा लागेका छौं ।
तत्काललाई जीवन निर्वाहका लागि चाहिन आधारभुत आवश्यकताहरु ब्ल्याङकेट, सिल्पिङ व्याग, टेन्ट, पालहरुको व्यवस्था गरेका छौं । युथ फर न्यु नेपाल नामको संस्थाले टेन्ट उपलब्ध गराएको छ, रेडक्रस सोसाइटीले जस्तापाताहरु सहयोग गरेको छ ।

यस क्षेत्रमा क्षति कति भएको छ, स्थलगत अवलोकनको क्रममा के पाउनुभयो, तपाईंले ?

यस क्षेत्रको सापाटार र कौडोल क्षेत्रमा ५९ घर पूर्ण रुपमा क्षतिग्रस्त भएका छन् । चुनिखेलको गाम्चा, टुपेक र टुसालका एक गाँउ बराबर एक सय तीस घर होलान्, ती सबै क्षेत्रमा रहेका पुराना घरहरु पूर्ण रुपमा भत्केका छन् । धर्मपुर भन्ने गाँउमा नयाँ घरहरु बाहेक अरु पूर्ण रुपमा क्षति भएका छन् । मानवीय क्षतिको हिसाबले धर्मपुर र वासिकुमा धेरै क्षति भएको छ । वासिकुमा पनि पुराना घरहरु सबै क्षति छ । राजधानीको नजिक भएर पनि कौडोल, टुसाल, टुपेक, गाम्चा, वासिकु, समथली, सानोगाँउ, धनगाँउ जस्ता गाँउहरुमा धेरै क्षति भएका छन् ।

भूकम्पका कारण पुर्ननिर्माण गर्नुपर्ने अवस्था त आएको छ, त्यसलाई अवसरको रुपमा कसरी प्रयोग गर्न सकिन्छ ?
पक्कै पनि हो, बुढानिलकण्ठ क्षेत्रमा धेरै कुराहरु छन् । धार्मिक महत्वका हिसावले  वुढानिलकण्ठमा नारायणको मूर्तिको विशेष महत्व छ, टोखा र चपली क्षेत्रमा ऐतिहासिक तथा पुरातात्विक महत्वका धेरै सम्पदाहरु छन् । राजधानीबाट नजिक रहेको निकुन्ज शिवपुरी राष्ट्रिय निकुन्ज हो, त्यस्तै स्वास्थ्य क्षेत्रमा यही क्षेत्रमा धेरै अस्पतालहरु रहेका छन् ।
पहिलो कुरा विपत्तिबाट पार पाउनुप¥यो, सहज जीवन निर्वाह हुनप¥यो, त्यसपछि पुर्ननिर्माणको कुरा हुन्छ, राजनीति ठिक हुनप¥यो, राजनीति ठिक भयो भने यो अवसरलाई सदुपयोग गर्न सकिन्छ नत्र यो अवसर गुम्न पनि सक्छ । त्यसैले जीवन सहज भएपछि त्यसलाई उपयोग गर्दै पुर्ननिर्माणको काममा अघि बढ्न सकिन्छ । पुर्ननिर्माणसँगै यो क्षेत्रको पर्यटन विकास गर्नु अति आवश्यक छ ।

तपाईं पनि यही क्षेत्रको समाजसेवी भएको नाताले तपाईको भूमिका के ?

मैले बुढानिलकण्ठ क्षेत्र विकास समितिमा सदस्य सचिव भएर धेरै लामो समय विताए, यहाँका ऐतिहासिक, धार्मिक र पुरातात्विक महत्वका बारेमा जानकार छु । यो क्षेत्रमा तीन वटा पर्यटनको सम्भावना छ, धार्मिक, प्राकृतिक र खेलकुद पर्यटनको सम्भावना बुढानिलकण्ठ क्षेत्रमा रहेको म पाँउछु ।
यो क्षेत्रमा धेरै सार्वजनिक जग्गाहरु भएकोले यस क्षेत्रलाई खेलकुद पर्यटनको रुपमा पनि अघि बढाउनुपर्दछ । हामीसँग अहिले ९५ रोपनीको जग्गामा क्रिकेट स्टेडियम बन्दैछ, त्यससँगसँगै अन्तर्राष्ट्रिय स्तरको बास्केटबल स्टेडियम पनि बन्दैछ । खेल मैदानको कमी छ । खेलकुद मन्त्रालयले करिब सात सय रोपनी जग्गामा खेल मैदान बनाउने कार्यक्रम अघि बढाउदै छ ।

यो क्षेत्रको मुख्य समस्या के हो ?
हाम्रो यो क्षेत्रमो मुख्य समस्या भनेको बाटोको हो, राजधानीसँग जोडिने मुख्य बाटो एउटा मात्र छ । बाटो विस्तार अहिलेको लागि अनिवार्य हो, घर भत्काउने काम न्योचित रुपमा गरेर बाटो विस्तार गर्नुपर्छ । धोवीखोला  कोरिडोर विस्तार हुनुपर्दछ । यो बाटो विस्तार भयो भने राजधानीसँग जोडिने अर्को बाटो हुन्छ, ट्राफिक समस्या हल हुन्छ । तीन किलोमिटर सडक बाटो मात्र विस्तार हुँदा धोवीखोला  कोरिडोरले राजधानीलाई जोड्न सक्छ । पासीकोट क्षेत्रको विकासका लागि पनि यो कोरिडोर बन्नु अति आवश्यक छ ।

यो क्षेत्रलाइ अहिले नगरपालिका बनाइएको छ, के नगरपालिका हुनलाई पूर्वाधार पुगेको छ त ?

अहिले भूकम्पबाट पीडित भएको काठमाडौंको यो ग्रामिण क्षेत्रहरुमा हेर्ने हो भने नगरपालिका हो कि के हो आफै स्पष्ट हुन्छ । नगरपालिका घोषणा हुदैमा यो विकास हुन्छ भन्ने सोच्नु हुन्न, विकास गर्नका लागि योजनाहरु बनाउन प¥यो, धोवीखोला  कोरिडोर विस्तार हुन प¥यो, न बसकेको बस्तीलाई व्यवस्थित रुपमा बसाउनु प¥यो । यो क्षेत्रमा चाँहीने आवश्यक सबै कुरा छ तर सोच नभएको कारणले पछि परेको हो । योजना बनाएपनि कार्यान्वयन गदैनौं ।

यो क्षेत्रको विकासको लागि के गर्नुपर्दछ ?
राजनीतिक परिवर्तनसँगै विकास हुने रहेनछ, धेरै मानिसहरु परिवर्तन भइसकेका छन् यो क्षेत्र जहाँको त्यही छ, विकासका लागि योजना ल्याउनुप¥यो, योजनालाई कार्यान्वय गर्न प¥यो । धार्मिक, खेलकुद र प्राकृतिक पर्यटनको लागि सोच बनाएर कामहरु गर्दै जाने हो भने सजिलै विकास हुन सक्दछ । विकास गाँउको लागि चाहिएको हो, ग्रामिण क्षेत्रलाई लक्षित गरेर कार्यक्रमहरु ल्याउनु पर्दछ ।

अब राजनीतिको कुरा गरौं, राष्ट्रिय सरकारको बहस चलिरहेको छ, तपाई कांग्रेसका युवा नेताको हैसियतमा के धारणा छ ?

हामीलाई अहिले दुई वटा कुराको आवश्यकता छ, पहिलो विपत्तिबाट पार पाउनु छ भने अर्को संविधान चाहिएको छ देशलाई । विपत्तिको समयमा सबै जना एक हुँदो रहेछौं भन्ने त थाहा भयो । हाम्रो जुन सामाजिक संरचना छ, छिमेकमा दुःख पर्दा सहयोग गर्न जान्छौ हामी, त्यही भावनाले गर्दा अहिलेको विपत्तिमा पनि सबै नेपालीहरु एक भएका छौं ।
लामो समयसम्म राजनीतिक दलहरु एक हुन नसक्दा दुई दुई चोटी संविधानसभाको निर्वाचन हुन गयो । विपत्तिबाट माथी उठ्नको लागि राष्ट्रिय सहमति आवश्यक छ भने संविधान बन्न त झन अपरिहार्य नै छ । हाम्रो देशमा राजनीतिक संस्कार विकास नभइसकेको कारण यो खिचातानी भएको हो । संविधानसभामा पक्ष र विपक्ष हुनुहुदैन, राजनीतिक स्वार्थका कारण दलहरु माथि उठ्न नसक्नु नै विडम्वना हो । तर अहिलेको आवश्यकता भनेको दलगत स्वार्थ त्यागेर राष्ट्रिय सहमतिको सरकार बन्नुपर्छ, त्यो सरकार कुनै मन्त्री र कुर्सीको लागि भन्दा पनि जनताले चाहेको संविधान र अहिलेका विपत्तिबाट पार पाउनका लागि बन्नुपर्छ ।

नेतृत्वको बारेमा चाँही के छ, धारणा ?

राष्ट्रिय सरकारको आवश्यकता छ, राजनीतिक दलका नेताहरुले कत्तिको सुझबुझ हुन्छ, त्यसबाट थाहा हुन्छ साच्चिकै राष्ट्रिय सरकार बन्छ कि बन्दैन । नेतृत्व गौण कुरा हो, अहिले पहिलो पार्टी कांग्रेसको नेतत्वमा सरकार छ, भोली पनि त्यसैलाई निरन्तरता दिदै राष्ट्रिय सरकार बन्छ कि के हुन्छ ? होइन यो सरकार राष्ट्रिय सरकार हुन सक्दैन भनेर अर्को नेतृत्व खोजी होला । तर नेपाली कांग्रेसको ध्यान पहिला पनि संविधान निर्माण नै थियो अहिले पनि ।

राजनीतिमा तपाईलाई चित्त नबुझेको कुरा केही छ कि ?

राहतमा पनि राजनीति भइरहेको छ, विपत्तिको बेला एक जुट भइसकेको जनतालाई फेरी राजनीतिक दलहरुले पार्टीको नाममा विभाजन गरिरहेका छन् । पार्टीको झण्डा लिएर उद्धार, राहत र पुर्ननिर्माणमा खटिएका छन् । भूकम्प पार्टी छुट्टाएर आउने पनि होइन, अहिले राष्ट्र एक भएको बेला सबै राजनीतिक दलहरु एकै ठाँउमा बसेर छलफल गरेर सबैलाई एउटै झण्डामुनि एकबद्ध गरी राष्ट्रिय झण्डा बोकाई खटाउनुपर्ने थियो तर त्यो हुन सकेन । दलको झण्डा भन्दा राष्ट्रिय झण्डा बोकर मेची देखि महाकालीसम्म खटिएको भए त्यसले एकताको सन्देश पनि जान्थ्यो ।

एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालसँग तपाईले आफ्नो गाडी फिर्ता ल्याउनुभयो, त्यस बेलाको खास बास्तविकता के थियो ?
त्यतिखेर प्रचण्डको गाडी राजुले खोसेर ल्यायो भन्ने चर्चा भयो तर त्यसो होइन मैले मेरो गाडी नै फिर्ता ल्याएको हो । गाडीमात्र होइन सुनचाँदीहरु पनि लग्नुभएको छ त्यो चाँही फिर्ता दिनुभएको छैन ।
त्यसवेला गणेश स्कुल, हात्तिगौडामा माओवादी कार्यकर्ताहरुले जवरजस्ती मेरो गाडी लगेका हुन् । सयौंका संख्याका माओवादी कार्यकर्ता हतियार बोकेर घरमा नै गाडी लिएर आए । म पुजामा थिए, त्यही बेला मलाई कुटपिट गर्नुका साथै घरमा रहेको गरगहनाहरु सबै लुटेर लगे । त्यसपछि मलाई नै उनीहरुले लगेर चरम यातना दिए । नङ निकाल्ने, मुखमा पिसाब फेरिदिने जस्ता चरम यातनाहरु त्यसबेला मलाई दिइएको थियो । त्यही बेला गाडी पनि लगेका थिए । पछि मात्र मैले टेलिभिजनहरुमा हेरेर मेरो गाडी त माओवादीका अध्यक्ष पुष्पकमल दाहाल पो चढ्ने रहेछन् भन्ने थाहा पाए ।

Raju_shrestha (1)

कसरी फिर्ता ल्याउनुभयो त ?
तत्कालिन अवस्थामा एकीकृत नेकपा माओवादी पहिलो पार्टी थियो, त्यो पार्टीका अध्यक्ष नै त्यही गाडी चढेर हिडेको देखेर म छक्क परे, शान्तिप्रक्रियामा आएपछि सबै कुरा मान्छु भनेर आएको मान्छे जनताको गाडी लुटेर चडिराखेको देख्दा उनीहरुको नियत, शुरु देखि नै ठिक रहिन्छ भन्ने बुझे । धेरै पहल गरे गाडी फिर्ता गर्न तर कतैबाट केही नभएपछि म आफै तम्सिएको हु ।
एक दिन बागबजारमा गाडी छ भन्ने थाहा पाएपछि अर्को साँचो पनि थियो, साँचो लिएर साथीभाईहरु सहित गाडी लिन गए । त्यहाँ ठुलै हंगामा भएपछि धेरै बेरको हातापाई पछि मैले गाडी लिन सफल भए ।
जनताको मनमा डर पैदा गरेर त्यही डरलाई उपभोग गर्दै लुट्ने काम गर्दै आइरहेको थियो माओवादी । मलाई पनि त्यही डर देखाएका थिए तर मैले त्यो डरलाई डर नमानी ज्यान नै जोखिममा राखेर संघर्ष गरेको हुँ । मनोबल गिरेका नेपालीहरुको मनोबल उच्च पार्न मैले जोखिम मोलेको थिए ।

भिडियो केहि बेरमा अपलोड हुदैछ :

तपाइँको प्रतिक्रिया ।