‘देशको माटो बोल्दैछ’– उपन्यासलाई सुम्सुम्याउँदा : रामसागर अधिकारी (समालोचना)

‘देशको माटो बोल्दैछ’– उपन्यासलाई सुम्सुम्याउँदा : रामसागर अधिकारी (समालोचना)

कपन अनलाइन

काठमाण्डौ ,असार १८।

आमागायत्रीदेवीपौडेल र बाबु पदमप्रसाद पौडेलका जेष्ठ पुत्ररत्नको रूपमा साहित्यकार शंकरप्रसाद पौडेलज्यूको जन्मवि.सं. २०१८ साल पुस १६ गते सिन्धुपाल्चोक जिल्लाको सेलाङ्ग–९, हालको जुगलगा.पा. वडा नं.– १ धारापानीमा भएको हो । जीवन भोगाइको अनेकौं आरोह अवरोहहरू पार गर्नु भएकापौडेलज्यू हाल काठमाण्डौंको कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ५ थलीमा सपरिवार स्थाई बसोवास गरी साहित्य सिर्जना र समाज सेवामा समय खर्चिरहनु भएको छ ।
‘फलामे साँघुलाई खोलाले बगायो’ (गीतिकाव्य–२०३९) ‘माटो किन रून्छ ?’ (गीत संग्रह–२०४४) ‘साहसिक पाइलाहरू’ (सामाजिक यथार्थवादी उपन्यास–२०६१) र ‘देशको माटो बोल्दैछ’ (देशभक्तिभावपूर्ण उपन्यास–२०७६) समेत चारवटा कृति प्रकाशित गरेर आफ्नो साहित्यिक परिचय स्थापित गरिसकेका पौडेलज्यूका अन्यकाव्य–कृतिहरू प्रकाशोन्मुख रहेका छन् । कविता, गीत, उपन्यास जस्ता बहु–विधामा कलम चलाउने पौडेलज्यू सादाजीवन र उच्चविचारको आदर्शवादी, सहयोगी एवं मृदु–भाषी हुनुहुन्छ ।
साहित्य सिर्जना गर्नु आफैमागहनएवं गौरवको कर्म हो, व्यक्तिगत स्वार्थ र संकीर्णता भन्दा माथि उठेर गरिने पवित्र एवं अद्वितीय काम हो । अचेल मान्छेले सत्र ठाउँबाट चोरेका शब्द, वाक्य एवं भाव गिजोलेर पाश्चात्य प्रवृतिका यौनजन्यउपन्यास लेख्ने, ठूलावडा भनाउँदा सँग भूमिका, शुमकामना लेखाउने, स्रष्टाको खर्चमा तर ठूलै प्रकाशनबाट प्रकाशित गर्ने र ठूलो ठाउँमा बढी तामझामले विमोचन गर्ने, ठेकेदार, व्यापारी वा प्रशंशक मार्फत समीक्षा गराउने, समालोचना लेखाउने गर्छन् तर शंकर पौडेलज्यूले त्यसो नगरेर काठमाण्डौंको कृतिलाई विराटनगरमा ल्याएर वि.सं. २०७६ साल साउन ३२ गते परोपकार संस्थामा सामान्य रूपले विमोचन गराएर यस कृतिको बारेमा बोल्ने र लेख्ने अथवा समीक्षा र समालोचना गर्ने जिम्मा समेत पूर्वकै स्रष्टा/द्रष्टालाई दिनुभयो । संयोगवस यस कृतिको भूमिका लेख्ने र विमोचनमा समीक्षा गर्ने अवसर मलाई नै मिलेको हुँदा समालोचना लेख्ने जाँगर चलेर आयो ।
समालोचना लेख्नु निष्पक्षताको र विषय विज्ञताको एकैबेर उजागर हुनु हो तर समालोचकले समालोचकीय धर्म पालना गर्नै पर्ने हुँदा मैले यस उपन्यासको संरचनागत समालोचना लेख्ने जमर्को गरें– जो बैज्ञानिक एवं व्यावहारिक हुने गर्छ, पाठक, सर्जक र सिकारू समेतलाई ऊर्जा मिल्ने गर्छ । विधागत मापदण्डको लेखाजोखा अथवा सीमा विग्रन पाउँदैन र मिश्रणवाद जस्तो हैंजाले फैलने मौका आउँदैन । जसरी प्रत्येक खेलको नियमअलग–अलग हुन्छ त्यसरी नै साहित्यिक विधाको पनि मापदण्ड वा सीमा फरक–फरक हुन्छ । त्यही विषयबस्तुलाई पद्यमा लेख्दा खण्डकाव्य वा महाकाव्य
भनिन्छ भने गध्यमा लेख्दा कथा अथवा उपन्यास भनिन्छ । केवल अनुप्रास मिलाउँदैमा कविता, गीत, गजल वा भजन बन्दैन ।
गजरकोट खरानीटार टोल सुधार समिति (थली) ले वि.सं. २०७६ साल असारमा ५०० प्रति प्रकाशित गरेको ‘देशको माटो बोल्दैछ’ भन्ने उपन्यास र उपन्यासकारको बारेमा, बिजय केट्टेल, सामसागर अधिकारी, निर्मल थापा, राघव प्रसाद घिमिरे, हरिकृष्ण रिजाल, रमेश रोक्का लगायत इश्वरकृष्ण घिमिरेले दुईचार शब्द लेख्नु भएको छ । आवरण पृष्ठ बाहेक जम्मा ६४ पृष्ठ रहेको यस पुस्तकका ४४ पृष्ठमा उपन्यास रचिएको छ भने यस पुस्तकसँग सम्बन्धितअन्यविषय–बस्तुले २० पृष्ठ ओगटेको देखिन्छ । पुस्तकको भौतिक साजसज्जा सन्तोषजनक छ भने मुल्य रू.२०० राखिएको छ ।
भाषा फरक–फरक भएपनि साहित्य एउटै हो भन्ने कुरामा भ्रम पाल्नु हुँदैन । साहित्यका अनेकौं विधामध्ये कथा विधालाई सबैभन्दा पहिलो (पुरानो) मानिन्छ । कथाहरू लेख्य रूपमा आइपुग्नु अगावै मौखिक रूपमा भन्ने/सुन्ने परिपाटिको विकास भएको थियो । यो पंतिकारले पनि लेख्य रूपमा पढ्न नपाइएका धेरै कथाहरू गाउँ समाजका बृद्धबृद्धाका मुखबाट सुनेको छ । बहु पात्रएवं ठूलो परिवेश र भाव सन्देश भएको लामो कथा नै–उपन्यास हो ।

उपन्यासले पनिकथाकै शैली एवं ढाँचा पक्रिएको हुन्छ । उपन्यास विधाले विश्व साहित्यमा आफ्नो अस्तित्व स्थापित गरिसकेको छ । उपन्यास (नोबेल) सँग जोडिएर नै विश्वको ठूलो पुरस्कार –नोवेल पुरस्कारको स्थापना भएको हो भन्दा अत्युक्ति हुँदैन । उपन्यासमा भएका विषयबस्तुलाई कलाकारले अभिनय गरेर विद्युतीय माध्यमबाट कम्प्यूटराइज गरेर पर्धामा पु¥याउँदा अथवा साहित्यको पाठ्य रूपलाई दृष्य रूपमा बदल्दा सिनेमा (फिल्म) बन्ने गर्छ ।

कथा, उपन्यास खण्डकाव्य, महाकाव्य, नाटक इत्यादीको दृष्य स्वरूप नै सिनेमा हो । साहित्यिकबादहरूको प्रयोग प्रायःकथा र उपन्यासमा गर्ने गरिएको देखिन्छ । यसको मतलब अन्य विधामा वाद प्रयोग हुदैन भन्ने होइन ।
जम्मा १४ भागमा रचित यस उपन्यासमा लिम्पियाधुरा नाम गरेको निर्जीव पकृति–बस्तुलाई सजीव र प्रधानपात्रको रूपमा खडा गरिएको छ । जसको अगुवाइमा चौधै अञ्चलमा प्राकृतिक साधान स्रोतको सुरक्षा, सदुपयोग एवं परिचालन समिति गठन गरिएको छ । उक्त समितिको सहयोगका लागि एक जिल्लामा एक जनाका दरले ७७ जिल्लामा ७७ वटै सहयोगी सदस्यहरू नियुक्त गरिएको छ ।

यसरी छायाँ–समिति मार्फत प्राकृतिक साधन स्रोतको सदुपयोग, साँध सीमानाको रेखदेख, स्वतन्त्रता, स्वाधीनता, अखण्डता, भाषा साहित्य संस्कृतिको सम्बर्धन   , शान्ति सुरक्षा, संघीयता, एकता र अग्रगमन जस्ता गहन विषयबस्तुमा गम्भीर रूपले ध्यानदिंदै युग सुहाउँदो किसिमले आमूल परिवर्तनको पक्षमा एकतावद्ध हुन तमाम नेपालीलाई उत्प्रेरित गर्नु गराउनु यस उपन्यासको उदेश्य रहेको देखिन्छ ।
प्रकृतिले सोह्र श्रृंगार सिंगारेको यो धनी देशका गरीव जनताको दयनीय एवं कष्टकर जीवन भोगाइको पीडा देखेर, पूर्वमा टिष्टादेखि पश्चिममा काँङ्गडासम्मका हाम्रा अनमोल प्राकृतिक साधन स्रोतहरूले परपीडाबाट आक्रान्तभएर चित्तदुखाई–दुखाई रोइरहेको ठम्याएपछि तिनै आशुसँगै उपन्यासकार भित्र राष्ट्रभक्तिको–भाव जागरूक भएर छताछुल्ल भएको देखिन्छ । कागजि परिवर्तनलाई व्यावहारिक परिवर्तनमा र भावनालाई यथार्थमा परिणत गर्नका लागि हाम्रा अनमोल प्राकृतिक साधन स्रोतहरूको सदुपयोग गर्नु पर्ने, संस्कृतिलाई खार निखार गरेर विकृति हटाउनु पर्ने, देशको श्रमशक्तिलाई स्वदेशी उत्पादनमा लगाउनु पर्ने, मातृत्व, भातृत्व र बन्धुत्वको भाव बढाउनु पर्ने अनि रूढिवादी एवं यथास्थितिवादी सोच र संस्कारलाई त्यागेर वैज्ञानिक जीवन पद्धतिमा आउनु पर्ने आजको आवश्यकता हो भन्ने उपन्यासको सन्देश रहेको छ ।
काल्पनिक साहित्य, व्याख्यात्मक धर्म र राजनीतिक व्यापार, गाउँ समाज र देशकै लागि घातक सिद्ध भैसकेको हुँदा यस्ता विकृतिएवं स्वार्थ र संकीर्णतालाई त्यागेर, यथार्थ साहित्य, प्रयोगात्मक धर्म र जनसेवामूखी राजनीतिको पक्षधर बनेर मानवले मानवलाई विभेद रहित तरिकाले पूण रूपमा मानवीय व्यावहार गर्दै ‘सम्बृद्ध नेपाल र सुखी नेपाली’भन्ने अवधारणा भित्र एकाकार हुन आग्रहगर्दै तमाम नेपालीमा देशभक्तिको–भावजगाउने सत्प्रयास गर्नुभएको छ ।

अब धर्मसंकट तिर लाग्दा
१. देशलाई आमा र प्राकृतिक साधनस्रोतलाई श्रीसम्पतिको रूपमा स्वीकार्न आग्रहगर्दै वीर रसलाई प्रधान बनाएर लेखिएको यो उपन्यास नेपालमा मात्र नभएर विश्वमा छरिएर रहेका तमाम नेपालीको मनमस्तिष्कमा देशभक्तिको–भावजगाउन सक्ने क्षमता भएको अब्बलदर्जाको उपन्यास हो भनेर सहजै स्वीकार्न सकिन्छ ।
२. सरल कोमल एवं प्राञ्ज्वल शब्द, सुवोध्य वाक्य र युगबोध्य भावले सुसज्जित पार्दै सरलताभित्र जटिलता राखेर लेखिएको यो उपन्यास, सामाजिक यथार्थवादको आवरण भित्र प्रगतिवादको ढुकढुकी रहेको हुँदा सुनमा सुगन्धै सरह भएको छ, पठनीय मात्र नभएर संग्रहणीय समेत रहेको छ ।
३.उपन्यासकारको मौलिकताको प्रचुरता रहेको, कलापक्षको मिलान भन्दा भावपक्षको उडान तीब्र भएको, देशभक्ति– भावपूर्ण उपन्यास हो भन्नूपर्छ ।
४.सम्पन्नताको दम्भ, बौद्धिकताको घमण्ड, चोरीको दुर्गन्ध, आत्माआलाप, पाश्चात्यप्रवृत्ति जस्ता विकृतिलाई प्रश्रय दिइएको छैन, यो उज्यालो पक्ष हो ।
५. प्राकृतिक साधनस्रोतको भरपुर सदुपयोग गरेर आर्थिक क्रान्ति सफलपार्दै आत्मनिर्भर भएर स्वाभीमानी जीवन जीउन आव्हान गरिएको जनहितोपयोगी उपन्यास हो भन्न सकिन्छ ।
६. सवलता, सफलता र सम्पन्नताका लागि वर्तमानसम्म अपनाइएका विधि प्रविधि भन्दा माथि उठेर उच्च सतर्कताका साथ प्राकृतिक साधनस्रोतको भरपुर सदुपयोग गर्नका लागि फरक संयन्त्रको कल्पना गरी उपन्यासमा छायाँ समिति गठन गरिएको हुँदा यो उपन्यासमा सुक्ष्म रूपमा छाँयावादले समेत उपस्थिति जनाएको पाइन्छ तर यो कोरा कल्पनानभई सम्भव र सत्यको नजिक रहेकोले उपन्यासकारको उच्च कोटीको बौद्धिकता र दुरदर्शीता समेत झल्किएको छ ।
७. कतै प्रथम पुरूष शैली त कतै द्वितियपुरूष शैली र कतै नाटकीय शैलीएवं परिवेश रहेको यस उपन्यासको भाग–५ मा रहेका १८ श्लोक गीति कविता र भाग–६ मा दोहोरी गीतको रूपमा रहेका २४ श्लोक गीति कवितालाई मध्य–नजर गर्दा, नेपालीपन र देशभक्ति भाव घटिरहेको अवस्थामा उपन्यासकार शंकर प्रसाद पौडेलज्यूले नेपालीपन, नेपालीमन र देशभक्तिभावपूर्ण उपन्यास पाठक समक्ष पस्किएर आफूलाई राष्ट्रवादी एवं प्रगतिवादी धारमा उभ्याएर धन्यवादको पात्र हुनुभएको छ ।
ड. समय सापेक्ष आमूल परिवर्तन, गरीबी उन्मूलन, शोषण, दमन र सबै खाले विभेदको अन्त्यगर्दै आफ्नो मौलिकता सहितको आत्मनिर्भरता तर्फ उपन्यासले जोड दिएको हुँदा उपन्यासकार पौडेलज्यूमा उच्चकोटीको देशभक्ति–भाव झल्किएको देखिन्छ ।
९. उपन्यासको भौतिक पाटो र बोद्धिक पाटोमाखोट लाउने ठाउँ छैन तर सुद्धासुद्धीमा कसरत पुगेको छैन भने शीर्षक सार्थक लाग्दछ ।
१०.विषयबस्तु र भाव सन्देश नघटाइकन कला पक्षमा मात्र परिमार्जन गरेर स्तरीय एवं प्रभावकारी नाटक हुनसक्ने विषयबस्तु र परिवेशलाई उपन्यासमा ढालिएको हुँदाझट्ट विचार गर्दा, कण्ठ बनाउनपुग्ने सुनबाट नौगेडी बनाइए जस्तो भान हुन्छ ।

त्यसतर्फ उपन्यासकारको ध्यानजान जरूरी देखिन्छ । अथवा यो उपन्यासलाई छोटो मीठो एवं प्रभावकारी नाटक बनाउन सकिने प्रवल सम्भावना रहेको देखिन्छ ।
११. व्यक्तिगत स्वार्थ र संकीर्णता भन्दा माथि उठेर गाउँ समाज र देशको समस्या औंल्याएर समाधानको बाटो समेत देखाइएको हुँदा यस उपन्यासको भावभूमी एवं उपन्यासकारको चिन्तन समेत सङ्लो, सग्लो र अग्लो एवं अनुकरणीय रहेको पाइन्छ ।
१२. उपन्यासमा पृथ्वी नारायण शाहको जस्तो एकता र अपनत्वको चिन्तन, गोपालप्रसाद रिमालको जस्तो जुझारूपन, महाकवि लक्ष्मीप्रसाद देवकोटाको जस्तो मानवतावाद अनि युगकवि सिद्धिचरण श्रेष्ठको जस्तो प्रकृति–मोह सल्बलाएको हुँदा यो उपन्यासमा उपन्यासकारलाई लेखकीय सफलता प्राप्त भएको मान्नु पर्छ ।
१३. अन्त्यमा, साहित्यकार शंकर प्रसाद पौडेलज्यूको सुस्वास्थ,दिर्घायू उत्तरोत्तर प्रगतिएवं निरन्तर साहित्यिक लेखनको शुभकामना दिँदै, अझै स्तरीय काव्यकृतिको अपेक्षा राख्दै यो समालोचनालाई यहीँ बिट मार्छू । जय जननी ! जय जन्मभूमी !

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।