११ औं सिटिजन्स बैंक टेनिसमा प्रदीप र सक्षमको विजयी सुरुआत

११ औं सिटिजन्स बैंक टेनिसमा प्रदीप र सक्षमको विजयी सुरुआत

कपन अनलाइन

काठमाण्डौ, बैशाख १५।

प्रदीप खड्का र सक्षमविक्रम शाहले ११ औं सिटिजन्स बैंक टेनिस प्रतियोगिताको पुरुष सिंगल्समा आइतबार विजयी सुरुआत गरेका छन् ।
भद्रकालीस्थित आर्मी टेनिस कोर्टमा प्रदीपले देव आशिष रेउलेलाई ६–० र ६–० तथा सक्षमले साश्वत वज्राचार्यलाई ६–१ र ६–१ को सोझो सेटमा पराजित गरे । सोही स्पर्धाको अन्य खेलमा सोमज श्रेष्ठ, निश्चल कायश्थ, राजवीर प्रधान, निसान श्रेष्ठ, सर्वेश खनाल (वाक ओभर), अभिनय अछामी, निहालजंगबहादुर थापा, बोरिस अधिकारी, दावा सोनम शेर्पा र प्रीतम परियार (वाक ओभर) ले सफलता पाए ।
सिटिजन्स बैंकको मुख्य प्रायोजन तथा काठमाडौं जिल्ला टेनिस संघको आयोजनामा भएको प्रतियोगिताको मिक्स डबल्समा श्रेया भट्टराई र श्रृजन भट्टराई (वाक ओभर) तथा स्वस्तिका विष्ट र राजवीर प्रधानको जोडीले जित हात पारे । भेट्रान ३५ वर्षमाथि पुरुष सिंगल्समा समिर गुरुङ र मोलिस नकर्मीको जोडी विजयी भए ।
दुई स्थानमा भइरहेको प्रतियोगिताअन्तर्गत त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को टेनिस कोर्टमा सिजर गुरुङ (वाक ओभर), म्यात ब्रोस्सार्ड, मनीष श्रेष्ठ, अमित गुरुङ (वाक ओभर) र मेगेन्द्रप्रकाश गिरीले ४५ वर्षमाथि पुरुष सिंगल्समा जित हात पारे । ५५ वर्षमाथि पुरुष सिंगल्समा बाबुकृष्ण कार्की, प्रवीण वैद्य, प्रदीप शाह र राजु राईले दोश्रो चरणको यात्रा तय गरे । ४५ वर्षमाथि पुरुष डबल्समा हेमचन्द्र गुरुङ र लाक्पा शेर्पा, विपिन श्रेष्ठ र धर्म शाही        (वाकओभर), रोहित सुनुवार र इब्राहिम मुस्लिम, कमलबहादुर भण्डारी र सुमित मैनाली तथा निरेश श्रेष्ठ र गोपाल मानन्धर विजयी भए ।
प्रतियोगिताको सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले उद्घाटन गर्दै आगामी संस्करणदेखि प्रायोजन रकम बढाएर १५ लाख पु¥याउने प्रतिबद्धता जनाए । हाल प्रायोजन रकम १२ लाख ५० हजार रुपैयाँ रहेको छ ।
प्रतियोगितामा १ सय ७७ खेलाडीले विभिन्न ११ स्पर्धामा प्रतिस्पर्धा गरिरहेका छन् । सबै स्पर्धामा नगद पुरस्कार राखिएको प्रतियोगिताको कुल पुरस्कार राशी ५ लाख ८२ हजार ५ सय रुपैयाँ रहेको छ । प्रतियोगिता शनिबारसम्म चल्नेछ ।

तपाइँको प्रतिक्रिया ।