भयङ्कर सुख : डा. गोबिन्दशरण उपाध्याय

भयङ्कर सुख : डा. गोबिन्दशरण उपाध्याय

कपन अनलाइन

काठमाण्डौ ,असार ११ ।

हामी एक्काइसौं शताब्दिका सभ्य मान्छे हौँ । सूचना तथा यातायातले विश्वलाई एकआपसमा जोडेको छ संसारको जुनसुकै राम्रो नराम्रो खबर एउटा क्लिकमा विश्वभरी पुग्छ । विश्वको औषत आयु बढेर ७३.५ वर्ष भएको छ ।

आजभन्दा ५० वर्ष अगाडिको नेपाली पुस्ता नेपालको पुरानो पुस्तामा जन्मियो । यो पुस्ताले तीब्रतर परिवर्तन भएको यान्त्रिक विश्व र कविला युगिन प्राकृतिक विश्वसँग साक्षात्कार गर्न पाएको छ । त्यसैले आजको ५० प्रौढ आधा आधुनिकतावादी र आधा पुरातनवादी छ ।

रसिया र युक्रेनको युद्धका विषयमा सुनिरहेका ८९ वर्षीय हजुरबाले भन्नुभयो ‘तिम्रो टेलिभिजन, रेडियो र इन्टरनेटले कहाँकहाँ लडिरहेको कुरा छिनछिनमा सुनाउँछ । हाम्रो बेलामा पनि मान्छे लड्थे तर समाचार आउन महिनौं लाग्यो । हामी आफ्नो काम गरिरहेका हुन्थौँ । हामी खुसी थियौं । अहिले हरेक पल मर्नबाट मान्छेलाई डर लाग्छ । विश्वका जुनसुकै नराम्रो घटनालाई टेलिभिजनले देखाई हाल्छ । यो सबै हेर्दा र सुन्दा १०० वर्ष बाच्छु भन्ने रहर पनि मरेर जान्छ । रेडियो– टेलिभिजनले घरघरमा मान्छे मार्छ ।’

‘ठूलाठूला बम बनाएर मान्छे मार्ने उद्योग चलाउँछन् भन्छन्, पहिला पहिलाका लडाईमा खुकुरीले काटेर एकएक गरि मान्छे मर्थे आज यो नाति, तँ, तेरी बूढी, यो गाउँमशहर कुनै पनि सुरक्षित छैन । कुरा विकासको गर्छन्, काम चाहिं विनाशको गर्छन् । यस्तो डरलाग्दो सुख हाम्रो जमानामा थिएन । ‘इन्टरनेटको विकास राम्रो हो, टेलिभिजनको विकास पनि ज्यादै असल छ तर खानेकुराहरू विदेशबाट ल्याएर देश चल्दैन । मान्छे खान नपाए मर्छ । तिमीहरूले आफै खेतीपाती गर्न छोडेर सामूहिक आत्महत्याको बाटो रोजेका छौँ ।

चामल बेच्ने देशले चामल बेचेन भने के गर्छौं ? ‘अहिलेको पुस्ता अल्छी र सौकिन छ, त्यसैले सुखैसुखले भरिएको डरलाग्दो आत्मघाती विकासमा उभिएको छ । सबैथोक अर्काको हातमा भएपनि भात र भातको थाल आफैसँग हुनुपर्छ । ‘कुरा बुझ्यौं तर बुझ्ने छैनौं किनभने तिम्रो आँखामा सुविधा र सुखको पर्दा लागेको छ । यो नाति सबैभन्दा असुरक्षित छ किनभने यो अल्छी, अर्काको भरमा पर्ने र सुखका लागि मरिमेट्ने पुस्ताको अंग बन्ने छ । मलाई नाति पुस्ताको माया लागिरहेको छ ।’

तर्क गर्नका लागि म सँग धेरै ठूला तर्क होलान् तर ती तर्कले हाम्राभविष्यका पुस्ताको अस्तित्वलाई सुरक्षित गर्ने कुनै ग्यारेन्टी दिँदैनन् । बारुद र मान्छेको महत्वाकांक्षाले छियाछिया भएको विश्व कुन बखत पड्किन्छ ? कसैसँग जवाफ छैन । सत्य त यहीहो कि हामी सबै ‘भयंकर सुखको विस्फोटक थुप्रोमा उभिएका छौँ ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।