रोबोट : प्रतिज्ञा प्रतिज्ञा (लघुकथा)

रोबोट : प्रतिज्ञा प्रतिज्ञा (लघुकथा)

कपन अनलाइन

काठमाण्डौ, बैशाख १३।

“किन ढिला आएको !” शिक्षकले रिसाउदै सोधे ।
प्रजोलले आँफू डराउँदै ढिला आउनुको कारण बतायो । त्यसपछि उसलाई कक्षा कोठामा बस्न अनुमति दिनुभयो । एकछिनमा शिक्षकले कम्प्युटरमा केही देखाउनु भयो ।
“यो के हो सर ?” प्रजोलले उत्सुकता हुँदै सोध्यो ।
“यो रोबोट हो ।” शिक्षकले फोटो ठूलो बनाउँदै देखाउनु भयो ।
“यसले के गर्छ ?” प्रजोलले नजिकै गएर हेर्यो ।
“मान्छेले जस्तै हरेक काम गर्न सक्छ नि !” शिक्षकले भन्नुभयो ।
“यसले खाना पनि खान्छ ?” उसले जिज्ञासा राख्यो ।
“धत् लाटा रोबोटलाई पनि भोक लाग्छ त ?” शिक्षकले हाँस्दै भन्नुभयो ।
“हामी रोबोट बन्न मिल्दैन सर ?” उसले फेरि जिज्ञासा राख्यो ।
“किन र बाबु ?” यो सुनेपछि शिक्षकले आश्चर्य हुँदै सोध्नुभयो ।
उसले गहभरी आँसु बनाउँदै भन्यो –
“बाबा पनि बिरामी हुनुहुन्छ अब कसले खाना जुटाउँछ ?”

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।