मिहिनेत र सीपले उज्यालिएको कृतिः ‘बन्धनबाट मुक्ति’ :कपिल अज्ञात (पुस्तक समिक्षा)

मिहिनेत र सीपले उज्यालिएको कृतिः ‘बन्धनबाट मुक्ति’ :कपिल अज्ञात (पुस्तक समिक्षा)

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ २८।

अध्ययन र अनुभव नै सिर्जनाका मूल आधार हुन् । ज्ञानको क्षितिज फराकिलो तुल्याउन अध्ययन त गर्नुपर्छ नै । तर पाए र भेटेसम्मका कृति पढ्न सकिँदैन । उमेर, अवस्थाअनुसार निरन्तर अध्ययन गर्न स्वास्थ्यले पनि साथ दिँदैन । त्यसमाथि अहिले दृष्टि पनि धमिलो हुन थालेर त्यसले पठनमा कष्ट र पीडा दिने गर्छ । मन भए पनि अध्ययनमा अनवरत डुब्न नसकिने बुढेसकालको नियति रहेछ ।

समय छोटो छ, शास्त्र अनेक छन् त्यस्तै विघ्न, बाधा पनि बहुल छन् तसर्थ सारतत्व ग्रहण गर्दै अघि बढ्नुपर्छ भन्ने शास्त्रीय नीति अपनाउनु पर्ने अवस्था हुन्छ । अचेल आधुनिक प्रविधिको उपयोगले साहित्यिक प्रकाशनमा पनि तीब्रता आएको छ । बजारमा सयकडौँ पुस्तक भित्रिएका छन्, पाठकका सामु पुस्तकै–पुस्तकका चाङ खडा छन् । एकप्रकारले साहित्यिक सिर्जना पनि जङ्गलझैँ छ ।

तिनमा सुगन्धित पूmलको महक प्राप्त गर्न निकै झाडी छिचोल्नु पर्ने हुन्छ । सबैका सबै कृति पढेर मर्म बुझ्न कसैलाई पनि संभव छैन । तसर्थ चाङहरूमा चुनेर र छानेर अधिक मूल्य र महत्वका कृति पहिल्याउनु पर्ने चुनौती छ । कुनमा अधिक ऊर्जा छ, कुनमा अधिक ज्ञानका मूल्यवान कुरा निहित छन्, कुन पढ्दा रसानुभूतिका साथै लाभको पनि अनुभव हुन्छ । कुन कृति आप्mनो बौद्धिकस्तर सुहाउँदो छ त्यस्तो कृतिरत्न पढ्न पाउनु पनि सौभाग्यको कुरा हुन्छ, जुन प्रतिनिधिमूलक र मानक पनि छ । त्यस्तै कृतिको खोजी गर्नुपर्छ र त्यस्तो कृति हात लागोस् भन्ने कामना पनि छ ।

सभा–गोष्ठीमा साहित्यिक मित्रहरूसँग सम्पर्कमा रहँदा उपहारस्वरूप पनि कृतिहरू हात लाग्छन् तर ती सबै पढ्न सकिएको हुँदैन । कुनै राम्रो कृति पढेर प्रतिक्रिया पनि जनाऊँ भन्ने लाग्छ, सबैमा त्यो संभव पनि रहन्न । कुनै कृतिमा एकदुई पाठ हेर्दा कुनै रसलाग्दा वा चाखलाग्दा सन्दर्भ आएनन् भने त्यस्ता कृतिलाई त्यत्तिकै थन्क्याइदिनु राम्रो होलाजस्तो लाग्छ, जुन विधामा आफ्नो विशेष रुचि र समीक्षाचेतको पनि सामथ्र्य र सीप छ त्यस्तै कृतिको खोजी गर्नु मनासिब लाग्छ । कृति पढेपछि ज्ञान देओस्, आनन्द देओस्, अनुभव समृद्ध पारोस् कुनै तत्व हासिल नहुने कृति पढ्नुको प्रयोजन छैन । अचेल मेरो ध्यान निबन्ध, आत्मकथा वा संस्मरणतर्फ आकृष्ट हुन थालेको छ ।

यस्तैमा रुकु कार्कीको बन्धनबाट मुक्ति (२०७३) एकजना समालोचक मित्रमार्फत पढेर फिर्ता गर्ने शर्तमा हात परेको छ । अहिले यही कृतिमा रुचिपूर्वक प्रवेश गर्दैछु ।
समालोचना वा समीक्षा रसास्वादनको परिणाम मात्र नभई मिहिनेतको पनि काम हो । एक त साझा प्रकाशनबाट प्रकाशित भएको कृति, त्यसमाथि नेपाली समालोचना क्षेत्रका सर्वोच्च शिखरपुरुष वासुदेव त्रिपाठीको भूमिकाले कृति निकै गहकिलो हुनुपर्छ भन्ने सङ्केत दिन्छ । हुन पनि कृतिभित्र प्रवेश गर्दै जाँदा पारिवारिक यथार्थतामा कल्पनाको कुनै अतिरञ्जित चित्रण छैन र भावुकताको अतिशय विस्तार पनि छैन । सरलतामा सौन्दर्यको शृङ्गार प्रस्तुत गर्दै औपन्यासिक पाश्र्वछायामा सुन्दर सूक्तिहरूसहित आत्मकथाका सुन्दर नमुना प्रस्तुत गरिएको देखिन्छ।

रोचकतामा कमी नआवोस्, प्रभावकारिताको अभाव नखट्कियोस् भनेरै होला बीचबीचमा सन्दर्भप्रसङ्ग मिलाएर गीत, कविता आदिको पनि समावेश गरिएको छ । ती गीत, कविताको आदिले पनि संस्मरणलाई बढी संवेद्य, सम्प्रेष्य र मार्मिक तुल्याएका छन् ।
नारीजीवनको यथार्थतासँग सम्बद्ध कृति हो – बन्धनबाट मुक्ति (२०७३) ।

यो रुकु कार्कीका यथार्थ अनुभव र अनुभूतिहरूसँग सम्बन्धित छ । बन्धन धेरै प्रकारका हुन्छन् – पारिवारिक, सामाजिक, सांस्कृतिक, वैवाहिक आदि तर यी सबै प्रेम, सद्भाव र खुसीले आवश्यकताअनुसार अपनाइएका बन्धन हुन् जुन रुचिकर र प्रियकर हुन्छन् । कुनै कष्ट वा पीडादायक बन्धन पनि हुन्छन्, जसले जीवनको हाँसो र खुसी छिन्छन् ती नकारात्मक प्रकृतिका बन्धन हुन् ।

बन्धनबाट मुक्ति भन्नाले कुनै जेलजीवन वा दण्डविधानबाट भोगिएका कष्ट वा यातनाबाट मुक्ति भन्ने पनि अर्थ हुन्छ तर यसको अर्थ यो नभएर नेपाली नारीले ग्रामीण जीवनको संयुक्त परिवारमा रही रीतिरिवाज वा परम्परागत मूल्य र मान्यताका संस्कारगत बन्धन, विवाहित महिलाका सर्वत्र समस्याका बन्धन, आफ्नै मनको दाम्लोमा बाँधिएका पीडादायक अनुभूतिहरूको बन्धनबाट मुक्त हुन नसकेको र सङ्घर्ष गर्दागर्दै मुक्त हुन पुगेको अवस्थालाई लक्ष्यित गरिएको हो ।

रुकु गीत, कविता र आख्यानसमेतकी लेखिका भएकाले ती सबै विधाको सघन प्रभाव यस कृतिमा परेको पाइन्छ । तत्कालीन समाज, जातपात र छुवाछुतले गाँजिएको समाज थियो ।

यो रुकुले आफ्नै नारीजीवनमा भोगेको यथार्थ हो । यसलाई उनले सत्य–निष्ठाका साथ सजीव रूपमा चित्रण गरेकी छन् । यसबाट नारीकष्ट र पीडाको यथार्थता बुझ्न मात्र होइन ग्रामीण समाजको रहनसहन, सोच र संस्कार बुझ्नका निम्ति पनि यो कृति निकै पठनीय रहेको छ । समाजशास्त्रीय अध्ययनका निम्ति पनि उपयुक्त हो भन्ने देखिन्छ ।
यसमा चित्रित पारिवारिक यथार्थ सङ्क्रमणकालीन समाजको यथार्थ चित्र हो । यो उहिलेको कुरा पनि होइन रुकुले आफ्नै जीवनमा आजभन्दा तीस–चालीस वर्षअघिदेखि देखे–भोगेको बेहोरा हो । बालविवाह र अनमेल विवाहको जुन चित्र रुकुको संयुक्त परिवारभित्र देखिन्छ त्यो केही कल्पनाजस्तो पनि भान हुन्छ । पढ्दै जाँदा त्यो आधुनिक चेतनाको घाम बेलैमा त्यो परिवारभित्र किन नभित्रिएको होला भनेर उदेक पनि लाग्दछ । त्यो नारी उत्पीडनको मार्मिक चित्र कल्पना नभई आफ्नै संयुक्त परिवारभित्रको कटु यथार्थ हो ।

रुकुले जेजस्तो संस्मरण वा आत्मकथा प्रस्तुत गरेकी छन् त्यसैका निम्ति उनको जुनी कुलकै निम्ति मात्र नभई समस्त नारी जातिकै निम्ति गौरव र प्रेरणाको प्रतीक पात्र हुन पुगेकी छन् ।
यो मूल रूपमा आत्मकथात्मक कृति भए पनि कुनैकुनै संस्मरणमा नैबन्धिक भावनाको अधिक विस्तार छ, जस्तै: आमा को हुन्मा संस्मरणभन्दा निबन्धकै रूप अधिक देखिन्छ । कृतिको अन्तिम संस्मरण जीवन के रहेछ ? पूरै निबन्ध बन्न पुगेको छ । त्यस्तै अन्तिमतिरका अधिकांश संस्मरणमा निबन्धकै मात्रा अधिक भेटिन्छ ।

नियात्रा, संस्मरण वा निबन्धमा तीनैका मूलतत्व अन्तर्गुम्फित भएर आएका देखिन्छन् । उपविधागत मूलतत्वमैं निबद्ध भएर लेख्ने प्रवृत्ति छैन । रचनालाई कसरी विस्तृत, रोचक र मर्मस्पर्शी तुल्याऊँ भन्ने हेतुले रचिएका अधिकांश रचना यस्तै प्रकृतिका देखिन्छन् । मूलतत्वमै निवद्ध भएर रचनाको पूर्ण आयाम दिन निकै कठिन र चुनौतीपूर्ण पनि छ ।

यी निबन्ध, संस्मरण वा आत्मकथा जे भनेर लेखे पनि जीवनकै घटित विवरण हुन् । विवरण कोरा रूपमा छन् कि सुन्दर अनुभूतिले भिजेका छन्, सीपमा केकति निखार छ यी समीक्षाका हेर्नुपर्ने आधार छन् । यस दृष्टिले रुकुका संस्मरणात्मक निबन्ध विवरण भैकन पनि विवरणभन्दा माथि उठेका मधुर र मार्मिक भावनात्मक ऊर्जाले भिजेका जीवन अनुभवका महत्वपूर्ण स्रोत हुन् ।
पितृसत्ताको पुरातनवादी संस्कारमा बुहार्तन बेहोर्न परेकी रुकु कार्कीका मध्यम वर्गीय जीवनको यथार्थतालाई जीवन्त रूपमा चित्रण गरिएको यो अहिलेको समयभन्दा चार–पाँच दशकअघिको समय हो ।

तत्कालीन यथार्थलाई यति मिहिन रूपमा सर्वसम्प्रेष्य हुने गरी चित्रण गरिएको कृति कमै देख्न सकिन्छ । यसमा अपाm्नै जीवन अनुभवबाट खारिएका सूक्तिहरू पनि प्रशस्त छन् तिनको उल्लेख गर्दा लेखले लामो आकार लिने भएकाले यहाँ तिनको सङ्केतसम्म गरिएको छ । तत्कालीन नारीको भोगाइलाई सामान्यीकरण गर्नु यस कृतिको ठूलो विशेषता हो ।
संस्मरण लेखिकामा नैबन्धिक ब्याख्याचेत मात्र होइन समीक्षाचेत पनि तीव्र छ ।

कतिपय सन्दर्भ–प्रसङ्गमा उनका व्याख्यानहरूले नैबन्धिक कथ्यलाई सुन्दर गति दिएका छन् । उनका विचार र विश्लेषण पनि सटीक र सार्थक देखिन्छन् । उनले संस्मरणमा नैबन्धिक प्रवृत्ति समावेश गराए पनि पुरापुर निबन्धकै रूप दिनसक्ने वा विचारोत्तेजक लेखको रूप दिनसक्ने सीपसामथ्र्य पनि उनमा सशक्त रहको देख्न सकिन्छ ।

आफैलाई ढाँटेर र छलेर बनावटी बेहोरा वा आडम्बरयुक्त भावना र वैचारिक आग्रहको तानाबुना बुनेको पनि देखिँदैन । पाठकलाई विश्वासमा लिएर आफ्ना बाह्य र आन्तरिक यथार्थलाई स्पष्ट र खुलस्त रूपमा प्रस्तुत गरेकी छन् रुकुले । संस्मरणमा पारिवेशिक चित्रण पनि छ । पात्रहरू सबै पारिवारिक छन्, ती गतिशील पनि छन् ।

संस्मरण पढ्दा–पढ्दै उपन्यास पढेजस्तो सबै नैबन्धिक लेखहरू आख्यानमा आबद्ध भएझैँ देखिन्छन् । प्रारम्भमा पात्रहरूका जेजस्ता सोच र व्यवहार छन् अन्तमा ती सबै परिवर्तित स्वभावमा देखिएकाले संस्मरणात्मक रूपमा कृतिको स्तर उकासिन गएको पाइन्छ । यसमा संस्मरणको प्रमुख पात्र भनेकै स्वयं लेखिका हुन् जो बढी समय बुहारीको रूपमा छिन् ।

तत्कालीन ग्रामीण समाजका बुहारीहरूले के–कस्तो दुःख, कष्ट बेहोर्नुपथ्र्यो ती सबै इतिवृत्त यसमा समेटिएको छ । आजका बुहारीहरूले त विगतका बुहारीहरूको दशा बुझ्न यो कृति पढ्नै पर्ने देखिन्छ । आफ्नै जीवनलाई ऐनाझैँ तुल्याइएको यो सकल आत्मकथाको कृति हो । जीवनको कुनै पाटो वा पक्ष आत्मकथामा छुटेको देखिन्न । आत्मकथाकारले आफ्नो जीवनमा योजना र सङ्घर्ष गर्दागर्दै सामान्य तहबाट विशेष तहमा पुग्न धैर्य, संयम, साहस र दृष्टि एवं बुद्धि–विवेकको कम भूमिका हुन्न ।

आफ्नै विगत हेरी परीक्षण र मूल्याङ्कन गर्दा सफलताको अनुभव गर्नु स्वाभाविकै हो । शुरुशुरुका भन्दा अन्ततिरका आत्मकथात्मक निबन्धहरू अझै कलात्मक र कारुणिक बन्दै गएका देखिन्छन् । आपूm र आफ्नो परिवारलाई समग्र रूपमा उठाउनु एक नारीको कम तागत र हिम्मतको कुरा होइन । रचनात्मक स्तरमै पनि परिपक्वता देखापर्छ । आफ्ना अनुभव र अनुभूतिलाई निर्भीकतापूर्वक राख्न आँट गर्ने रुकुका यी विशिष्ट सिर्जन क्षमताप्रति सराहना नगरी रहन सकिन्न ।
सारमा भन्दा ग्रामीण परिवेशको तत्कालीन मध्यम वर्गीय समाजको यथार्थ, ग्रामीण संस्कार, नारीजाति, दुःख–कष्ट, सहनशीलता, उत्पीडन र सङ्घर्ष, तिनले अनेक रूपमा भोग्नु परेका विघ्न–बाधा र समस्या, संयुक्त परिवारभित्रका पीडा, ग्रामीण जीवनका कष्टकर स्थिति, लेखिकाका निजी भोगाइहरू तिनै सारा यथार्थलाई समन्वित गर्दै विविध पक्षलाई समेत समाहित गरी वर्णन गरिएको बन्धनबाट मुक्ति साहित्यिक कोणबाट मात्र होइन समाजशास्त्रीय कोणबाट पनि निकै पठनीय र मननीय कृति रहेको पाइन्छ ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।