मेजरको भोटे कुकुर : रञ्जु खनाल (लघुकथा)

मेजरको भोटे कुकुर : रञ्जु खनाल (लघुकथा)

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ २८।

लामो समयको जागिरे अवकाश पाएपछि मेजर हरिबहादुर अझै चुस्त र स्फूर्त थिए ।उनी बिहानै उठेर दौडने गर्थे ।खानपानमा पनि निकै ध्यान दिने गर्थे ।कडा स्वभाव र घरमा त्यति नबस्ने हुँदा श्रीमतीसँगको सम्बन्ध त्यति सुमधुर बन्नसकेको थिएन । जागिरको सिलसिलसामा सधैँ बाहिरको बसाईँ हुनाले श्रीमतीको भावना यिनी बुझ्दैनथे । श्रीमती पनि स–साना कुराहरूमा सधै  झर्काेफर्काे गर्दै रिसाउने गर्थिन् ।
समयले नेटो काट्दै गर्दा बूढ्यौलीको कायापलट हुँदासम्म पनि उनीहरूको सम्बन्ध राम्रो हुन सकेन । सगैँ बस्दा पनि सधैँ ठाक–ठुक परिहन्थ्यो।

त्यसैले मेजर बुढा प्रायः एक्लै बस्थे भने मेजरनी बुढी पनि भान्छाको काममा सधैँ व्यस्त हुने गर्थिन् ।एकदिन मेजर बुढाले भोटे कुकुर किनेर ल्याए ।उनी त्यो भोटे कुकुरलाई आफूसगैँ मर्निङवाकमा घुमाउन लान्थे । घरमा फर्किँदा डोर्याउदै  ल्याउँथे । आफूले जे खायो त्यही खुवाउँथे ।

प्रायः खुवाउने काम मेजरनी बुढीको हुन्थ्यो । भोटे कुकुरलाई भनेर मेजरबुढाले मर्निङवाकबाट फरकिँदा मासु ल्याउने गर्थे । यो देखेर बुढी रिसले चूर हुन्थिन् र फतफताउँदै भन्थिन् –’ यो बुढाको कहिल्यै बुद्धि आएन, आफ्नी स्वास्नीलाई खुवाउन चाँहि कहिल्यै मासु ल्याउँदैनथे । अहिले कुकुरलाई चाँहि दिनहुँ मासु ल्याउँछन् ।

मभन्दा त यो कुकुर पो भाग्यमानी रहेछ त !’ यो कुरा सुन्दा मेजरबुढाभित्र भित्र मुस्कुराउँथे । एकदिन मेजरबुढाको सेखी झार्न होकि किन हो मेजरनी बुढीले पनि आफन्तकहाँबाट भोटे कुकुर नै ल्याइन् । कुकुर घरमा ल्याएदेखि मेजरनी बुढीलाई एकछिन फुर्सद थिएन । मेजरबुढा बाहिर गएको मौका पारी मेजरको कुकुरलाई नदिएर आफूले ल्याएको भोटेकुकुरलाई दिन थालिन् । मेजरको कुकुरलाई थोरै दालभात मात्र दिने गर्थिन् । अब मेजरको कुकुर कमजोर हुँदै गयो ।

बिहान मर्निङवाकमा जान पनि मानेन, न त घोक्ने गर्थ्यो न त चल्मलाउने नै गर्थ्यो । यो देखेर मेजरले भोटे कुकुरलाई जचाउँन लगे ।’ खाना कम भएकाले कुकुर कमजोर भएको हो र कुनै रोग नभएको कुरा भेटेनरी डाक्टरबाट यथार्थ कुरा पत्ता लगाए । त्यसपछि उनीलाई आफ्नी श्रीमतीमाथि शङ्का पर्यो  ।
भोलिपल्ट मेजर मर्निङवाकबाट साथीकोमा जाने र खाना खान ढिलोआउने बहाना गरीहिँडे । खाना खानेसमय अगाडि नै चाल मारी श्रीमतीले नदेख्ने गरीभित्र पसे । कोठाभित्र ऐनाबाट कुकुरलाई चिहाएर हेरिराखे । खाना पाक्यो ।

आफूले खानुभन्दा अगाडि मेजरनी बुढीले आफूले ल्याएको ककुरलाई एक थाल मासुभात दिइन् तर मेजरको कुकुरलाई थोरै दालभात मात्र दिइन् । पहिला मासुभात खाने बानी परेको कुकुरले दालभात सुँघेरमात्र छोड्यो एक सितो पनि खाएन । तर मेजरनीको कुकुरले एकैछिनमा एकथाल मासुभात सफाचट पारेको देखेर मेजरबुढा हेरेको हेर्यै  भए !

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।