आफैंले आफुलाई हेर्दा : एउटा वडा सदस्यको आत्मसमीक्षा (पुरुषोत्तम नेपाल )

कपन अनलाइन

काठमाण्डौ ,बैशाख ११।

राज्यको संघीय देखि स्थानीय तहम्मको जनप्रतिनिधिको सूचीको अन्त्यमा रहने नामको जनप्रतिनिधिको भूमिका निर्वाह गरेको ५ वर्ष पूरा हुनै लागेको छ । काठमाडौं जिल्ला क्षेत्र नं. ४ ख, बुढानीलकण्ठ नगरपालिका वडा नं. १२ का मतदाताले २०७४ सालको वैशाखमा स्थानीय तहको निर्वाचन र सोही सालको मंसीरमा संघ र प्रदेशको निर्वाचनमा आफ्नो मताधिकार प्रयोग गरी जनप्रतिनिधिहरुको चयन गर्नुभयो । जसमा संघीय सांसद देखि म सम्म नौजना प्रत्यक्ष निर्वाचित जनप्रतिनिधिको सूचीमा रह्यौं ।

जसमध्ये माथिल्ला ५ जना जनप्रतिनिधिहरुको भूमिका संविधानतः परिभाषित थियो भने वडा सदस्यहरु वडाभित्रका सन्दर्भमा कानूनतः सहयोगीका भूमिकामा रहेका थियौं । स्थानीय निर्वाचन लगत्तैको नगर सभामार्फत यो पंक्तिकारलाई लेखा समितिको संयोजकको जिम्मेवारी थपिएको थियो । यी र यस्तै जिम्मेवारीमा केन्द्रित रहेर स्वमूल्याँकन गर्ने प्रयत्न गरेको छु ।

वडा सदस्यमा उम्मेदवारी : 
तत्कालीन नेकपा एमालेको वडा शाखा कमिटीको अध्यक्षको भूमिकामा भएका कारण पनि वडा अध्यक्षमा दावेदारी स्वाभाविक नै थियो । तर जिल्ला नेतृत्वले बेला भएको छैन भने पछि संसदीय फाँटभन्दा बाहिरै रहेर सामाजिक जीवन बिताउने सोच रहेकै बेला तत्कालीन क्षेत्रीय कमिटी अध्यक्ष क कुसुमकुमार कार्की र नगर कमिटी संयोजक क दीपक निरौलाले वडा अध्यक्षको टिकट प्रदान गर्न नसकिएपनि वडा सदस्यको रुपमा नगरपालिकामा सेवा पुर्याउनु पर्छ  भन्ने निर्देशनलाई भारी मनका साथ स्वीकार गरेँ । यो अवधि राजनैतिक र सामाजिक क्षेत्रको सिकाइलाई परिस्कृत गर्नका लागि महत्वपूर्ण रहेको ठान्दछु ।
जे होस् वडा सदस्यमा उम्मेदवारी दिइयो । पार्टी कमिटी अध्यक्षको जिम्मेवारीको नाताले पाँचै जना सदस्य र प्रमुख, उपप्रमुखलाई अत्यधिक मतका साथ वडामा विजयी गराउनुपर्ने चुनौती त थियो नै पार्टीभित्रको अन्तर्संघर्षमा नगर प्रमुख तथा वडा अध्यक्षको लाइन र पंक्तिकारको लाइन फरक रहेकाले सकेसम्म पार्टीभित्रका उम्मेदवारहरुको मतान्तर कम रहोस् भन्ने भित्री मनसाय पनि थियो । दुइटै चुनौतीमा खरो उत्रिएँ भन्ने पनि लाग्छ ।

वडा सदस्यको भूमिका : 
माथि पनि उल्लेख गरियो कानूनतः वडा सदस्यले वडा अध्यक्षले खटाएको काम गर्ने हो । वडा सदस्यको छुट्टै परिभाषित जिम्मेवारी हुँदैन । जनप्रतिनिधिको शपथ पछिको पहिलो बैठकमा सामान्य कार्यविभाजन गरिएको थियो जसमा मेरो जिम्मेवारी अन्तर्पार्टी संयोजन, संघ संस्था संयोजन, विभिन्न निकायमा वडा अध्यक्ष जान नभ्याउने बेलामा प्रतिनिधित्व गर्ने लगायत थियो । सबै सदस्य एउटै पार्टीबाट निर्वाचित भएकाले यसलाई सहज लिएको पनि हो तर पछिल्लो समय यिनै जिम्मेवारीका कारण वडाको फिल्डमा कम देखिएको हो कि भन्ने वडावासीको गुनासो जायज हो म स्विकार्छु । त्यति हुँदाहुँदै पनि केही काममा सहजीकरण गर्न सफल भएँ भन्ने लाग्दछ ।
१) हामी आउने बित्तिकै वडा कार्यालयको व्यवस्थापन चुनौतीपूर्ण थियो । केही समय वडा नं. ११ को कार्यालयमा नै १२ नं. वडाको कामकारवाही गरियो । नवदुर्गा सामुदायिक स्वास्थ्य संस्थाको भवनमा वडा कार्यालय राख्नको लागि संस्थाका अध्यक्ष पुस्कर चालिसे, नेपाली काँग्रेसमा तत्कालीन उप सभापति सुनित चालिसे, आदरणीय ठाकुरप्रसाद खकुरेल लगायतका व्यक्तित्वहरुसँगको धेरै चरणको छलफलपछि अन्त्यमा वडा अध्यक्षज्यूलाई राखेर वडा कार्यालय नवदुर्गा सामुदायिक स्वास्थ्य संस्थाको भवनमा स्थापना गरियो । सोही भवनमा केही समयपछि शहरी स्वास्थ्य केन्द्रको स्थापना पनि केही समयपछि गरियो । शहरी स्वास्थ्य केन्द्र ल्याउन पनि अलि धेरै कसरत गर्नुपरेकै हो ।

२) यात्री पुस्तकालय स्थापना गर्ने घोषणापत्रको काम अगाडि बढाउनुपर्ने थियो । वडा भित्र सार्वजनिक जग्गामा बनेका भवनहरु धेरै भएपनि पुस्तकालय राख्ने स्थान पाइराखिएको थिएन । बालकुमारी क्लबका दाजुहरु जयराम चालिसे, वसन्त कार्की लगायतका व्यक्तित्वहरुसँग निरन्तर छलफल पछि बालकुमारी क्लबको भवनमा पुस्तकालय स्थापना गरियो । यात्री सरका सुपुत्र ओमकार नेपालले महत्वपूर्ण पुस्तकहरु प्रदान गर्नुभयो । कपन बानेश्वर साहित्यक साप्ताहिकका प्रधान सम्पादक निबन्ध आचार्य, त्रिलोचन आचार्य लगायतका वडाभित्रका अग्रज व्यक्तित्वले कहिले उठाएर त कहिले आफ्नै रकम हालेर पुस्तकालयलाई निरन्तरता दिइराख्नुभएको थियो । वडाले आफ्नो महत्वपूर्ण योजनालाई पछिल्लो समय प्राथमिकतामा राख्न नसकेको अनुभूतिले चिमोटिरहेको छ ।

३) नेपाल रेडक्रस, कपन उपशाखाको भवन निर्माणमा संघ, प्रदेश र नगर तीनै तहको योगदान रहेको छ । उक्त कार्यमा प्रदेश माननीय कुसुमकुमार कार्कीसँग समन्वय गर्ने भूमिकामा पनि रहेको थिएँ । १२ नं. वडाको भौतिक पूर्वाधारको विकास तर्फ तीनै तहको समन्वय भएको एउटा उदाहरण यो भवन हो ।

४) निर्वाचित भइसकेपछि एउटा अवधारणामा काम गर्ने सोच पलाएको थियो । काठमाडौंका सडकहरुमा पहिले सडक बनाउने, फेरी खानेपानीले भत्काउने, फेरी मर्मत गर्ने, फेरी विद्युत ढलको लागि भत्काउने प्रवृत्तिले दिक्क बनाइरहेको थियो । त्यसैले उपभोक्ताहरुलाई पहिले भूमिगत संरचना हालसालै बनाउनु पर्ने छ वा छैन सोधेर बनाउनुपर्ने भए भूमिगत संरचना बनाएर मात्र ढलान वा कालोपत्रे गर्ने छलफल चलाइयो । जसका कारण धेरै ठाउँमा ढल, खानेपानीका पाइप विस्तार वा मर्मत पछि मात्र ढलान वा कालोपत्रे गरेकोले बाटो भत्काउनु परेको छैन । केही ठाउँमा भने उक्त समस्या दोहोरिएको छ । कतै भने मेलम्चीको पाइप विस्तारले पनि बाटो भत्किने समस्या रहिरह्यो ।

५) कोभिडको पहिलो लहरको समयमा स्वयंसेवक परिचालनको संयोजन गर्नुपर्ने जिम्मेवारी थियो । सकेसम्म सबै दल र संस्थाका युवाहरुको परिचालन, अत्यावश्यक सेवा प्रदान गर्ने व्यक्ति, संस्थाको, पसलको पहिचान लगायतका कामहरुमा सबैबाट सहयोग प्राप्त भयो । केन्द्रीय तहका निकाय नै के गर्ने के नगर्ने भन्ने अवस्थामा स्थानीय तहमा केही कमजोरी रहे पनि आफ्नो क्षमताले भ्याएसम्म संयोजनको भूमिका राम्रै रह्यो भन्ने लागेको छ ।

६) कोभिडको समयमा कोभिडबाट प्रभावितहरुलाई घरघरमा गएर भेट्ने, अस्पतालको व्यवस्था गर्नुपर्ने व्यक्तिहरुलाई सकेसम्म सहजीकरण गर्ने, एम्बुलेन्स मगाउने जस्ता कामहरुमा साथ र सहयोग दिने सम्बद्ध सबै व्यक्तित्वहरुप्रति आभारी छु । राहत वितरणलाई सकेसम्म निर्विवाद तरिकाले प्रभावकारी बनाउने काममा वडाभित्रका खाद्यान्नका पसल, विक्रेता, सबै राजनीतिक दल, टोल सुधार समिति, महिला सञ्जाल, युवा क्लबहरु सबैको भूमिका सम्मानयोग्य छ । सबैप्रति आभारी छु ।

७) अन्य वडा अध्यक्षज्यूले तोकेका कामहरु गर्ने, बैठकहरुमा आफ्ना विचार राख्ने, विभिन्न योजनाको अनुगमन गर्ने लगायतका कामहरु मेरो दायित्व थियो । सकेसम्म पूरा गर्ने प्रयास गरेँ ।

८) मेरो सक्रियतामा हुने कामहरुमा सकेसम्म सबै राजनीतिक दल र समाजका हरेक तह तप्काको स्वामित्व रहोस् भन्नेमा सचेत थिएँ, छु र रहनेछु । मेरा राजनीतिक सीमा र बन्देजका कारण कहीँ कतै त्यो संयोजनकारी भूमिका कमजोर भएको रहेछ भने यसलाई आगामी दिनमा सुधार्ने प्रयास हुने नै छ ।

९) वडाको एकमात्र सामुदायिक विद्यालयमा हामी निर्वाचित हुँदा समस्याका चाङहरु थिए । वडाअध्यक्षज्यूले समस्याहरु केलाउन र पहिचान गर्नका लागि मलाई विद्यालय व्यवस्थापन समितिमा वडाको प्रतिनिधित्व गर्दै पठाउनु भएको थियो ।

विद्यालयभित्रका सम्बद्ध सबै पक्षहरुसँगको निरन्तरको लामो छलफलपछि विद्यालय सुचारु ढंगले सञ्चालन हुन शुरु भयो । नयाँ व्यवस्थापन समिति बन्न लागेको समयमा वडा अध्यक्षज्यूले व्यवस्थापन समितिमा सदस्यको रुपमा आफैँ जाने इच्छा गर्नुभएपछि सहर्ष स्वीकार गरेँ । समस्या समाधानमा सहयोग गर्ने तत्कालीन वि.व्य.स. अध्यक्ष ठाकुरप्रसाद खकुरेलज्यूको नेतृत्वको वि.व्य.स., तत्कालीन प्र.अ. लक्ष्मी तिमल्सिनाज्यूको नेतृत्वमा रहेको विद्यालय प्रशासन, वर्तमान वि.व्य.स. अध्यक्ष केदारराज पुडासैनीज्यूको नेतृत्वमा रहेको वि.व्य.स., वर्तमान प्र.अ. इन्द्र राईज्यूको नेतृत्वमा रहेको विद्यालय प्रशासन र सम्बद्ध सबै पक्षप्रति आभारी छु ।

१०) यस वडामा भौतिक पूर्वाधारतर्फ प्रदेश र संघ मार्फत पनि लगानी भएको छन । तर हामी त्यसको पुष्टि गर्न चुक्यौं । मुस्कान चोक देखि पायोनीयर हुँदै गरिएको कालोपत्रे प्रदेश माननीय कुसुमकुमार कार्कीको पहलमा भएको थियो । त्यसैगरी बालकुमारी टोलभित्र कालोपत्रे पनि प्रदेश माननीय कुसुमकुमार कार्कीकै पहलमा भएको थियो । बालकुमारी आधारभूत विद्यालयको हालै गरिएको थप भवन निर्माण पनि प्रदेश सरकार मार्फत भएको छ । यसरी मेरै आग्रहमा बजेटको व्यवस्थापनमा सहजीकरण गरिदिनुभएकोमा माननीय कुसुमकुमार कार्कीज्यूलाई धन्यवाद दिन चाहन्छु ।

लेखा समिति संयोजकको भूमिका : 

स्थानीय तह सञ्चालन ऐनले परिकल्पना गरे अनुसार कार्यपालिकाको निर्णय तथा नगरपालिकाको समग्र काम कारवाही निरीक्षण गर्ने गरि लेखा समितिको व्यवस्था गरिएको छ । स्थानीय निर्वाचनपछिको पहिलो नगरसभाले लेखा समितिको संयोजकको जिम्मेवारी प्रदान गरेको थियो । उक्त समितिको सदस्यमा नगरसभा सदस्यहरु श्री दिलकुमारी वि.क. र मञ्जु परियार हुनुहुन्छ ।

यो जिम्मेवारी पाउँदै गर्दा तत्कालीन पार्टीका नगर संयोजक दीपक निरौला र नगरप्रमुख उद्धव खरेलज्यूले केही सोचेरै यो जिम्मेवारी प्रदान गर्नुभएको होला भन्ने ठान्दछु । ऐनमा व्यवस्था भएपनि यसले के काम गर्ने भन्ने प्रष्ट थिएन । तरपनि नगरपालिकामा सामान्यतया प्रतिपक्षी नहुनेभएकाले यसको काम अप्रत्यक्ष रुपमा प्रमुख प्रतिपक्षीकै हो भन्ने लागिरह्यो । साथै सहकारी अभियानको विद्यार्थी भएकाले सहकारीकै लेखा समितिको जस्तै अवधारणा हो भन्ने ठानेको छु ।

१) केही समय लेखा समितिले कसरी काम गर्ने भन्ने असहजता रहिरह्यो । सदस्य सचिव तत्काल उपलब्ध नहुने, कार्यकक्ष नरहने, कुन विषयमा अध्ययन गर्ने भन्ने असहजताका बीच निरन्तरको छलफलबाट सामान्य कार्यविधि बनाई तेस्रो नगरसभाबाट पारित गरेपछि मात्र काम गर्न केही सहजता भएको थियो । त्यसपछि यसले कार्यपालिकाका निर्णयहरु, स्थानीय अनलाइनमा आएका समाचारहरुका आधारमा केही विषयहरुमा अध्ययन गर्न शुरु गर्यो ।

२) शुरुशुरुमा त कर्मचारीहरुले अध्ययन गर्न चाहेका विषयको फाइल नदिने, खोज्नुपर्छ भनेर महिनौं झुलाउने गरेर काममा असहजता भइरह्यो । पछि मेयरसाब, प्रमुख कार्यकारी अधिकृतसँगै छलफल गरेर फाइल उपलब्ध नहुने हो भने काम गर्न नसकिने भनेपछि भने केही सहजता भयो ।

३) धेरै साथीहरुले लेखा समितिले पत्ता लगाएका कमजोरी छताछुल्ल पारेर पोख्नुपर्छ भनेर उक्साउनुहुन्थ्यो । तर हामीले प्रत्येक नगरसभामा लेखा समितिले गरेका काम र पत्ता लगाएका कमजोरीहरु समेटेर प्रतिवेदन नगर सभामा पेश गर्यौं । पत्रकार साथीहरुलाई सूचनाको हक प्रयोग गरेर उक्त प्रतिवेदन अध्ययन गर्न भन्यौं । यो हाम्रो कमजोरी हो भन्ने नगरवासीलाई लाग्यो भने अब आउने लेखा समितिले यसतर्फ पक्कै ध्यान दिने छ । र हाम्रो प्रतिवेदनमा नेपाली काँग्रेसबाट नगरसभामा प्रतिनिधित्व गर्ने साथीहरुबाटै प्रमुख प्रतिपक्षीको जस्तै प्रतिवेदन पेश गरेको भन्ने प्रतिक्रियाबाट हामी हाम्रो जिम्मेवारीमा कहीँ कतै सफल रह्यौं भन्ने लाग्दछ ।

४) हाम्रै प्रतिवेदनका आधारमा केही तथ्याङ्क राख्न शुरु गरिएको छ । निर्वाचनपछिको २ आ.व. सम्म नगरपालिकाको खर्च देखिएपनि तथ्याङ्कका प्रगति देखिँदैनथ्यो । लेखा समितिका प्रतिवेदनमा लगातार कति किलोमिटर बाटो पीच भयो ? कति ढलान भयो ? जस्ता प्रश्नहरु राख्न थालेपछि अब नगरपालिका तथ्याङ्कका आधारमा प्रगति पेश गर्न थालेको छ ।

५) कपन क्याम्पसको बालुवा प्रकरण, चुनिखेल बालुवा प्रकरण, कर्मचारीहरुको अनियमितता प्रकरण, कोभिडका भएका खर्च जस्ता विषयमा अध्ययन गरी नगरपालिकामा प्रतिवेदन पेश गरेका छौं । स्थानीय निर्वाचन हुनुभन्दा अगाडिको बेरुजु र पछिल्लो समयमा देखिएको बेरुजुमा करिब दोब्बर अन्तर देखिएकोले यसतर्फ ध्यान दिन नगर कार्यपालिकालाई अनुरोध गरी प्रतिवेदनमा उल्लेख गरेका छौं ।

६) लेखा समितिबाट हामीले शुरु गरेको कामले आगामी दिनमा नगरपालिकामा लेखा समितिको जिम्मेवारीमा रहने जनप्रतिनिधिलाई गोरेटोको रुपमा मार्गचित्र बन्नेमा विश्वस्त छौं ।

अन्य जिम्मेवारी : 
नससहरुलाई नगर प्रमुखले आवश्यक ठानेमा जिम्मेवारी दिने कानुनी व्यवस्था अनुरुप मेयरज्यूले सहकारी सम्बद्ध केही जिम्मेवारी कहिले मौखिक त लिखित जिम्मेवारी प्रदान गर्नुभयो । त्यसमध्ये उल्लेख्य केही छन् ।

१) नगरपालिकाको सहकारी ऐन निर्माणमा ध्यान दिन मेयरज्यूले मौखिक जिम्मेवारी दिनुभएको थियो । ऐनको ड्राफ्ट केन्द्रबाटै आउने रहेछ । त्यसैलाई आधार मानेर छलफल शुरु गरियो । केही प्रावधानमा कर्मचारी मित्रहरुको धारणा जबर्जस्त रहने, केहीमा हाम्रो धारणा टसमस नहुने जस्तो अवस्था पनि आयो । तरपनि तुलनात्मक रुपमा अभियानमैत्री ऐन बनाउने प्रयास रह्यो ।

२) नयाँ सन्देश सहकारीको उजुरी नगरपालिकामा परिसकेको रहेछ । मेरो संयोजकत्वमा प्रारम्भिक अध्ययन समिति गठन भयो । सहकारी पदाधिकारी लगायत संचालक, पीडितसँग छलफल गरियो । सहकारी महासंघ अध्यक्ष आदरणीय मीनराज कँडेल, नेफ्स्कून अध्यक्ष आदरणीय परितोष पौडेल, नेफ्स्कून कोषाध्यक्ष तथा कास्कून अध्यक्ष दीपक पनेरु, जिल्ला सहकारी संघ अध्यक्ष ज्ञानबहादुर तामाङ लगायत अभियानको नेतृत्वसँग नगरप्रमुखज्यू, प्रमुख प्रशासकीय अधिकृतज्यूको परामर्श गरियो । तरपनि समस्या समाधानतर्फ छलफल अगाडि नबढेकोले समस्याग्रस्त घोषणा गर्न सहकारी विभागमा लेखी पठाउने अनुरोध गर्दै प्रतिवेदन पेश गरियो ।

सहकारी विभागले लामो समयपछि नगरपालिका आफैंले समस्याग्रस्त घोषणा गर्ने भनी फाइल फिर्ता पठायो । नगरपालिकाले समस्याग्रस्त घोषणा गरेर पूर्व न्यायाधीश श्रीमान् भोलानाथ चौंलागाईंको संयोजकत्वमा समस्याग्रस्त सहकारी व्यवस्थापन समिति गठन गर्यो र त्यसको एक सदस्यको जिम्मेवारी मलाई पनि प्रदान गरिएको थियो ।

उक्त समितिले लामो समय लगाएर काम गरिसकेर प्रतिवेदन बनायो । प्रतिवेदन बनाउने समयमा सहकारी खारेज गर्ने वा के गर्ने सुझाव दिनुपर्ने थियो । म र समितिका अर्का सदस्य मित्र बालकुमार बाँस्तोलाले सहकारी खारेज गर्दा बचतकर्ताको बचत फिर्ता नहुने बरु नयाँ सञ्चालक समिति बनाएर संस्था हस्तातरण गर्ने र केही समय नगरपालिकाले संस्था सञ्चालनमा सहजीकरण गरेमा बचतकर्ता रकम सुरक्षित हुन सक्ने विचार राख्यौं । सोही बमोजिम पहिलो विकल्प संस्था संञ्चालन राखी विभिन्न विकल्पका साथ प्रतिवेदन नगरपालिकामा पेश गरियो ।

४) त्यसपछि नगरप्रमुखज्यूको तदारुकतामा संस्थाको सञ्चालन समिति गठन भयो । नगरपालिकाले वडा नं. ८ को कार्यालयको भुईतलालाई कार्यालय सञ्चालनको लागि प्रयोग गर्ने अनुमति दियो । एउटा स्थानीय तहले आफ्नो स्रोत साधनमा समस्याग्रस्त सहकारीको समस्या समाधानमा देखाएको अग्रसरताप्रति अभियान आभारी हुनै पर्दछ । अब पालो संघहरुको हो ।

५) ७५३ स्थानीय तहमध्ये सायद समस्याग्रस्त सहकारीको व्यवस्थापनमा इमान्दार प्रयास गर्ने पहिलो स्थानीय तह बुढानीलकण्ठ नगरपालिका हो । यो इमान्दार प्रयासको लागि शतत नमन ।

केही कमजोरीहरु : 
काम गर्ने मान्छेले नै कमजोरी गर्ने हो । मेरा पनि केही कमजोरी रहे । आत्मस्वीकृति गर्ने पर्छ ।
१) हाम्रो पहिलो दायित्व ज्येष्ठ नागरिकलाई सम्मान गर्नु हो । तर हामीले ज्येष्ठ नागरिक भत्ता घर घरमै प्रदान गर्न सकेनौं । मेरो तर्फबाट आवश्यक दबाब पुगेन । क्षमाप्रार्थी हुनै पर्छ ।
२) वडा अध्यक्षको कार्यकक्ष भुइतलामा राखेर सेवाग्राही ज्येष्ठ नागरिकलाई अनावश्यक दुःख दिनुहुँदैनथ्यो । न सर्वसुलभ वडा कार्यालय निर्माणमा सहजीकरण गर्न सकियो न वडा अध्यक्षको कार्यालय भुईतलामा राख्न सकियो । कमजोरी रह्यो नै ।
३) सूचना प्रवाहमा कमजोर रह्यौं । निर्वाचनमा प्रत्येक मतदाताको फोन नं. पत्ता लगाउने हामी राजनीतिक दलका नेता र कार्यकर्ता निर्वाचनपछि तीनै मतदाताको फोन नं. सोध्ने अवस्थामा पुग्यौं ।
४) लक्षित वर्गको बजेट र योजनामा निर्वाचनभन्दा अगाडिको अवस्थामा थोरै सुधार त ल्यायौं तर तालिमहरुमा दोहोरिने अनुहारमा कमी ल्याउन सकेनौं ।
५) भौतिक पूर्वाधारतर्फ काम निकै ग¥यौं तर दीगो विकासको अवधारणा कहीँ कतै बिस्र्यौं ।
६) प्रत्येक योजनामा लाभग्राहीको मापदण्डमा स्थायी वासस्थानको आधार खोज्यौं । तर गाउँमा एक टुक्रो जमिन र स्थायी ठेगाना बाँकी राखेर वर्षको ३०० दिनभन्दा बढी हाम्रो वडामा बस्ने नागरिकलाई लाभग्राहीको दर्जा दिन चुक्यौं । तीनै वडावासीका कारण मनग्य सम्पत्ति कर उठेको हेक्का राख्नै सकेनौं ।
७) वडावासीले सामान्य सेवा र सिफारिस लिन जाँदा वडा अध्यक्षको पखाईमा कहिलेकाहीँ त एक कार्यदिन नै वडामा बिताउनुपरेको छ । अब निर्वाचित हुने वडा अध्यक्षले आफ्ना बाँकी चारै जना सदस्यलाई आफ्नो अनुपस्थितिमा महिनाको एक हप्ता एक सदस्यको रुपमा कार्यवाहक दिने नीतिगत निर्णय गर्ने हो भने वडा सदस्यहरुको नेतृत्व विकास पनि हुन्थ्यो भने सेवाग्राहीले सहज सेवा पनि पाउँथे ।

पार्टी विभाजन र नेकपा एसमा सनाखत : 

म जन्मिनुभन्दा अगाडिदेखि संगठित हुँदै आएको पार्टी र उमेर मभन्दा करिब २ गुणा जेठा नेताहरु विभाजित हुने कारण नियमित आकस्मिकता हो भन्ने ठान्दछु । निषेधको राजनीतिले देशको व्यवस्था परिवर्तनमा लागेका दलहरु कहाँसम्म पुग्न सक्छन् भन्ने उदाहरण म आबद्ध पार्टी बन्न पुग्यो । नेतृत्वले म नैं सर्वेसर्वा हुँ भन्दै आफैंले लेखेको संविधानको फरक फरक व्याख्या कसरी गर्छन् ? भन्ने कुराको साक्षी पनि बन्न पाइयो । जे होस् पार्टी विभाजन भयो । पार्टी विभाजनपछि विद्रोह गरी नेकपा एसमा लाग्नुका कारण मतदातालाई भनिनँ भने गलत हुन्छ । भनिसकेपछि सही गरेँ वा गलत त्यसको आधारमा गाली वा प्रशंसा दुवैको हकदार हुनेछु नै । पार्टीको मूल नेतृत्वको क्रियाकलाप र व्यवहारप्रति असहमत हुनुका अतिरिक्त स्थानीय नेतृत्वको निम्न क्रियाकलापले मैले नेकपा एस रोजेँ ।

मूल नेतृत्वको क्रियाकलाप : 

१) पार्टीको मूल नेतृत्व संयमित रहनुपर्छ । तर म आबद्ध पूर्व पार्टीको मूल नेतृत्व आफ्नै सहकर्मीप्रति असहिष्णु मात्र हैन निषेधको राजनीति गर्न लागिरह्यो । सार्वजनिक रुपमा नेतृत्वले बोलेका कतिपय कुरा त मिल्नेभए रेकर्डबाटै हटाउनु पर्ने थियो ।

२) घरमूलीले आफ्नो घरझगडा मिलाउन नसक्नुको सजाय जननिर्वाचित संस्थालाई दियो । २/२ पटकको संसद विघटन कुनै पनि हालतमा संवैधानिक थिएन । आफैंले बनाएको संविधान उल्लंघन गर्नु जायज थिएन ।

३) जनताको बहुदलीय जनवादलाई दलालीको औजार बनाइयो । नेकपा एकीकरण गर्दा जबज थाती राख्ने भन्दै पार्टीको मौलिक विचारलाई सत्ताप्राप्तिको बन्दी बनाउने नेतृत्व गुटबन्दीमा भने गैरसरकारी संस्थामार्फत जबजको नाम बेच्न तल्लीन भै रह्यो  ।

४) पार्टी नेतृत्व नीति प्रधान भएन व्यक्तिप्रधान हुँदै गयो ।

स्थानीय नेतृत्वका क्रियाकलाप : 

१) स्थानीय निर्वाचन पछिको पहिलो बैठकको निर्णयको आधारमा संघसंस्था संयोजन, वडा अध्यक्षले लगाएका कामको दायित्व मेरो हो भन्दै फिल्डमा कम जिम्मेवारी लिएर काम गर्दा पनि निरन्तर वडाबासी र कहिलेकाहीँ त असम्बन्धित ठाउँमा पनि पुरुषोत्तमले काम नै गरेन भनेर नेतृत्वले प्रचार गरिरह्यो ।

२) कार्यवाहक पाएको समयमा मेरो कामको अनुगमन गर्नका लागि पार्टीमा कतै पनि वडा सदस्यको निरीक्षण गर्ने जिम्मेवारी नभएका एक साथीलाई जासुसीको जिम्मेवारी दिएको थाहा पाएपछि नेतृत्वप्रतिको भित्री सम्मान गर्लम्मै ढल्यो ।

३) केही युवा साथीहरुले खेलकुदसँग सम्बन्धित योजना माग्नुभयो । मैले वडा अध्यक्षज्यूसँग कुरा गर्नुहोस् म सकारात्मक छु भनेँ । साथीहरुले वडा अध्यक्षज्यूलाई भेट्दै गर्दा भेट सकारात्मक हुन सकेनछ । फेरी अर्कै साथीले पुरुषोत्तमको नकारात्मक कुरा गरेपछि योजना पर्छ भनेकै आधारमा साथीहरुले सोही बमोजिम गरेर योजना पारेछन् । पछि तीनै साथीहरुले कुरा गर्दा जे जसरी भएपनि तपाईंहरुले योजना पारिहाल्नु भएछ । योजना सम्पन्न गर्नुस् । म सकेको सहयोग गरौंला भनेँ ।

४) नेकपा कालमा वडा कमिटी गठन हुने भयो । एमालेको तत्कालीन वडा कमिटी अध्यक्ष भएका कारण अध्यक्षकै दाबी गरेको थिएँ । तर मलाई अध्यक्ष बनाउनुपर्ने भएकै कारण अर्को वडा लिएर हाम्रो वडा छाडेको सूचना जुन दिन पाएँ । नगर नेतृत्वको सोचको जानकारी पनि राम्रैसँग पाएँ ।

५) सर्वोच्चको आदेशपछि नेकपा एमाले र माओवादी केन्द्र पूर्ववत् अवस्थामा फर्किए । हामीले तत्कालीन अवस्थामा वडाबाट माथिल्लो कमिटीमा प्रतिनिधित्व गर्नुहुने क. शम्भुप्रसाद भट्टराई लगायत वडाबाट माथिल्लो कमिटीमा प्रतिनिधित्व गर्ने नेतृत्वहरुलाई २०७५ जेठ २ को अवस्थामा कमिटीलाई पुनर्जागृत गर्ने प्रस्ताव राख्यौं तर साथीहरुले यसलाई कमजोरीको रुपमा लिँदै ठाडो अस्वीकार गर्नुभयो । राजनीतिमा आत्मसमर्पण स्वीकार्य थिएन तसर्थ २०७८ वैशाख ५ गते नेकपा एमालेको वडा कमिटी गठन गर्यौ  । वडामा पार्टी विभाजनको मूल कारण माथिल्लो कमिटीमा रहेर छलफल गर्नै नचाहने त्यही प्रवृत्ति हो भन्नेमा कुनै द्विविधा नराख्नुहुन तमाम वडावासी एमालेजनमा आग्रह गर्दछौं ।

६) पार्टी विभाजनपछि मेरो त कुरै रहेन मप्रति शुभेच्छा राख्ने कमरेडहरुको जिम्मेवारी व्यवस्थापनमा पनि चरम अन्याय गर्ने व्यवहारका कारण तत्कालीन पार्टी शाखा अध्यक्ष , सचिव, उपसचिव लगायतका कमिटीका अधिकाँशले विद्रोह रोज्यौं । हाम्रो यो कदमबाट एमाले नेतृत्वमा रहनुभएका धेरै उपल्लो तहका नेताहरु भेला बैठकमा दुःखी हुने अभिनय गरेतापनि भित्री रुपमा खुशी हुनुहुन्छ । पार्टीका शुभेच्छुकहरु कतै दुःखी हुनुहुन्छ भने हृदयत ः क्षमाप्रार्थी छौं । जहाँ अपमान हुन्छ त्यहाँ नबस्नू भन्ने बुढापाकाको भनाई अनुसरण गरेका छौं । समयसँगै तपाईं हाम्रो साँँगठनिक भेट हुने नै छ ।

७) पार्टी स्थानीय नेतृत्वको क्रियाकलापको सन्दर्भमा पार्टीका केन्द्रीय नेतृत्वलाई सिंहदरबारमै पुगेर तत्कालीन शाखा कमिटी अध्यक्ष, सचिव, उपसचिवले ध्यानाकर्षण गराउँदा पनि केन्द्रीय नेतृत्व उदासीन रहेको अवस्थाले पनि पार्टी नातावादतर्फ उन्मुख रहेको ठम्याउन कुनै गाह्रो भएन ।

राजनीतिबाट टाढा रहन सकिन र सक्दिन पनि : 

पारिवारिक स्वार्थलाई शून्यमा राखेरै भए पनि गलत विचार र प्रवृत्तिसँग विद्रोह गरी कम्युनिष्ट सिद्धान्त अँगालेको परिवारको सदस्यको हैसियत र परिवारभित्रको राजनीतिक प्रशिक्षणले असल कम्युनिष्ट सिद्धान्त र आचरणबाट मात्र समृद्ध समाज सम्भव छ भन्ने मलाई सिक्न र सिकाउन सक्यो भन्ने मैले ठानेको छु । कतिपय नेतृत्वले आफ्नो राजनीतिक पहुँचको गलत प्रयोग गरी आफ्ना छोराछोरीलाई उच्च शिक्षा र व्यवसायिक सौदाबाजी गर्ने देखिरहेको परिप्रेक्ष्यमा परिवारबाट भित्रैबाट व्यक्तिगत स्वार्थमा नलाग्ने वातावरण बनाइदिएको प्रति परिवारप्रति पनि आभार व्यक्त गर्दछु ।

द्वैध चारित्रिक व्यवहार र आत्मसम्मानमा ठेस पुग्ने व्यवहार पक्कै पनि निःस्वार्थ राजनीति गर्नेहरुले स्वीकार्दैनन् नै । मलाई यो पद चाहिने भन्दै ढोकालाई छोडी झ्यालबाट छिरेर राजनीति गरेको भए अहिले मतदाता र वडाबासीसँग भेट्दा शीर निहुराउनु पथ्र्यो होला । आत्मसम्मानका लागि बिद्रोह गर्ने अठोट लिएका कारण पक्ष वा विपक्ष कसैसँग पनि ठाडो शिरका साथ वहस गर्न र आफ्नो विचार प्रष्टसँग राख्न सक्छु भन्ने आत्मविश्वास लिएको छु ।

सामाजिक कार्यकर्ता र राजनीतिक कार्यकताबीचको फरक समेत छु्ट्याउन नसकी राजनीतिक नेतृत्व गर्नेहरुले म एक तहको नेता हुँ भने एक तहको कार्यकर्ता पनि हुँ भन्ने भावना आत्मसात गर्न सकेनन् । व्यावसायिक राजनीति गर्ने कि राजनीतिक व्यवसाय गर्ने भन्ने निक्र्यौल गर्न नसकेकाले यी दुबै पक्ष सँगै बस्न नसकेको पक्कै पनि हो । म व्यावसायिक राजनीतिको पक्षमा रहेको छु । म जहाँ छु त्यहाँ पनि गलत हुन खोज्यो भने खबरदारी गर्ने र आवश्यक विद्रोह गर्ने अधिकार म आफैँसँग सुरक्षित नै राखेको छु । तसर्थ, सक्रिय रहेर होस् वा निश्क्रिय रहेर होस् राजनीतिक सचेतना र संलग्नताका हिसाबले म सामाजिक र राजनीतिक जीवनबाट टाढा रहन सक्दिन र रहने छैन पनि । म प्रष्ट छु बरु नष्ट हुन तयार छु तर आत्मसम्मान, सच्चरित्र, इमान गुमाउन सकिँदैन ।

हार्दिक आभार : 
यी पाँच वर्ष मेरा लागि ज्ञानवद्र्धक रहे । मनोवृत्ति अध्ययन, सामाजिक यथार्थको प्रबोधन लगायतको यो शिक्षा पिएचडी भन्दा कम छैन । यी यावत समयमा मलाई ज्ञानप्राप्तिको यो बहुमूल्य अवसर प्रदान गर्ने तत्कालीन नेकपा एमालेका नेता कार्यकर्ता, वडावासी मतदाता, नगरप्रमुखज्यू, उपप्रमुखज्यू, वडा अध्यक्षज्यू लगायत सहकर्मी जनप्रतिनिधि, नगर सभा सदस्यज्यूहरु तथा सम्बद्ध सबैमा शतत नमन सहित हार्दिक कृतज्ञता प्रकट गर्दछु ।

अन्तमा आदरणीय मतदाताहरु : 
तपाईंहरुको मतप्रति कति सम्मान गर्न सकेँ वा सकिनँ मूल्याँकन गर्ने जिम्मा तपाईहरुसँगै छ । कतिपय मेरा सोच र विचारहरु कार्यान्वयन गर्न आफ्नै हातमा कलम हुनैपर्ने रहेछ, सार्थक जिम्मेवारी हुनैपर्ने रहेछ । परिस्थितिले मिलाएमा तपाईंहरुबाट परिक्षित हुन फेरी पनि आउने नै छु । पाँच वर्ष अगाडि तपाईंहरुले दिनुभएको मतप्रति अनुगृहित छु ।

( माथि उल्लेखित विचार हरु  नेकपा एकीकृत समाजवादी काठमाण्डौ क्षेत्र नं ४ का सचिव नेपालका निजि  हुन् )

तपाइँको प्रतिक्रिया ।