किन कांग्रेसले वडाध्यक्षमा उपप्राध्यापक उठायो ?

कपन अनलाइन

काठमाण्डौ ,चैत्र २९ /खिला सापकोटा 

कांग्रेसका प्रखर युवा नेता तथा महामन्त्री गगनकुमार थापाको क्षेत्र, बुढानीलकण्ठ नगरपालिका वडा नं. १० को वडाध्यक्षमा कांग्रेसले प्रभावशाली उपप्राध्यापक डोरप्रसाद आचार्यलाई सर्वसम्मतरूपमा उठाएको छ । लामो समय शिक्षण सेवामा रहेका उपप्राध्यापकलाई नै किन कांग्रेसले उठायो भन्ने प्रश्न अहिले मुख्यरूपमा स्थानीय स्तरमा चर्चाको विषय बनेको छ ।
हुन त अहिले स्थानीय तहमा देशैभरि विभिन्न क्षेत्रका वरिष्ठ नेता तथा शिक्षाविद्हरूले उठ्ने चासो र रुचि देखाएको पाइन्छ । एक प्रसंगमा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले मेयरमा उठ्न पनि सक्छु भनेर स्थानीय सरकारको गरिमा र महत्वलाई उजागर गरे ।

त्यसैगरी प्राध्यापक संघका अध्यक्षसमेत रहेका पूर्व रक्षामन्त्री भीमसेनदास प्रधानले काठमाडौँ महानगरपालिकाको मेयरमा उम्मेद्वारी दिने चर्चासँगै नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डिला संग्रौलाले समेत विराटनगर महानगरपालिकाको मेयरमा उठ्ने धारणा सञ्चारमा माध्यममा आएका छन् । त्यसैगरी सोही महानगरपालिकामा एमाले नेता एवं पूर्वमन्त्री लालबाबु पण्डित उठ्ने खबरहरू आए ।

अहिले स्थानीय सरकारको बागडोर हातमा लिन थुप्रै लब्ध प्रतिष्ठित व्यक्तिहरूले रुचि देखाएका छन् । उपप्राध्यापक आचार्यको सन्दर्भमा पनि त्यो लागू हुन सक्छ ।
पार्टीले सर्वसम्मतरूपमा बुढानीलकण्ठ वडा नं. १० को वडाध्यक्षको उम्मेदवार बनाएपछि कार्यक्रममा बोल्दै आचार्यले भने एक उपप्राध्यापकलाई वडाध्यक्षको भूमिका निर्वाह गर्न खटाएर नेपाली कांग्रेसले सिंगो देशभरि, विशेष गरी बुढानीलकण्ठ नगरपालिकालाई विशेष महत्व दिँदै नुतन राजनीतिक अभ्यासलाई अघि बढाएको बताए । उनले भने, ‘व्यक्तिभन्दा पनि व्यक्तित्व महत्वपूर्ण हुन्छ । मेरो व्यक्तित्वको क्यानभास शिक्षा र समाजसेवाको रङले रंगिएको छ ।

सायद पार्टीले यसले गुणस्तरीय भूमिका निर्वाह गर्न सक्छ भन्ने सोचेर होला यसपटक मलाई जिम्मेवारी दिएको छ । तर, हाम्रो वडा नं. १० मा पार्टीका सबै स्थानीय नेताहरू अब्बल हुनुहुन्छ । हामीहरू सबै पार्टीका वफादार पहरेदार भएकाले ए, बी, सी जो नेतृत्वमा आए पनि उस्तै हो । हामी सद्भावका साथ पार्टीको निर्णयलाई स्वीकार गर्दै एकअर्कालाई विजयका लागि सघाउँछौँ ।’
स्थानीय रूपमा कांग्रेसको यो निर्णयलाई सबैले प्रशंसा गरेका छन् । एक अनुभवी प्राध्यापकलाई सभ्य, शान्त एवम् समृद्ध वडाको निर्माणका लागि जिम्मेवारी दिनु उत्तम समझ हो । देशैभरि यस्ता कार्यकर्तालाई स्थानीय सरकारको नेतृत्व दिने हो भने समृद्ध नेपाल चाँडै सम्भव हुने स्थानीय व्यक्तिहरू बताउँछन् ।
निश्चितरूपमा यसपालि कांग्रेसले बुढानीलकण्ठ वडा नं. १० मा आशालाग्दा उम्मेदवार छनोट गरेको छ । यसै गरी सबै दलहरूले अनुभवी, शिक्षित एवं इमान्दार नेताहरू उठाउने हो भने समुन्नत देश निर्माणका लागि धेरै कुर्नुपर्दैन ।
अब कस्तो राजनीतिक अभ्यासलाई स्थानीयस्तरमा कसरी नेतृत्व गर्नुहुन्छ भन्ने हाम्रो जिज्ञासामा आचार्यले भने, ‘इमान्दारिता, सद्भाव, सहकार्य एवं स्वस्थ प्रतिस्पर्धामा मेरो ध्यान रहनेछ ।’ देश र जनतालाई केन्द्रमा राखेर जे गर्दा राम्रो हुन्छ आफूले त्यही गर्ने उनले बताए । सुशासनको महत्वबोध गर्दै आचार्यले भने, ‘नेताहरू इमान्दार भए सुशासन सम्भव छ ।

सुशासन भए देश समृद्ध अवश्य हुन्छ । अतः मूल प्रश्न इमान्दार नेतृत्वको हो । मैले शिक्षा क्षेत्रमा झैँ राजनीतिमा पनि इमान्दार नेतृत्व गर्छु । सामूहिक नेतृत्व गर्छु । जनताको भरपर्दाे नोकर बन्छु ।’
आचार्य जस्ता लब्ध प्रतिष्ठित उपप्राध्यापकको उपस्थितिले पक्कै पनि बुढानीलकण्ठमा मात्र होइन, देशैभरि स्थानीय तह बौद्धिक नेताहरूको हातमा जानुपर्छ भन्ने सन्देश दिने सबैको विश्वास छ । राजनीतिलाई सेवाका रूपमा आत्मसात गर्दै अघि बढ्ने नेताहरूले मात्र देशमा सुशासन स्थापना गर्न सक्छन् । सुशासनले मात्र देश सभ्य र समृद्ध बन्छ ।

( लेखक सापकोटा त्रिभुवन विश्व विद्यालयका उपप्राध्यापक हुन् )

तपाइँको प्रतिक्रिया ।