तथ्याङ्कमा आधारित सुशासन हाम्रो पहिलो लक्ष्य हो : सुमित खरेल

कपन अनलाइन

काठमाण्डौ ,चैत्र १९।

२०७९ साल बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा बुढानिलकण्ठ नगरपालिका प्रमुख पदमा स्वतन्त्र उम्मेदवार बन्ने  घोषणा गरेका सुमित खरेलको विचार र योजना यहाँ प्रस्तुत गरिएको छ।

नागरीकलाई सुन्ने सरकार

जन प्रतिनिधीहरु आईसकेपछि ५ वर्षमा नागरीकहरुले जम्मा कति गुनासो राखे होलान्? कति जानकारी वा सुचना माग गरे होलान्? 

सायद यि प्रश्नहरुको उत्तर अहिले कसैसँग पनि छैन! मलाई जानकारी भए सम्म बूढानीलकण्ठ नगरपालिकामा त्यस्तो संयन्त्र छैन। जसले गुनासो सुनेर त्यसमा काम गर्न सकोस्। तर, यो पटक स्थानीय सरकारको नेतृत्व गर्ने अवसर पायौँ भने यस्ता प्रश्नको उत्तर ३ महिना भित्र दिन नगरपालिका सक्षम हुनेछ।

१ हप्तामा कति गुनासो आए? कति सम्बोधन भए? कति भएनन्? यि सबै प्रश्नको उत्तर तब दिन सम्भव हुन्छ जब हामी यि गुनासो हरुको रेकर्ड राख्छौँ। त्यसको लागी हामी एउटा सजिलो नम्बरको व्यवस्था गर्नेछौँ। कल सेन्टर बनाउने छौँ। नागरिकका गुनासो र माग भएका जानकारीहरुको तथ्याङ्क राख्नेछौँ। उक्त तथ्यमा टेकेर हामिले के मा काम गर्नुपर्नेछ भन्ने पत्ता लगाउँछौ र त्यसैमा काम गर्नेछौँ। 

संयन्त्र सुधार गर्नुपर्छ वा स्रोत साधन थप गर्नुपर्छ? नागरीकका गुनासोहरुलाई कसरी छिटो सम्बोधन गर्न सकिन्छ भन्ने विषयमा हामी गम्भिर रुपले लाग्न चाहन्छौँ। यसको लागी विशेष टोलि तयार गर्छौँ। सुरुमा कल सेन्टरबाट सुरु गरेर यसमा १ वर्ष भित्र मोबाईल एप मार्फत पनि कम्प्लेन गर्न सकिने सुविधा थप्नेछौँ। जसमा फोटो र छोटो भिडियोहरु पनि समावेश गर्न सकिनेछ। 

फाईल हराउने समस्या बाट मुक्ति, फाईल बोकेर शाखा-शाखा धाउनु पर्नेछैन

नागरीकहरु सँग अन्तरक्रिया गर्दा पत्ता लागेको अर्को प्रमुख समस्या हो फाईल हराउने। तोक लगाउन मान्छे नभेटिने। यि लगायत फाईल सम्बन्धि धेरै समस्याहरुको समाधान ‘वान डोर फाईल सिस्टम’ ले गर्छ।

यो के हो?

एकद्वार फाईल प्रणाली अर्थात हरेक कामको फाईल बुझाउने र लिने ठाउँ एउटै। तोक लगाउने मान्छे खोज्दै, कर्मचारी कुर्दै कोठा चाहर्नु परेन। फाईल त्यहाँ दिईसकेपछि बाँकी काम सरकारको जिम्मा। फाईल लिने बेलामा कर्मचारीले कागजात मिले नमिलेको हेरेर त्यसलाई दर्ता गरेर अगाडी बढाउँछन्।

यदि १५ मिनेट देखी १ घण्टामा सकिने काम छ भने नागरीकहरु सरकारले उपलब्ध गराएको चिया खाँदै बस्न सक्नेछन्। यदि १ घण्टा भन्दा बढि लाग्ने काम छ भने सेवाग्राहीहरु आफ्नो काममा जान सक्नेछन्। फाईल कुर्न र बोक्नकै लागी उहाँहरुको समय खर्च हुने छैन। 

शहरी योजना आयोगको गठन

अहिले नगरपालिकाको योजना निर्माण गर्ने तरिका एकदमै व्यक्तिगत र अवैज्ञानिक ढगंको छ। एउटा अगुवालाई यसो गरौँ भन्ने लाग्यो भने त्यही अनुसार योजना बन्छ। कतिपय योजना त निर्माण व्यवसायि हेरेर बन्ने गरेका छन। त्यसलाई सहि ट्र्याकमा ल्याउनको लागी एउटा शहरी योजना आयोगको गठन गरिनेछ। जसमा शहरी योजना विज्ञ, पुर्वाधार विज्ञ, वातावरण विज्ञ, अर्थशास्त्रिहरु संलग्न हुनेछन्। नगरको दिर्घकालिन सोच, आवधिक योजना अनुसारको परियोजनाहरुको निर्माण गर्न, दिगो विकास लक्ष्य भेट्टाउन शाखाहरु र विषयगत समितले गर्नुपर्ने विषयहरुमा प्रष्टता दिनेछ। 

प्राविधिक शाखाको पुर्नसंरचना

स्थानीय तहमा प्राविधिक शाखाको मुख्यतया ३ वटा काम हुने गर्दछ। पहिलो, भवन निर्माण सम्बन्धी काम, दोस्रो योजनाको ईष्टिमेट, अनुगमन तथा मुल्याकंन र तेस्रो, ठेक्का निकाल्ने काम। यि ३ वटा कामको लागी फरक-फरक शाखाको व्यवस्था गर्नेछौँ। यस्तो गर्दा कार्य सम्पादन मुल्याकंन गर्न पनि सजिलो हुनेछ। 

प्रत्येक शाखाको साप्ताहिक टार्गेट, चेक लिस्टहरु बनाएर काम गराउने प्रणाली सुरु गर्छौँ। घर निर्माण, तथा योजनाहरुको अनुगमन गर्नु छ भने तालिका बनाएर कल सेन्टर बाट घर धनि वा योजना सञ्चालन गरीरहेको उपभोक्ता समितिलाई जानकारी दिने व्यवस्थाले साँच्चै सुशासनको अनुभुति दिनेछ।

हामीले वान डोर फाईल सिस्टम बन्नु अर्थ त्यसको नियमन्/ट्रयाकिङ गर्न सजिलो होस भनेर पनि हो। प्रत्यके टेबल बाट फाईल सरेपछि सफ्टवेयर मा टिक गर्नु पर्ने हुन्छ। यदि कुनै टेबल वा प्राविधिक बाट तोकिएको दिन सम्म पनि फाईल सरेको छैन भने कारण खुलाउनु पर्ने हुन्छ। त्यो समस्याको समाधान कसरी हुन सक्छ भनेर सुझाव पनि दिन सक्छ। यसरी शाखा नै पिच्छे वा टेबल नै पिच्छे फाईल कहाँ धेरै समय लागिरहेको छ। कहाँ छिटो छिटो काम भईरहेको छ भन्ने हामीले एक क्लिकको भरमा थाहा पाउन सक्छौँ। र, हाम्रो सुधार गर्नुपर्ने पाटो के हो भनेर थाहा पाउँछौँ।

अन्त्यमा,तथ्याङ्कमा आधारित सुशासन हाम्रो पहिलो लक्ष्य हो। ‘समावेशिता सहितको दिगो विकास’  गरेर देशकै अग्रणी नगर बन्ने सपना देखेका छौँ। आउनुहोस हामी मिलेर सपना देखौँ अनि मिलेर पुरा गरौँ। 

(सुमित खरेल ,स्वतन्त्र मेयर उम्मेदवारबुढानीलकण्ठ नगरपालिका सुझावका लागि : [email protected])

तपाइँको प्रतिक्रिया ।