शकुन्तलोत्पत्ति : मुक्तिनाथ शर्मा (कविता )
कपन अनलाइन
काठमाण्डौ.भाद्र २६।
प्रकृतिले सजाएको पवित्र दिव्य ठाउँमा
झरना झरझर्झर्ने सानु खोल्सी नजिकमा
चारैतिर बनेलीले सिंगारेको मनोरम
स्थानमा नै थियो विश्वामित्रको शुभआश्रम ।।१।।
चरी चिर्विर चिर्विर सुनेर ऋषि जाग्दथे
झरनामा गई स्नान गर्थे मङ्गल गाउँथे
बनकै कुस थुप्रोमा बसेर प्रार्थना गरी
आश्रममा उ फर्कन्थे बोली हुन्थ्यो हरि हरि ।।२।।
विश्वामित्र सदा ध्यान तपस्यामा लगाउथे
कैलेकाही यसो दृष्टि झरनामा पुर्याउथे
यौटा स्वच्छ बिहानीमा बिस्तारै झरनातिर
आँखा पु¥याउँदा देखे एउटा दृश्य सुन्दर ।।३।।
झर्झरी झरना झर्झर् सदाझै झरदैथियो
श्रीसूर्यज्योति पर्नाले दिव्य इन्द्रेणी देखियो
इन्द्रेणी बिचमा यौटी सुन्दरी स्नानकर्ममा
थिइन् व्यस्त परिन् विश्वामित्रको भित्रीमर्ममा ।।४।।
अनायास चले पाउ विश्वामित्र उतै गए
शिरमा ओठ आँखामा स्तनमा हेरदै गए
भिजेको देह हो उन्को हावाले बस्त्र हल्लिए
थपियो मन्द मुस्कान ऋषिजी लोभिदै गए ।।५।।
भिजेको बस्त्र बायुले तान्दै हल्लाउदै रह्यो
पियारो चाल देखियो अमृत बोलीमा थियो
मन थाम्नै नसक्नाले विश्वामित्र नजिकमा
गए, वार्ता चले केही चाहनाका अनेकन ।।६।।
दुवैको मन भो एक पिरती जाल झांगियो
महर्षिको तपस्याको लक्ष अन्यत्र मोडियो
स्वर्गाधिपति श्रीइन्द्र निर्धक्क भइ स्वर्गमा
बसे ती मेनकाजीको बन्यो कार्य यथार्थमा ।।७।।
कुरा बुझे महर्षिले झसक्क झस्किएर उ
तपस्यामै फिरे फेरि पश्चाताप गरेर उ
मेनका नानी जन्माई स्वर्गतर्फ फिरिन् जव
कण्वकी छोरीझै हुर्किन् नानी शकुन्तला तव ।।८।।