मित्रको मूल्य : घनबहादुर थापा (लघुकथा)
कपन अनलाइन
काठमाण्डौ,फागुन १७।
साजनकुमार शहर पसेपछि धनी भए । कसरी ? त्यो प्रश्न कसैले सोधेन, उनले पनि बताएनन् ।
सम्पत्तिले बाटो देखायो । नातागोता, इष्टमित्रले पनि उनैलाई पछ्याए । बाआमा, काकाकाकी, साथीभाइ, इष्टमित्र सबै उनकै बाटोमा हिँड्न आए। कोही उनकै व्यवसायमा जोडिए, कोही आफ्नै हिसाबले चल्न थाले ।
शहरले उनीहरूलाई चिन्यो । सबैको धन बढ्यो, बोली फेरियो । अब ‘खानुस्’को सट्टा ‘खाइस्यो’, ‘जानुस्’ लाई गइस्यो’ भन्न थाले । सम्मानको स्वर छोटियो, अहङ्कारको स्वर ठूलो हुँदै गयो । उनीहरू आफूलाई अब खानदानी भन्न थाले ।
साजनकुमारले मनमनै सोचे, ‘अब इष्टमित्रसामु आफ्नो शान, मान देखाउनु प¥यो ।’ उनको घरमा भेला हुन इष्टमित्र सबैलाई निमन्त्रणा गठाइयो । निर्धारित समयमा गाडीहरू आएर गेटमा रोकिए । गाडीबाट ओर्लिएका सुट पोशाकधारीहरूलाई पालेले सलाम ठोक्दै भित्र पठायो ।
रामेश्वर साइकलमा आइपुगे । उनी एउटा दुब्लो, पातलो जीउडालका थिए । गेटपालेले रोक्यो । गेटपालेको मनमा प्रश्न उठ्यो, ‘यस्तो साधारण साइकलमा आउने ख्याउटे मान्छे पनि साजनकुमारको नातेदार कसरी हुन सक्छ ?’
रामेश्वरले नम्र हुँदै भने, ‘म साजनकुमारको नातेदार हुँ ।
मूलढोकाको दृश्य सिसिटिभीमा देखिरहेका साजनकुमार झस्किए । ‘त्यो दुई कौडीको रामेश्वर कैलेदेखि हाम्रो नातेदार भयो हँ ?’ उनले प्रश्न गरे ।
रामेश्वर कवि थिए । बोली बेचेनन् । सत्य साटेनन् । पैसा कमाएनन् । त्यही कारण साजनकुमार उनलाई नातेदार भन्न रुचाउँदैनथे ।
गेटभित्र भब्य खानपिनसहित इष्टमित्र भेला चलिरह्यो । त्यहाँ मित्रको मूल्य सम्पत्तिले तोकिरहेको थियो । गेटबाहिर साइकल उभिएरै प्रश्न सोधिरहेको थियो, ‘मित्रको मूल्य ?’
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
