नराम्रो सपना :परशुराम पराशर (कविता )
कपन अनलाइन
काठमाण्डौ.भाद्र २६।
कताबाट हो कुन्नि मन्त्री भएछु
बिनाकाम सेवा गरेकै रहेछु
बसेको थिएँ बालबच्चा सह्यारी
गरे फोन–उर्दी हुने रे तयारी ।।१।।
उठेँ, चट्ट दारी मिलाएर काटेँ
जगल्टो थियो केश धोएर छाँटेँ
र केके दली मस्त कालो बनाएँ
सकेसम्म राम्रै हुने यत्न लाएँ ।।२।।
थिए कोट दौरा त्यही खोज्न लाएँ
पुरानो थियो कोट इस्त्री लगाएँ
बिहेका थिए जोर दौरा निकालेँ
टमक्कै भएछन् उधारी सिलाएँ ।।३।।
गएँ काम छोडी छिरेँ संसदैमा
सलामी चढाएँ थिए जो सबैमा
गराए प्रतिज्ञा सबैमाझ ल्याई
भएँ राज्यको मूल थाहै नपाई ।।४।।
म अग्लो भएँ बोल्न जान्ने सिपालु
र मान्छे नचिन्ने भएँ मस्त ठालु
थिए साथमा चाकरीबाज टोली
थियो कर्मभन्दा मिठो चाल, बोली ।।५।।
बसी छेउ फोटो खिचाए सबैले
दिने रे सधैँ साथ भन्थे कसैले
बजाएर ताली दिए थे बधाई
कमाऊ र खाऊ भनेझैँ मलाई ।।६।।
म गम्दै थिएँ योजना लागु गर्न
सबै देशवासी यथायोग्य पार्न
सबैको गरेँ कामको बाँडफाँड
मिलाई व्यवस्था तथा तारतम्य ।।७।।
पिए राख्न साली र साढु झिकाएँ
सबै दिन्छु ठेक्का भनी भन्न भ्याएँ
हटाएर फाल्ने अरे घूसखोर
भनी भाइ, छोरा हिँडेछन् हतार ।।८।।
कतैबाट आयो ठुलो फूलमाला
लगाएँ बिझायो दुवै काँधछाला
डराएँछु धेरै भयो नीद भङ्ग
नराम्रो थियो स्वप्न पार्यो झसङ्ग ।।९।।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक